Logo

यास आँधीको प्रभाव कृषिमा पनि

उत्पादित बिरुवा दमौली, १३ जेठ ः तनहुँको विमलनगरस्थित सव डिभिजन वन कार्यालयमा उत्पादन भएका बिरुवा । कार्यालयले उत्पादित बिरुवा कृषकलाई निःशुल्क उपलब्ध गराउने गरेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस


बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभावले बिहीबार पनि मुलुकभर सामान्यदेखि भारी वर्षा भएको छ । जसका कारणले कृषी उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ भने केहि खोलामा बाढि आउँदा जनधनको नोक्सान हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अर्थतन्त्रमा एक तिहाई योगदान गर्ने कृषीक्षेत्रमा प्रभाव परे यसले अर्थतन्त्रमा नै प्रभाव पार्न सक्दछ भने जनधनको क्षतिले पनि अर्थतन्त्रमा प्रभाव पार्दछ ।
सुदूपश्चिममा कम वर्ष भएपनि अन्य प्रदेशका अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ । मुलुकका अधिकांश स्थानमा मंगलबारदेखि नै हल्कादेखि मध्यम वर्षा हुँदै आएको थियो । बिहीबारदेखि भने हावाहुरीसहितको वर्षा सुरु भएको छ । शुक्रबार तराइका केही जिल्लामा हावाहुरीसहितको वर्षा हुनेछ । मौसमविद्का अनुसार आँधीको प्रभाव शनिबारसम्म कायम रहने छ ।
महाशाखाका अनुसार यास आँधीको प्रभाव नेपालमा पूर्व हुँदै पश्चिमतिर जानेछ । केही स्थानमा भारी वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण बाढी पहिरो डुबान जस्ता प्राकृतिक प्रकोपका घटना हुन सक्ने भन्दै समयमै सचेत रहन आग्रह पनि गरेको छ । जोखिमपूर्ण क्षेत्रलाई सुरक्षित स्थानमा सार्नका लागि पनि प्राधिकरणले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले सुदूरपश्चिमबाहेक देशैभर पानी असर परिरहेको बताए । “बिहीबार गण्डकी प्रदेशका धेरै स्थानमा भारी पानी परेको छ” उनले भने, “शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा बढी पानी पर्ने देखिन्छ, शनिबारसम्म नै वर्षाको सम्भावना छ ।”
यो वर्षाले केही बालीहरुका लागि राम्रो भए पनि केही बालीहरुमा भने क्षति पुग्ने देखिन्छ । कृषिविज्ञ भोलामान सिंह बस्नेतले हावाहुरीसहितको वर्षाले पहाडि जिल्लामा गहुँ बालिका साथै सुन्तला, मौसम, भोगटेलगायतका अमिला प्रजातीका फलफूलमा क्षति गराउने बताए । “चैते धानलाई राम्रो गराउँछ, तराइमा धानको बीउ राख्ने बेला छ, नेपालमा १४ लाख हेक्टरमा धान हुन्छ, ७० प्रतिशतभन्दा बढी तराइमा धान उत्पादन हुन्छ यो वर्षाले बीउ राख्न सजिलो हुन्छ,” उनले भने, “तर पहाडी क्षेत्रमा गहुँ पाग्ने बेला भएको छ, अमिलो प्रजातिका फलहरु भर्खर लाग्न सुरु भएको छ, यसलाई असर गराउने छ ।”
भारतीय सञ्चार माध्यमहरुले बताए अनुसार बंगालको खाडी नजिकै बनेको सामुद्रिक आँधी यास बुधबार भारतको जमिनमा आइपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्