चन्दननाथमा टिभी, इन्टरनेटसहित २५ बेडको सुविधायुक्त आइसोलेसन «

चन्दननाथमा टिभी, इन्टरनेटसहित २५ बेडको सुविधायुक्त आइसोलेसन


जुम्लाको चन्दननाथ नगरपालिकाले २५ बेडको सुविधायुक्त संस्थागत आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । पहिलो चरणमा उद्योग वाणिज्य संघको हलमा सुविधायुक्त आइसोलेसन स्थापना गरिएको चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताइन् । विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधी उपचार खाना, नास्ता, मैत्रीपूर्ण शौचालय खानेपानी बत्ती तथा रंगीन टिभी र इन्टरनेटसहितको सुविधायुक्त संस्थागत आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्यायएको मेयर सेजुवालको भनाइ छ ।
उनले भनिन्, “होम आइसोलेसनले संक्रमण बढाएपछि संस्थागत आइसोलेसन तयार गरेका छौं । अहिले संक्रमित आएका छैनन् । घरमा बसेका असुरक्षित महसुस गरेका सबै संक्रमितलाई संस्थागत आइसोलेसनमा आउन आग्रहसमेत गरिरहेका छौं ।”
आइसोलेसनमा विज्ञ डाक्टर स्वास्थ्यकर्मीसंँगै दैनिक पोषिला आहाराको समेत व्यवस्था गरिएको चन्दननाथ नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए । उनका अनुसार गाउँघरलाई संक्रमणमुक्त बनाउने लक्ष्यअनुसार चन्दननाथ पहिलो चरणमा २५ बेडको सुविधायुक्त आइसोलेसन बनाएको र पछि आवश्यकताअनुसार थप बेड बनाइने छ ।
जिल्लाकै सबैभन्दा बढी संक्रमित रहेको चन्दननाथ नगरपालिकामा संक्रमण रोकथामका लागि जनचेतना फैलाउने काम पनि निरन्तर रूपमा गरिएको उनको भनाइ छ । सीमित स्रोतसाधनका कारण आइसोलेसन निर्माणमा केही ढिलाइ भएको र नागरिकको जीवन रक्षाका लागि सरकार पन्छिन नमिल्ने भएकाले तत्काल संस्थागत आइसोलेसन निर्माण गरिएको मेयर कान्तिका सेजुवालले बताइन् ।
मंगलबारसम्मका सबै संक्रमित घरमै बसेको र बुधबारदेखिका संक्रमितलाई अनिवार्य संस्थागत आइसोलेसनमा राखिने छ भने होम आइसोलेसनमा बसेका संक्रमितले घरमा असुरक्षित महसुस गरी संस्थागत आइसोलेसनमा आउन चाहेमा पनि ल्याइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगीले बताए ।
जिल्लाभर २४० बेड आइसोलेसन तयार
जुम्लामा २ सय ४० बेडको संस्थागत आइसोलेसन तयार भएको छ । यहाँका आठ स्थानीय तहमध्ये सिंजा गाउँपालिकाबाहेक अन्य सात स्थानीय स्थानीय तहले २ सय ४० बेडको संस्थागत आइसोलेसन निर्माण गरेका हुन् । होम आइसोलेसनले गाउँगाउँमा संक्रमण फैलिएपछि स्थानीय तहले धमाधम संस्थागत आइसोलेसन निर्माण गरेका हुन् ।
तथ्यांकअनुसार जुम्लाको चन्दननाथ नगरपालिकाले टिभीसहितको २५ बेड आइसोलेसन तयार गरेको छ भने पातारासीले ५० बेड, गुठिचौर ५० बेड, तातोपानीले २० बेड, तिलाले २५ बेड, हिमाले २० र कनकासुन्दरी गाउँपालिका ५० बेड गरी जम्मा २ सय ४० बेड संस्थागत आइसोलेसन तयार भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

१० दिन निषेधाज्ञा थप
जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ । जेठ १२ गते दिउँसो १२ बजेदेखि लागू हुनेगरी १० सम्म निषेधाज्ञा गरिएको हो । औषधि पसल, बैंक वित्तीय संस्था, खाद्य पसलहरू भने बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । जुम्लामा खेतीपातीको सिजन सुरु भएकाले निषेधाज्ञा केही खुकुलो गरिएको प्रजिअ भूपेन्द्र थापाले बताए । उनका अनुसार स्वास्थ्य सावधानी अपनाएर मार्सी धान रोप्नसमेत आग्रह गरिएको छ । जुम्लामा हाल सम्म संक्रिय संक्रमितको संख्या ३ सय ७० जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्