१० वर्षपछि मनाइयो राष्ट्रिय एकता दिवस

२०६२-०६३ सालको राजनीतिक परिवर्तनपछि पहिलो पटक राष्ट्रिय एकता दिवस मनाइएको छ । त्यसअघि नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आए पनि गणतन्त्र आएपछि मनाउन छाडिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले यो वर्षबाट पुनः एकता दिवस मनाउने निर्णय गरेपछि बिहीबार विविध कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइयो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित सरकारका अन्य मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, विभिन्न पेशा र व्यवसायमा रहेकाहरुको उपस्थिती थियो ।
पृथ्वीनारायण राष्ट्रको सम्पत्ति : प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति भएको बताएका छन् । राष्ट्रनिर्माता शाहको २९६ औँ जयन्तीको अवसरमा नेपाल पुलिस क्लबमा राप्रपाले आयोजना गरेको चियापानमा सहभागी हुँदै उनले भने, “पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति हन्, उनको हामी सबैले सम्मान गर्नुपर्छ ।” राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषयमा लामो समयदेखि भएको प्रयास यो वर्षमात्र सफल भएको बताए । “प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषयले सार्थकता पाएको छ,” उनले भने । त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा सन्देश दिँदै अध्यक्ष ओलीले भनेका छन्, “हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्, अब हामीले लड्नु पर्दैन । केवल अडेमात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ ।” शाहले नेपालका विभिन्न भूभागलाई एकीकृत गरी अखण्ड राख्न योगदान दिएको पनि उनले बताएका छन् । |