Logo

कर्णाली प्रदेशको ७९ प्रतिशत बजेट खर्च हुन बाँकी


चालु आर्थिक वर्षको दुई महिना मात्र बाँकी रहेपनि कर्णाली प्रदेश सरकारले ७९ प्रतिशत बजेट खर्च गर्न बाँकी रहेको छ ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा जम्मा २१.६२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतको तथ्यांकअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चालु र पुँजीगत तर्फगरी जम्मा २१ प्रतिशत मात्र खर्च गरेको हो ।
पुँजीगततर्फ भने अझै कम १९.६९ प्रतिशत मात्रै खर्च गरेको छ । पुँजीगततर्फ ९ अर्ब ६९ करोड एक लाख २१ हजार रुपैयाँ विनियोजन भएकोमा तीन अर्ब ६६ करोड ७० लाख ९० हजार ३ सय ८७ रुपैयाँमात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन अब मुस्किलले डेढ महिना बाँकी छ । तर, खर्च गर्नुपर्ने बजेट ८० प्रतिशतभन्दा बढी छ ।
लेखा नियन्त्रक कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले करिब पाँच प्रतिशत मात्रै अर्थात १८ करोड ४६ लाख ७० हजार रुपैयाँ बजेट खर्च गरेको छ । मुख्यमन्त्री कार्यालयका लागि तीन अर्ब ७६ करोड ९९ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई प्रतिशत अर्थात २५ करोड ८१ लाख ७ हजार रुपैयाँ बजेट खर्च गरेको छ । मन्त्रालयका लागि एक अर्ब २८ करोड ६२ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले झण्डै ११ प्रतिशत अर्थात ११ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो मन्त्रालयले एक अर्ब ११ करोड ३५ लाख रुपैयाँ विकास पाएको लेखा नियन्त्रण कार्यालय सुर्खेतकी सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेट खर्च पनि निकै न्यून छ । ५१ करोड ४९ लाख ६५ हजार रुपैयाँ बजेट प्राप्त गरेकामा १० महिनासम्म १९ करोड ९९ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालयले जम्मा २२ प्रतिशत अर्थात ६५ करोड ९४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । उक्त मन्त्रालयलाई २९ करोड ५५ लाख रुपैयाँ विकास बजेट छुट्याइएको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि ११ महिना अवधिमा जम्मा २६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षका लागि १० खर्ब ६७ करोड ८८ लाख रुपैयाँ विकास बजेट पाएको थियो । सामाजिक विकास मन्त्रालयको विकास बजेट खर्च पनि निराशाजनक नै देखिएको छ ।
एक अर्ब ४२ करोड रुपैयाँ बजेट भएको यो मन्त्रालयले पनि १९ प्रतिशत अर्थात २७ करोड ३० लाख रुपैयाँमात्रै खर्च गर्न सकेको छ ।
अघिल्ला वर्षहरूमा विभिन्न वहानामा बजेट खर्च गर्न नसकिएको बताउँदै आएको कर्णाली सरकारले चालु आर्थिक वर्षमा पनि पूर्वाधार क्षेत्रको बजेट खर्च गर्न नसकेको हो ।
कर्णाली प्रदेश ससरकारले अबको एक महिनाभित्र विकास बजेट खर्च ५० प्रतिशत पु¥याउने दाबी गरेको छ । विकास बजेट खर्च गर्न नसकेको आलोचना भइरहेको बेला प्रदेश सरकारले यस्तो प्रतिक्रिया जनाएको हो ।
बजेट खर्च न्यून भइरहेका बेला प्रदेश सरकारले भने कोरोनाका कारण जारी भएको निषेधाज्ञाले बजेट कार्यान्वन गर्न नसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चक्रबहादुर बुढाले बताए । अपेक्षित रुपामा बजेट कार्यान्वयन नभएको भन्दै आगामी आर्थिक वर्षको सुरुमै मन्त्रालयगत रुपमा बजेट कार्यन्वयन कार्य योजना तयार पारिने बुढाको भनाइ छ । सचिव बुढाले बजेट खर्चको सुरुवात कसरी गर्ने, कहिले सुरु गर्ने, टेण्डर कसरी गर्ने, भन्ने विषयमा सम्बन्धित मन्त्रालयले आफू मातहतका कार्यालयहरुलाई कार्यान्वयन कार्य योजना तयार गर्नेगरी तयारी भएको जानकारी दिए ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि भने ३० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गृहकार्य थालेको छ ।
असार १ गते प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान भएकै कारण कर्णाली सरकार बजेटको तयारीमा जुटेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको सिलिङ अन्य मन्त्रालयमा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्