सरकारी विद्यालय नै ऋणमा «

सरकारी विद्यालय नै ऋणमा

अछाम-राज्यले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ । तर जिल्लाकै विकट क्षेत्र ऋषिदहमा रहेको नन्दामाता माध्यमिक विद्यालय भने १५ लाख ऋणमा छ । मेल्लेख गाउँपालिका–२ डाँडासिरीमा यस विद्यालयमा शिक्षक दरबन्दी अभाव छ भने भौतिक रूपमा पनि विद्यालय दयनीय अवस्थामा रहेको पाइएको छ ।
२०४९ सालमा स्थापना भई २०७१ बाट माध्यमिक तहसम्म पढाइ भइरहेको नन्दामाता माविमा अहिले ७ जना शिक्षक निजीस्रोतबाट पढाइरहेका छन् भने २ जना अस्थायी करार र १ जना राहत कोटामा छन् । ५२५ विद्यार्थी रहेको विद्यालयमा शिक्षकलाई पाल्न निकै समस्या रहेको विद्यालयका प्रधानाध्यापक सर्जन धामीले बताए ।
आफ्नो विद्यालय आर्थिक, भौतिक र दरबन्दीका हिसाबले खराब हालतमा रहेको उनको भनाइ छ । धामी भन्छन्, “राज्यका विभिन्न निकायमा हाम्रो पहुच नहुनु, भौगोलिक रूपमा ठगिनु र सरोकारवालाको ध्यानाकर्षणसमेत नहुनुले सयौं विद्यार्थीको भविष्य अन्धकार हुने खतरा छ ।”
विद्यालयमा डेस्क बेन्च पनि स्थानीय अभिभावकले निःशुल्क बनाइदिएका छन् । पुस्तकालय र विज्ञान ल्याब तथा उपयुक्त कक्षाकोठाको पनि निकै अभाव छ । कहिलेकाहीं निजीस्रोतका शिक्षकको तलबका लागि भारतमा रहेका स्थानीयले चन्दा सहयोग गर्ने गरेका छन् भने विद्यालयमा कुनै योजना आउँदा स्थानीयले श्रमदान गर्छन् र बचेको रकमले शिक्षकहरूको तलब खुवाउने गरिएको छ । स्थानीयस्तरमा रहेका सामुदायिक वनबाट समेत सहयोग लिने गरेको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष अर्जुन धामीले बताए । उनले भने, “गाउँमा विद्यालयको आवश्यकता छ तर यसकै कारण जनता निकै बोझमा छन्, अहिले पनि शिक्षकहरूले पाउनुपर्ने तलबवापतको १५ लाख ऋण तिर्न बाँकी छ ।” यही अवस्थामा विद्यालय सञ्चालन गर्न निकै समस्या रहेको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष धामीले बताए ।
शिक्षक, स्थानीयवासी र अभिभावकको लगाव र विद्यालयप्रतिको समर्पण तथा विद्यार्थी संख्याकै कारण विद्यालय सञ्चालन गर्नु परिरहेको स्थानीय अगुवा कुशलराज बुढाले बताए । विद्यालयका लागि स्थानीयले सबै काम निःशुल्क गर्ने गरेको उनको भनाइ छ ।
नन्दामाताका शिक्षकहरूले पनि वर्षौंदेखि तलब नपाउँदा विस्थापित हुनुपर्ने अवस्था छ । एकजना शिक्षक तलब खान नपाएपछि रोजगारीका लागि भारतको सिम्ला गएका छन् भने अर्का एक शिक्षकले आफूले पाउने ८५ हजार तलब नलिएरै अन्यत्र गइसकेका विद्यालयले जनाएको छ । विद्यालयको अवस्थालाई हेरेर शिक्षकहरूले पनि सहयोग गरिरहेको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ ।
विद्यालयको समस्या समाधानका लागि मेल्लेख गाउँपालिकाको पनि ध्यानाकर्षण गराएको गाउँपालिकाका अध्यक्ष लोकबहादुुर बोहराले बताए । नन्दामाता माविलगायत अन्य विद्यालयका लागि पनि गाउँपालिकाले शिक्षक दरबन्ीद उपलब्ध गराउने र भौतिक संरचना निर्माणका लागि पहलकदमी भइरहेको अध्यक्ष बोहराले बताए । “गाउँपालिकाले शिक्षा नीति बनाएर समग्र शैक्षिक अवस्था सुधारको विशेष योजना बनाएको छ ।” अध्यक्ष बोहरोले भने, “विद्यार्थी कोटा पुगेका विद्यालयमा शिक्षक दरबन्दीको सम्पूर्ण ब्यवस्था हुन्छ, म गाउँपालिका अध्यक्ष हुँदासम्म यहाँको शैक्षिक ब्यवस्थापन सम्पूर्ण तरिकाले व्यवस्था गर्छु ।”
गाउँपालिकाले ४० जना विद्यार्थी बराबर १ शिक्षकको अवधारणा ल्याएको जनाएको छ । यस अनुरुप नन्दामाता माविका लागि ५ वटा दरबन्दी उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष बोहराले बताए । अन्य विद्यालयमा पनि विद्यार्थीको अनुपात हेरेर शिक्षक दरबन्दीका लागि गाउँपालिकाले पर्याप्त बजेटको ब्यवस्था गरेको बताएको छ ।
यस्तै गाउँपालिकामा अब बन्ने विद्यालयका भवन कर्कटपाता रहित बनाइने र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिका प्रतिबद्ध भएर लागिपरेको मेल्लेख गाउँपालिकाले जनाएको छ । अभिभावक र शिक्षकले पनि आफ्नो कर्तब्य पूरा गर्नुपर्ने भन्दै शिक्षाको विकासका लागि गाउँपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कसुर बाँकी नरहने अध्यक्ष बोहराले बताए ।
होम साउद

प्रतिक्रिया दिनुहोस्