काठका लागि भूकम्पपीडितको निवेदनका चाङ «

काठका लागि भूकम्पपीडितको निवेदनका चाङ

भूकम्पपछि भत्किएका आवास पुनर्निर्माणका लागि आवश्यक पर्ने काठको माग गर्दै पीडितले सरकारी निकायमा दिएको निवेदनको चाङ लागेको छ । पुनर्निर्माणको गतिसँगै काठको माग पनि एक्कासी बढ्दा निवेदनको चाङ बढेको हो ।
सरकारले भूकम्पपीडितका लागि सहुलियतमा काठ उपलब्ध गराउँदै आइरहेको छ । बजारमा प्रतिक्युफिट ‘ए’ ग्रेडको सालको काठलाई करिब ५ हजार ५ सय रुपैयाँदेखि ६ हजार ६ सय रुपैयाँसम्म पर्छ । तर, सरकारले भूकम्पपीडितका लागि प्रतिक्युफिट सालको ए ग्रेडकै काठ २ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । भूकम्पपीडितका लागि सरकारले सहुलियत दरमा काठ उपलब्ध गराउँदै आएपछि सरकारले दिएको सुविधाका लागि निवेदन दिनेको संख्या बढेको हो । सरकारले उपत्यकामा प्रतिघरका लागि चिरान काठ ५० क्युफिट र गोलिया काठ ७५ क्युफिटसम्म उपलब्ध गराउँदै आइरहेको छ । पुनर्निर्माणको लागि पहिलो किस्ता लिएपछि मात्रै सरकारले काठ उपलब्ध गराउँछ ।
सरकारको काठ दाउरा बिक्री वितरण गर्ने आधिकारिक निकाय टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)ले उपत्यकामा भूकम्पपीडितका लागि सरकारले चिरान काठमात्र वितरण गरिरहेको र निवेदन दिनेको संख्याको एकैपटक बढेको बताएको छ । टीसीएनमार्फत भूकम्पले घर भत्किएका उपत्यकाबासीलाई काठ वितरणको प्रक्रिया सुरु गरेको हो ।
टीसीएनका महाप्रवन्धक राजु लौडारीका अनुसार जिल्ला वन कार्यालय वा काठ व्यवस्थापन समितिको सिफारिस, नागरिकताको प्रतिलिपी, भूकम्पपीडित परिचयपत्र, राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपुर्जा, घर निर्माणको नक्सा र इजाजतपत्रको कपीसहित आवश्यक प्रक्रिया पुर्याएपछि काठ वितरण गरिन्छ । “भूकम्पपीडितले पुनर्निर्माणको काम एकैपटक थालेका छन्, काठका लागि निवेदनको चाङ बढ्दै छ,” उनले भने, “आवश्यक प्रक्रिया पुर्याएकाहरूलाई क्रमिक रूपमा काठ वितरण भइरहेको छ, भनसुनका आधारमा कसैलाई काखा कसैलाई पाखा गरिएको छैन, काठमा सबैको समान पहुँच हुन्छ ।”
लौडारीका अनुसार काठको बढ्दो मागअनुसार आपूर्ति व्यवस्थापन गर्न टीसीएनलाई चुनौती भएको छ । माग अनुसारको आपूर्ति व्यवस्थापन सहज गर्न टीसीएनले प्रयास गरिहरहेको लौडारीले बताएका छन् । “अहिले काठ वितरणको प्रक्रिया दु्रत गतिमा अगाडि बढिरहेको छ,” उनले भने । पुनर्निर्माणको प्रक्रिया ढिलो सुरु भएकाले काठ वितरणको प्रक्रिया पनि ढिलौ नै सुरु भएको लौडारीको भनाइ छ ।
माग अनुसार काठ आपूर्ति व्यवस्थापन गर्न टीसीएनको विभिन्न डिपोबाट काठ वितरण भईरहेको लौडारीले बताए । काठ उत्पादन व्यवस्थापन तथा आपूर्तिसम्बन्धी निर्देशिका २०७२ अनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा काठ व्यवस्थापन समिति गठन भएको छ । समितिको सिफारिसअनुसार मात्रै भूकम्पपीडितलाई सहुलियतमा काठ उपलब्ध भइरको छ । समिति वा जिल्ला वन कार्यालयमा पनि भूकम्पपीडितले काठको मागसहित निवेदन दिन सक्छन् । उपत्यकामा टीसीएनन र उपत्यकाबाहिर जिल्ला वन आपूर्ति समितिले पनि काठ व्यवस्थापन समितिको सिफारिसमा काठ उपलब्ध गराइरहेको छ ।
पुरातात्विक सम्पदाको लागि आवश्यक पर्ने ८ लाख क्यू फिट काठ पुरातात्विक विभागको सिफासिमा टीसीएनले उपलब्ध गराउने लौडारीले बताए । समितिबाट सिफारिस नल्याएका भूकम्पपीडितहरूलाई काठ सदुपयोगको सुनिश्चितताको स्थलगत अनुगमन गरी मौज्दातको स्थितिको आधारमा नियमानुसार काठ उपलब्ध गराउन सकिने उनले बताए । “टीसीएनको बालकुमारी, ललितपुरस्थित डिपोबाट भूकम्पपीडितहरूको घर निर्माणको लागि सहुलियत दरमा चिरान काठ उपलब्ध भइरहेको छ, आवश्यक प्रक्रिय सहित आएमा सहुलियतमा काठ पाउनेछन्,” उनले भने, “बालकुमारीले अग्रिम रूपमा निवेदकहरूलाई फोन सम्पर्क गरी चिरान काठ लिन आउने दिन, समय तथा अन्य आबश्यक जानकारी गराउने छ, भूकम्पपीडितले टीसीएनको केन्द्रीय कार्यलय बबरमहल डिपोमा सम्पर्क राख्न सक्नेछन् ।”
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले उपत्यकामा काठको मागको चाप धेरै भएको स्वीकार गर्दै टीसीएनलाई थप काठ उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् । “ग्रामिण भूभागमाभन्दा सहरी क्षेत्रमा काठको मागको चाप बढी छ, तर मागअनुसार आपूर्ति व्यवस्थापनका लागि कसरत थालिसकेका छौं,” उनले भने, “पहाडी क्षेत्रका माग पूरा गर्न तराईका जिल्लाबाट काठ ल्याउँदै छौं, काठ अपुग भएर निर्माणको काम रोकिएको भन्ने गुनासा आउन दिनेछैनांै ।” उनका अनुसार जिल्लाको उत्पादनले नपुगेपछि सिन्धुपाल्चोकमा १० हजार क्युफिट काठ र रामेछापमा हालसम्म ५ हजार क्युफिट गोलिया काठ बाहिरी जिल्लाबाट ढुवानी भईसकेको छ ।
सिन्धुपाञ्चोकमा जिल्ला वन अधिकृत शिव सापकोटाले पछिल्लो समय पुनर्निर्माणको काम बढेसँगै निवेदनको चाप बढेको बताएका छन् । “जिल्लामा काठको माग गर्दै भूकम्पपीडितका निवेदनहरू थुप्रै छन्, निवेदनअनुसार काठ उपलब्ध गराउनसक्ने अवस्था नै छैन,” उनी भन्छन्, “हालसम्म १२ हजार क्युफिट काठ वितरण गरिसकेका छौ, तत्कालका लागि ३० हजार क्युफिट काठ आवश्यक पर्छ ।”

प्रतिक्रिया दिनुहोस्