Logo

संकटकाल नलगाए स्वास्थ्य क्षेत्र नै समस्यामा

छिमेकी मुलुक भारतबाट प्रवेश गरेको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरले यति बेला अस्तव्यस्त बनाएको छ । मुलुकको स्वास्थ्य क्षेत्र दिनप्रतिदिन धराशायी बन्दै गएको छ । सुरुमा संक्रमण दर न्यून अवस्थामा रहे पनि पछिल्लो अवस्थामा भने संक्रमण दर बढेसँगै मृत्युदर पनि अकासिँदै गएको अवस्था छ । भारतसँग सीमा जोडिएको कञ्चनपुर जिल्लामा पनि पछिल्लो दिनमा संक्रमित हुने र संक्रमितपश्चात् मृत्यु हुने दर बढ्दै गएको छ । जिल्लामा हालसम्म डेढ सय जनाभन्दा बढी संक्रमितको कोरोनाका कारण मृत्यु भइसकेको अवस्था छ । यस्तो अवस्थामा भारतसँग सीमा जोडिएको जिल्लामा दिनप्रतिदिन भारतबाट नेपाल आउने नागरिकको संख्या पनि रोकिएको छैन । जिल्लास्थित कोरोना उपचारका लागि महाकाली अस्पताल रहेको छ । उक्त अस्पतालमा पनि क्षमताभन्दा बढी कोरोना संक्रमित बिरामी रहेका छन् । जिल्लाको समुदायस्तरमा कोरोना महामारी फैलिएको अवस्था छ । महामारीको यस अवस्थालाई कसरी कम गर्ने र दैनिक बढ्दै गएको संक्रमण र मृत्युदरलाई कसरी न्यूनीकरण गर्नेलगायतका विषयमा कञ्चनपुरमा स्वास्थ्य क्षेत्र तथा अस्पतालमा कार्यरत डाक्टर, कार्यालय प्रमुख तथा अस्पताल व्यवस्थापनसँग कञ्चनपुरस्थित कारोबारकर्मी चन्द्रकान्त जोशीले गरेको कुराकानीको सार :

परीक्षणको दायरा बढाइएन भने स्थिति भयावह हुने खतरा छ
शिवराज सुजार
प्रमुख, स्वास्थ्य कार्यालय, कञ्चनपुर

कञ्चनपुर जिल्लामा अहिलेको अवस्थामा मृत्यु हुने दर एकदमै बढेको छ । कोरोना महामारीको सुरुको लहरभन्दा दोस्रो लहर एकदमै दु्रत गतिमा अगाडि बढेको अवस्था पनि छ । यसमा हाम्रो चाहिँ धेरैजसो नेपाली नागरिक छिमेकी मुलुक भारतबाट स्वदेश फर्केका छन् । भारतबाट नेपाल फर्केका नेपाली नागरिकलाई हामीले जसरी महामारीको प्रथम चरणमा व्यवस्थापन गर्न सकेका थियौं, तर दोस्रो चरणको महामारी आउँदा भने व्यवस्थापन गर्न सकेनांै । प्रथम चरणको कोरोना महामारीमा आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापन अहिलेको भन्दा राम्रो तरिकाले भएको अवस्था थियो । सीमा नाकाबाट दैनिक रूपमा नेपाल भित्रिने नेपाली नागरिकलाई कोरोना चेकजाँच गर्ने अवस्था भएन । सामान्य रूपमा स्वास्थ्य परीक्षणमात्र ग¥यौं र महामारीको आवश्यक शंकास्पद मानिसलाई मात्रै हामीले कोरोना परीक्षण ग¥यौं । माथिल्लो तहको निर्देशनअनुसार आवश्यक मानिसलाई मात्रै कोरोना परीक्षण ग¥यौं । विभिन्न कारणले गर्दा या स्रोतसाधनको कमीले गर्दा सबै नागरिकको कोरोना परीक्षण र सँगसँगै सीमा नाका क्षेत्रमा केही समय होल्ड गर्न सक्ने अवस्था पनि भएन । त्यसकारण परीक्षण परिमाणात्मक छ कि छैन भन्ने कुरा नै पत्ता लगाउन सकिएन । परीक्षण गरिए पनि थोरै मात्रा मात्रै सकियो । त्यसले गर्दा पनि छिमेकी मुलुक भारतबाट प्रत्येक घरघरमा, टोलटोलमा मानिस आइपुगे । यस्तै पछिल्लो दिनमा कोरोना संक्रमण भयावह हुने अवस्था पनि आएको छ । योसँगै संक्रमितले ज्यान गुमाउने अवस्था पनि दिनप्रतिदिन बढेको छ । अब यस्तो अवस्थामा आइसकेपछि हामीले तत्काल गर्नुपर्ने आवश्यकता भनेको समयमै रोगको पहिचान गर्ने, निदान गर्ने र समयमै रोगको उपचार गर्ने पनि हुन्छ । तर, त्यसमा हामी चुकिरहेको अवस्था छ ।
महामारीचाहिँ यति समयसम्म जानसक्छ भन्ने केही पनि हुँदैन । गत वर्ष पहिलो चरणको महामारी पनि लगभग एक वर्षसम्म प्रभावमा रहेको अवस्था थियो । अब अहिलेको दोस्रो चरणको महामारीले पनि कति समय प्रभावित राख्ला भन्ने यकिन गरिसक्ने अवस्था भने हुँदैन, तर कतिपय अवस्थामा बौद्धिक वर्ग तथा विज्ञहरूले यसको प्रभावकारिताको विषयलाई आंैल्याउने कुरा एउटा हुन्छ । योसँगसँगै महामारीको तेस्रो भेरियन्ट पनि आउँदै छ । भाइरसहरूका नयाँ–नयाँ भेरियन्टहरू आइरहन्छन्, यो कुरा भने प्राकृतिक हो । सकेसम्म होम आइसोलेसनको व्यवस्था सरकारले गरेको छ । तर, हाम्रो जस्तो समुदाय तथा समाजमा होम आइसोलेसनको त्यति प्रभावकारिता भएको अवस्था पनि छैन । होम आइसोलेसन गाइडले भनेअनुसार हामी घरमा सुरक्षित तरिकाले बस्न सकेका छैनौं । त्यसले गर्दाखेरि घरमा अन्य सदस्यहरूलाई सजिलै रूपमा कोरोना संक्रमण बढी हुने सम्भावना हुन्छ । यसका लागि हामीले संक्रमित भएकाहरूलाई सरकारले भनेअनुसार प्रत्येक ठाउँमा संस्थागत आइसोलेसनमा बसाल्नुपर्ने आवश्यकता छ र बढी भएकालाई त्यसैअनुसारको उपचार गर्नुपर्ने एकदमै जरुरी छ ।
यसमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले रोग लाग्नै नदिने कुरा हो । त्यसका लागि हामीले जनस्वास्थ्यका जति पनि मापदण्ड छन् ती सबै अनिवार्य रूपमा अपनाउनैपर्छ । योसँगै निषेधाज्ञा पनि भएको छ, तर निषेधाज्ञा भएरमात्र संक्रमण कन्ट्रोल हुन्छ भन्ने हुँदैन । त्योभन्दा पछाडिको आइसोलेसन व्यवस्थापन, हस्पिटल क्षमता विकासलगायतका कुरामा महत्वपूर्ण तवरले ध्यान दिनुपर्छ । अब यसमा नि के छ तभन्दा अक्सिजन अभाव भएको कुरा पनि सँगै छ । यसमा अक्सिजन भनेको उपचार पद्धति मात्रै हो । अक्सिजन नचाहिने वातावरण कसरी सिर्जना गर्ने भन्ने हो । त्यसका लागि हामीले गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेर, स्वयंसेविका परिचालन गरेर एन्टिजेन परीक्षण ग-यौं भने कुन मानिस संक्रमित छ, कुन छैन भन्ने कुरा सजिलै बाहिर आउने हुन्छ । यस्ता विभिन्न कुरालाई हामीले समयमै पत्ता लगाउन सक्यौं भने हामीले दैनिक संक्रमित हुने र संक्रमित भएर मृत्यु हुनेको संख्या कम गर्न सक्छौं । कस्तो हुन्छ भने, अन्तिम समयमा अस्पताल आयो भने मृत्यु हुने सम्भावना एकदमै उच्च हुन्छ । अर्काे कुराचाहिँ विभिन्न क्लिनिकहरूमा गएर एकदुई दिनमै निको हुन्छ, औषधि खानुस् भन्ने कुराहरू पनि रहेका छन् । यसमा चाहिँ महŒवपूर्ण कुरा के हो भने संक्रमणको मुहानै रोक्ने हो । अब त्यसलाई बन्द कसरी गर्ने भन्ने हो, त्यसका लागि समयमै एकदमै छिटो तरिकाले पहिचान तथा निदान हुनु जरुरी हुन्छ । यसैगरी स्वास्थ्य संकटकालको कुरा पनि आएको छ । अब योभन्दा ठूलो महामारी आउला जस्तो लाग्दैन मलाई त । त्यस कारणले गर्दाखेरि अहिलेको समय स्वास्थ्य संकटकालको उचित समय पनि हो लाग्छ मलाई । किनभने स्वास्थ्य संकटकाल घोषणा हुनेबित्तिकै केही कुराहरू सहज हुन्छ । यस्तो महामारीमा प्रभावकारिता पनि एकदमै बढी हुन्छ, त्यसकारण पनि संकटकाल लगाउनु अहिलेको समयको माग पनि हो ।

सीमानाका व्यवस्थापन गर्न नसक्दा समस्या निम्तिएको हो
डा. गोविन्द रोकाया
कोभिड सम्पर्क व्यक्ति, महाकाली अस्पताल

महाकाली अस्पतालमा बिरामीको चाप हेर्दा पुरानो दिनजस्तो अक्सिजन अभाव भएको अवस्था छैन । यसैगरी पुरानो दिनभन्दा अस्पतालमा उपचार गराउन आउने संक्रमितको अवस्थामा पनि केही कमी आएको छ । त्यसकारण पनि अहिलेको अवस्थामा अक्सिजनको अभाव अस्पतालले खेप्नुपरेको भने छैन । अब संक्रमित हुने र संक्रमित भएपश्चात् मृत्यु हुने दर घटाउनका लागि मुख्य रूपमा हामीले निषेधाज्ञा अगाडि नै गर्नुपथ्र्याे, तर निषेधाज्ञा ढिला सुरु भयो । यसले गर्दा पनि संक्रमितको सङ्ख्या बढेर मृत्यु हुनेको सङ्ख्या पनि बढेको अवस्था छ । अर्काे कुरा, सीमा नाका क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गर्ने कुरा भएको थियो, त्यो पनि समयमै निर्माण हुन नसकेको अर्काे पक्ष रहेको छ । होल्डिङ सेन्टर समयमै सम्पन्न भएको भए जति पनि भारतीय क्षेत्रबाट नेपाल फर्किने नेपाली नागरिक छन्, तिनीहरू सबैलाई हामीले होल्डिङ गरेर आ–आफ्नो पालिकाहरूतिर पठाउने भन्ने कुरा हुन्थ्यो तथा आवश्यक गन्तव्यमा पठाउन एकदमै समय पनि हुन्थ्यो, जसका कारण हामीले अहिलेको अवस्था खेप्नुपर्ने बाध्यता पनि आउने थिएन । योसँगै सीमा नाकाबाट जति नेपाली भित्रिन्छन्, उनीहरूमध्ये भारतीय कोरोना प्रभावित क्षेत्रबाट आएको मानिस भनेर मात्रै एन्टिजेनमार्फत चेकजाँच गरिएको अवस्था थियो । यसले पनि हामीलाई उपचारमा धेरै नै असहज गरेको अवस्था हो । यसमा एन्टिजेन नेगेटिभ भने पनि पीसीआरमार्फत पोजेटिभ पनि आउन सक्छ । त्यसकारण सीमा नाकामा एन्टिजेनमार्फत कोरोना परीक्षण गराएका मानिसहरूमा पनि कोरोना पोजेटिभ भएको हुनसक्ने अनुमान गरिन्छ । त्यसले गर्दा समुदायस्तरमा कोरोना फैलिएको अवस्था देखियो । अबको उपाय भनेको समुदायस्तरमा कोरोना परीक्षणको दायरा फराकिलो बनाउनुप-यो, यसले गर्दा संक्रमितको पहिचान हुन्छ र थप संक्रमण फैलिन नदिन सहयोग पनि पुग्ने गर्छ ।
योसँगै अहिले सरकारले लगाएको निषेधाज्ञा पूर्णरूपमा पालना गनुपर्छ । निषेधाज्ञा पूर्णरूपमा पालना ग-यो भने संक्रमणबाट जोगिन सकिन्छ । दोस्रो भेरियन्ट प्रवेश गरेको केही समय मात्रै भएको छ, अझ यसमा तेस्रो न्यू भेरियन्टको कोरोना आएको भन्ने पनि छ । जुन योभन्दा पनि बढी खतरनाक हुने भन्ने छ । यसमा सबैभन्दा बढी सचेत हुनु आवश्यक छ र सँगै सुरक्षित हुनु पनि आवश्यक छ । स्वास्थ्य मापदण्ड पालना गर्ने कुराहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ ।

निषेधाज्ञा धेरै ढिला सुरु भयो
कृष्णदत्त जोशी
अध्यक्ष, महकाली अस्पताल व्यवस्थापन समिति

यसका बारेमा त सर्वप्रथम के हुन्छ भन्दाखेरि पहिले हाम्रो जनस्तरमा नै सचेतना, जनचेतना हुनुपर्ने देखियो । किनभने ज्वरो, रुघा, खोकीजस्ता लक्षण आयो भने तत्काल नै अस्पतालमा सम्पर्क गरेर पीसीआर पोजेटिभ आएको अवस्थामा त्योअनुसारको औषधि प्रयोग गरेर उक्त संक्रमित मानिस बाँच्ने रहेछ भन्ने बुझियो, अहिलेको अवस्थासम्म हेर्दाखेरि । त्यसका लागि समयमा उपचार ग¥यो भने कोरोना संक्रमित बिरामी निको हुने दर एकदमै उच्च हुन्छ । अब यहाँ के देखियो भने केही लक्षण देखिए पनि घरमै बस्ने, सिटामोललगायतका औषधि खाने प्रवृत्ति एकदमै बढेको छ । यसले गर्दा संक्रमितले समुदायस्तरमा कोरोना संक्रमण दर फैलिने खतरा पनि रहेको हुन्छ । लामो समयसम्म घरमै बस्नाले संक्रमितको फोक्सोमा समस्या उत्पन्न भइसकेको हुन्छ । अन्तिममा अस्पताल ल्याउँदा अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायतमा राख्नुपर्ने देखिन्छ । उक्त कुराहरूको अस्पतालमा अभाव भएको हुँदा बिरामीको उपचार गर्नमा समस्या भएको अवस्था छ । अर्काे कुरा, हामीले अक्सिजनकै मात्रा बढी दिनुपर्ने भएकाले अक्सिजनको जोहोचाहिँ हामीले गर्नुपर्ने हुन्छ । अस्पतालमा दैनिक १ सयभन्दा बढी सिलिन्डर अक्सिजन चाहिएको हुन्छ, तर अस्पताललाई जम्माजम्मी ५०, बढीमा ६० मात्रै उपलब्ध हुन्छ । यसले गर्दा अस्पताललाई निकै समस्या भएको अवस्था छ । अहिलेको अवस्थामा अक्सिजन आपूर्तिका लागि संघ र प्रदेश सरकारले केही रकम सहायता प्रदान गरेको छ । अक्सिजन प्लान्ट निर्माणका लागि आएको बजेटको जतिसक्दो चाँडो कार्यान्वयन गरेर हामीले अहिले अक्सिजन प्लान्ट निर्माणतिर लागेका छौं । यसमा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भए पनि अस्पतालसँग दक्ष जनशक्ति पाएको अवस्था छैन । यसले गर्दा अस्पतालमा दक्ष जनशक्तिको पनि अभाव छ ।
अस्पतालसँग अहिले ९६ बेड रहेको अवस्था छ । बेडको क्षमता बढाउन पनि एक किसिमको दक्ष जनशक्ति आवश्यक पर्ने हुन्छ । यसमा अस्पतालसँग पनि केही स्रोतसाधन भएर पनि दक्ष जनशक्ति अभावमा केही भेन्टिलेटर सञ्चालन गर्न नसकिएको अवस्था छ । यसैगरी अहिले सरकारले स्वास्थ्य संकटकालको कुरा पनि अगाडि सारेको छ । यो अब कस्तो भन्दाखेरि यसको कति समयसम्म प्रभावकारी हुन्छ भन्ने हो, यसमा फेरि थप नयाँ भेरियन्टको भाइरस आउने भन्ने पनि छ । यस अर्थमा अहिले संक्रमण समय एकदमै बढी भएको अवस्था पनि छ । त्यसकारण अहिले स्वास्थ्य संकटकालको पनि एकदमै आवश्यकता छ । एक किसिमले भन्ने हो भने स्वास्थ्यलाई हामीले ध्यानमा राखेर निषेधाज्ञा अगाडि नै लगाउनुपर्ने रहेछ, त्यो एकदमै ढिलो भयो । यसैगरी सरकारले जुन प्रकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्यो, त्यो एकदमै कार्यान्वयन भएर झन् लापरबाही भयो । यस्तो अवस्थामा धेरै ठाउँमा विवाह, भोजभतेरजस्ता कुरा सम्पन्न भए । त्यसले पनि स्वास्थ्यका मापदण्ड परिपालना भएन, समाजमा विभिन्न किसिमका लापरबाही भए । यसले गर्दा संक्रमितको संख्या एकदमै एकचोटि बढेको अवस्था छ । यसले मुख्य रूपमा कोरोना भाइरस समुदायमा पस्न सहजता ग¥यो । फलस्वरूप संक्रमण समुदायस्तरमै फैलिन पुग्यो ।

भाइरसको उपचार भनेको भ्याक्सिनेसन नै हो
हरिकुमार श्रेष्ठ
निमित्त मे.सु., महाकाली अस्पताल

अब महाकाली अस्पतालमा अहिलेको अवस्थामा मृत्युदर बढिराखेको देखिएको पक्कै पनि होला । किनभने दुई–तीन दिनमा पनि संक्रमित भएर मृत्यु भएका केसहरू धेरै नै छन् । यसमा मृत्युदर धेरै देखिनुको कारणचाहिँ हामीसँग अन्तिम अवस्थामा रहेका कोरोना संक्रमित बिरामी भर्ना भएका छन् । यसले गर्दा अस्पतालमा हामीले कोभिडका लागि भनेर ९३ बेडहरू छुट्याएका छौं । तर, संक्रमितका केसहरू यति धेरै छन् कि सामान्य लक्षण भएका बिरामीलाई पनि भर्ना गर्नसक्ने अवस्था छैन । सामान्य लक्षण भएका बिरामीलाई घरमा नै पठाउनुप¥यो । सिरियस केसका बिरामी मात्रै भर्ना गर्दाखेरि हामीमा मृत्युदर बढ्ने अवस्था रहेको छ । अन्तिम स्थितिका संक्रमित बिरामी भर्ना गर्दाखेरि मात्र मृत्यु हुनेको संख्या बढी देखिने गर्छ । सँगसँगै हामीसित स्रोतसाधनको पनि कमी भएकै छ । अस्पतालसँग सीमित मात्रामा मात्रै स्रोतसाधन भएकाले पनि भएका भेन्टिलेटर पनि उपयोग गर्न सकिएको छैन । योसँगै अस्पतालमा भर्ना भएका बिरामी सबैलाई अक्सिजन चाहिने गर्छ । अक्सिजन चाहिएको अवस्थामा हामीले अक्सिजन दिन सक्ने अवस्था पनि बलियो छैन । हामीले खपत गर्ने भनेको अहिलेको समयसम्म दैनिक १ सयदेखि १ सय ३० सम्म हो । अब योभन्दा बढी बिरामीको चाप बढी भयो र त्यसैअनुसार अक्सिजन खपतको मात्रा पनि बढ्यो भने हामीलाई झन् समस्या हुने हुन्छ । योसँगसँगै भ्याक्सिनेसनको कुरा पनि आइरहेको छ । यसमा सबैभन्दा ठूलो कुरा भनेको देशमा बसोबास गर्ने जनताको जीवन रक्षा नै गर्ने देखिएको छ । तर पनि आवश्यक परेको बेला स्वास्थ्य संकटकाल पनि आवश्यक देखिन सक्छ ।
अहिलेको अवस्थामा पनि स्वास्थ्य संकटकाल लायो भने केही हदसम्म महामारी नियन्त्रणमा सहजता भने हुन्छ । अहिले अलि मृत्युदर पनि बढेको अवस्था र नयाँ संक्रमित बिरामीको संख्या पनि बढिरहेको छ । तर, महाकाली अस्पतालमा चाहिँ संक्रमितका नयाँ केसहरूमा केही कमी भने आइरहेको छ । हिजोका दिनसम्म इमरजेन्सी कक्षहरू पनि भरिएको अवस्था हुन्थ्यो भने अहिलेको अवस्थामा भने बिरामीको संख्या केही घटेको छ । योचाहिँ निषेधाज्ञाका कारणले केही कम भएको मात्र हो । तर, निषेधाज्ञा पनि कतिसम्म लम्ब्याउने भन्ने कुरा आउन सक्छ । त्यसै गरेर सीमा क्षेत्रका कुराहरू हुन्छन् । यसमा हामीले भन्दा पनि माथिल्लो नीतिगत तहबाट आवश्यक निर्णय लिनु राम्रो हुन्छ । यसैगरी अब अहिलेको अवस्थामा यसलाई निर्मलीकरण गर्नका लागि भने भ्याक्सिनेसन नै हो । अहिलेको अवस्थासम्म आइपुग्दा अस्पतालको झन्डै ५० जना कर्मचारी संक्रमित भएको अवस्था छ । संक्रमित भए पनि पुरानो दिनमा भ्याक्सिनेसन लगाएको भएर संक्रमित भएर पनि जटिल किसिमको समस्या देखापरेको छैन । त्यसकारण पनि भ्याक्सिनेसन अहिलेको आवश्यकता पनि हो । हामीले जतिसक्दो भ्याक्सिनेसन गर्न सक्यौं, हामी त्यति नै सुरक्षित हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्