Logo

लमजुङको बराहपोखरीमा आन्तरिक पर्यटकको भीड


कोरोना संक्रमण जोखिम कायमै रहेका बेला उत्तरी लमजुङको पर्यटकीय गन्तव्य बराहपोखरीमा आन्तरिक पर्यटकहरु पुगेका छन् । वैशाख पूर्णिमाको अवसरमा विशेष मेला लाग्ने बराहपोखरीमा आन्तरिक पर्यटकहरु पुगेका हुन् ।
कोरोना संक्रमणको जोखिमसँगै स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको उल्लंघन गर्दै आन्तरिक पर्यटकहरु बराहपोखरी पुगेका हुन् । वैशाख पूर्णिमाको पूजाआजा गर्न भक्तजनहरु पुग्ने सो स्थानमा निषेधाज्ञाका बेला गाउँमै थुनिएका मस्र्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकाका स्थानीयहरु बराह पोखरी पुगेका हुन् ।
यद्यपी मस्र्याङदी गाउँपालिकाले भने कोरोना संक्रमणको जोखिमसँगै पर्यटकीय स्थल बराहपोखरीमा पर्यटक जानलाई पूर्णरुपमा रोक लगाउने जनाएको छ । मस्र्याङदी गाउँपालिका अन्तर्गतका विभिन्न समुदायमा कोरोना संक्रमण फैलिएको र यस्तो बेलामा हुने भिडभाडले थप संक्रमण जोखिम हुने भन्दै जो कसैलाई पनि बराहपोखरी जान रोक लगाइको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
बराहपोखरीमा विशेष गरी मस्र्याङदी गाउँपालिका अन्तर्गत वडा नम्बर ६, ७ का नागरिकहरु जाने र छिमेकी गाउँपालिका दोर्दीबाट पनि तीर्थालुहरु आउन सक्ने भएकाले दोर्दी गाउँपालिकासँग पनि समन्वय गरी आगमन रोक लगाइएको अध्यक्ष गुरुङको भनाइ छ । बराह पोखरी पुग्ने मार्ग अन्तर्गतका वडा अध्यक्षहरुसँग समन्वय गरी यात्रुलाई फर्काउने प्रयास भएको अध्यक्ष गुरुङले बताए ।
बराह पोखरीमा वैशाख पूर्णिमाको अवसरमा बुधबार विशेष मेला लाग्ने भएपनि कतिपय नागरिकहरु मंगलबार नै त्यसतर्फ लागेका छन् । स्थानीयहरु बाहिरी व्यक्तिको सम्पर्कमा नभई पारिवारिक रुपमा यात्रा गरेको जनाएका छन् । प्रतिकुल मौसम र निषेधाज्ञाका कारण अन्य काम गर्न नपाएर फुर्सद भएकाहरु बराह पोखरी पुगेका हुन् । बराहपोखरी क्षेत्रमा मानव बस्ती नहुँदा रोक संक्रमणको जोखिम नभएको भन्दै पदयात्रीहरुले आफैंले खानाको व्यवस्था गरी उक्त स्थान पुगेको बताएका छन् । उच्च लेक र बढी चिसो भएकोले खानासहित लत्ता कपडासमेत आफैंले व्यवस्थापन गरेको उनीहरुको भनाइ छ ।
पछिल्लो समय तीर्थयात्रा तथा साहासिक पदयात्राका लागि लमजुङको बराहपोखरी पनि उपयुक्त गन्तव्य बन्दै आएको छ । बराहपोखरीमा विशेषगरी जनै पूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्छ । मेलाबाहेक पनि वैशाखदेखि असोजसम्म साहसिक पदयात्रा गर्नेहरु बराहपोखरी पुग्ने गर्दछन् ।
बराहपोखरीबाट मनास्लु हिमशृंखला अन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री पिक र मनास्लु हिमाल दृश्यावलोकन गर्न सकिन्छ । मनमोहक हिमाली दृष्यसँगै लालीगुराँस फुल्ने समयमा थरीथरीका लालीगुराँसले डाँडै ढाक्ने हुँदा मनोरम दृष्यावलोकले निकै रमाइलो हुने पदयात्रीहरु बताउँछन् ।
प्रकृतिमा रमाउनेहरुका लागि बराहपोखरी यात्र निकै रमणीय हुने पदयात्रीहरुको धारणा छ । धार्मिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण यसक्षेत्रको संरक्षण गर्नसके लकडाउन पछि आन्तरिक मात्रै नभइ बाह्य पर्यटकसमेत तान्न सकिने सरोकारवालाहरुले बताएका छन् ।
उक्त क्षेत्रमा गर्मी सिजनमा भेडीगोठ तथा गाई गोठहरु रहेका हुन्छन् । अस्थायी गोठ भएपनि बस्नको लागि भवनहरु नहुँदा पदयात्रीहरु आफैंले लगेका पाल, रुखको फेद वा पहरामा ओत लाग्ने गर्दछन् ।
जिल्लामा बराहपोखरी बाहेक मेमेपोखरी र दूधपोखरी पनि निकै आकर्षक र महत्वपूर्ण गन्तब्य रहेका छन् । बाराह पोखरीबाट हिँडेको एक दिन एक बिहानपछि मेमे पोखरी पुगिन्छ । मेमे वरिपरी ५ वटा पोखरी रहेका छन् । मेमे पोखरीबाट ३० मिनेटको दूरीमा दूधपोखरी पुग्न सकिन्छ । हप्ता दिनको प्याकेज बनाएर समूहमा गए बराहपोखरी, मेमेपोखरी तथा दूधपोखरीको पदयात्रामा रोमाञ्चक दृश्यावलोकनका साथै ट्रेकिङको फाइदा लिन सकिने सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्