एनआईसी एशियाको प्रिपेड डलर कार्ड अनलाइनमार्फत «

एनआईसी एशियाको प्रिपेड डलर कार्ड अनलाइनमार्फत

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।
यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको प्लेटफर्ममार्फत उपभोग गर्न सकिने बैंकले जनाएको छ । भिसा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नुहुनेछ ।
बैंकका ग्राहकले वेवसाइटमा दिएको निर्देशनअनुसार आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्नुपर्छ । त्यसपछि आवश्यक परेको डलर रकम न्यूनतम २५ डलरदेखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सकिने बैंकले जनाएको छ । यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ ।
यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकवलाई एसएमएस मार्फत जानकारी गराउनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्