नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण

विराटनगर-वर्षायाम लागेसँगै मोरङको उर्लाबारी–१ मधुमल्लास्थित नुनसरी–बक्राहा खोला आसपासका स्थानीय त्रसित हुन्थे ।
बाढीका कारण वर्षामा घर छाडेर सुरक्षित स्थानमा जान बाध्य थिए विगतमा स्थानीय । गाउँमा बाढी पस्दा दर्जनौं स्थानीयको घर र खेत बगाएको थियो । तर, स्थानीयलाई अब भने केही राहत मिलेको छ । खोलामा हालै तटबन्ध निर्माण भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको पहलमा विभिन्न सामाजिक संघसंस्थाको सहयोमा नुनसरी–बक्राहा खोलामा तटबन्ध बनेपछि मधुमल्लाका बाढी–पीडितले राहतको सास फेर्न पाएका छन् । तटबन्ध निर्माणपछि ३ सय ५३ घरपरिवार लाभान्वित भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी गराए ।
हरेक वर्षायाममा खोलाले वितण्डा मच्चाउने गरेको स्थानीय देवीप्रसाद निरौला बताउँछन् । तटबन्ध निर्माणले स्थानीयलाई निकै ठूलो राहत मिलेको उनको भनाइ छ । “अब चाहिं वर्षायाममा ढुक्कले निदाउन सकिने भयो,” निरौलाले भने, “विगतमा बाढीले क्षति पु¥याउँदा सरकारले राहतसमेत दिएन ।”
रेडक्रस मोरङले दिएको विपद व्यवस्थापन तालिमपछि मधुमल्लाबासी निक्कै सचेत भएका छन् । उनीहरूले बक्राहा उत्थानशील सामुदायिक विपद व्यवस्थापन समितिको कार्यालय खोलेरै बचत गर्दै आएका छन् । बाढीपीडितहरू ३ सय ५३ घर परिवारबाट उनीहरूले हालसम्म ७८ हजार बचत गरिसकेका छन् । दैविक विपत्तीको बेलामा सहयोगसमेत गर्दै आएका छन् । हिउँदमा हात्तीको आतंक र बर्खा नुनसरी–बक्राहाको पीडा झेल्दै आएका उनीहरू तटबन्ध बनेपछि राहत महसुस गरेको स्थानीय गंगा बुढाथोकी बताउँछन् ।