मस्र्याङ्दीको अस्थायी मोटरेबल पुल झिकियो
उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत घेर्मु–ताघ्रिङका स्थानीयले मस्र्याङ्दी नदिमा राखेको अस्थायी मोटर पुल झिकेका छन् । नदीमा पानीको बहाव बढेसँगै अर्को हिउँदका लागि सुरक्षित गर्नका लागी स्थानीयले अस्थायी काठको पुल झिकेका हुन् ।
सडक सञ्जालले नजोडिएको मस्र्याङ्दी–५, घेर्मुमा सवारी साधन पु¥याउन गत हिउँदमा स्थानीय आफैले मस्र्याङ्दी नदीमा काठको अस्थायी मोटर पुल निर्माण गरेका हुन् । विगतका वर्षदेखि नै नदीमा पक्की पुल बन्ने आश्वासन पाए पनि हालसम्म पुल नबनेपछि अस्थायी पुल बनाउन स्थानीय आफै लागिपरेका थिए ।
गत पुस महिनामा स्थानीय आफैले चन्दा संकलन गरी काठको अस्थायी पुल निर्माण गरेर मस्र्याङ्दी–५, घेर्मुमा पहिलो पटक सवारी पु¥याएका थिए । स्थानीयले पुसदेखि जेठ महिनासम्मका लागि नै उक्त मोटरेबल पुल निर्माण गरेका थिए । नदीमा पानीको बहाब बढेर पुल बगाउने सम्भावना बढेपछि सोही सामग्रीले अर्को हिउँदमा पुनः पुल बनाउने गरी सामग्री झिकिएको स्थानीय नरबहादुर गुुरुङले बताए । “अब नदीमा पानीको बहाब बढ्न थालेको छ,” गुरुङले भने, “जुनसुकै बेला पनि नदीले पुल बगाउन सक्ने भएकाले त्यसअगावै हामीले पुल झिकेका हौं, अब आउँदो हिउँदमा फेरि जोड्नुपर्छ ।”
स्थानीयस्तरमा उत्पादित तरकारीलगायत सामान ढुवानी एवं यातायातमा समेत असहज भइरहेको अवस्थालाई मध्यनजर गरी सामाजिक अभियन्तासमेत रहेका गुरुङको पहलमा अस्थायी मोटरेबल पुल निर्माण भएको हो । अस्थायी पुल निर्माणका लागि स्थानीय व्यवसायी एवं युवाले साथ दिएका थिए ।
अस्थायी पुल निर्माणको आवश्यक खर्च स्थानीयस्तरकै युवाको सञ्जालमार्फत रकम संकलन गरिएको थियो । पुल निर्माणका लागि मस्र्याङ्दी नदीको दुईतर्फी किनारमा आवश्यक अस्थायी जिप निर्माण गरी काठ राखेर साना सवारी साधन चल्न सक्ने गरी बनाइएको थियो । प्रायः जेठसम्म नदीको बहाब कम हुने भएकाले करिब ६ महिना उक्त अस्थायी पुल प्रयोग गरिएको स्थानीय बलबहादुर गुरुङले बताए । यसअघि यातायात पहुँच नपुगे पनि मोटरबाटोको ट्रयाक खोलीसकिएकोले अस्थायी पुल निर्माण भएसँगै साविक घेर्मुका विभिन्न गाउँमा यातायात सहज भएको थियो । “हामीले पुसमा पुल बनाएको थियौँ,” गुरुङले भने, “६ महिनामात्रै घेर्मुमा मोटर चल्दा पनि स्थानीयलाई ठूलो राहत भयो ।”
अस्थायी पुल निर्माण भएपछि घेर्मुअन्तर्गत तल्लो चिप्ला, छिचु, निउरी, संजापु खानिगाउका स्थानीयसमेत लाभान्वित भएका थिए । हिउँदमा मात्रै भए पनि स्थानियले यातायात तथा ढुवानी सेवा उपभोग गर्न पाएका थिए ।
गतवर्ष स्थानिय युवाहरुकै पहलमा स्याङ्गे झोलुंगे पुल हुँदै दुईपांग्रे सवारीको लागि सामान्य ट्रयाक निर्माण गरेका थिए । अब पुनः ६ महिनाका लागि घेर्मुमा चारपांगे्र सवारी पुग्न नसक्ने भएको छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत पर्यटक आवागमन हुने पदमार्ग साविक घेर्मु मै परेपनि पछिल्लो समय सडक सञ्जाल ताघ्रिङ हुँदै गएपछि घेर्मु ओझेलमा पर्दै आएको छ । सदरमुकामदेखि घेर्मुसम्म मोटरबाटो जोडेने अधिकतम प्रयास भए पनि लिली भीरको ठूलो चट्टानले काम सम्पन्न गर्न निकै कठिनाइ हुँदै आएको छ ।