सेयर बजारमा पौने १५ अर्बको कारोबार «

सेयर बजारमा पौने १५ अर्बको कारोबार


साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पौने १५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ । सेयर बजार परिसूचक (नेप्से) ०.०४ प्रतिशतले घटेपनि बजारमा भने हालसम्मकै उच्च कारोबार भएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै सेयर धितो कर्जामा कडाइ गर्नुका साथै बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा समेत कडाइ गरेको थियो । जसको कारण सेयर बजार प्रभावित हुने अनुमान गरिए पनि निर्देशनपछि बजार खुलेको पहिलो दिन बिहीबार हालसम्मकै उच्च कारोबार भएको छ ।
यसअघि सोमबार एकैदिन १३ अर्ब १७ करोड ५३ लाख र मंगलबार ११ अर्ब १३ करोड बराबरको सेयर किनबेच भएको थियो । राष्ट्र बैंकले परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एक वर्ष भन्दा कम अवधिका लागि लगानी बन्देज गर्नुुका साथै खरिद गरेको एक वर्ष पुगेपछि पनि कूल लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको मात्र बिक्री गर्न सक्ने व्यवस्था गरेको छ । यद्यपि बैंकहरुले सोमबारसम्म गरेको लगानी चालु आर्थिक वर्षको असारसम्म बिक्री गर्दा यो व्यवस्था लागू नहुने व्यवस्था गरेसँगै बिहीबार सर्वाधिक कारोबार भएको हो ।
बिहीबार २१५ कम्पनीका ४ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएका छ । यसदिन सर्वाधिक कमाउनेमा जलविद्युत कम्पनीका लगानीकर्ता छन् भने लघुवित्त संस्थाका लगानीकर्ताले बढी गुमाएका छन् ।
बिहीबार खानिखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स लगायतका कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी लघुवित्त कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यसदिन समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, एनआइसी एसिया र नेरुडे लघुवित्त संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
मंगलबार राष्ट्र बैंकले बैंकहरुलाई लघुवित्त संस्थाको सेयर खरिद गर्न बन्देज गर्नुका साथै सोमबारसम्म खरिद गरेको सेयर २०७८ पुस मसान्तभित्र बिक्री गर्न निर्देशन दिएको छ । बिहीबार नेप्सेसँगै बैकिङ, होटेल तथा टुरिजम, लघुवित्त, जीवन बिमा, लगानी र अन्य समूहमा गिरावट देखिएको छ । यसैगरी व्यापार, विकास बैैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बिमा, उत्पादन र म्युचुअल फण्ड समूह भने उकालो लागेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरु आफैं सेयर कारोबारमा केन्द्रीत भएको भन्दै केन्द्रीय बैंकले कडाइ गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधान छ ।
लगानीकर्ताहरुले भने राष्ट्र बैंकको निर्देशनको विरोध गरेका छन् । राष्ट्र बैंकको निर्देशन मौलाउँदै गएको सेयर बजारलाई ब्रेक लगाउने उद्देश्यका साथ आएको भन्दै उनीहरुले अण्डर भ्यालु भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा वित्तिय संस्थालाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्