Logo

कोलेनिकाले खाता रोक्का गर्दा

पर्वत अस्पतालका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन

कोरोना महामारीको बेलामा फ्रन्टलाइनमा रहेर काम गर्ने पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालू अवस्थामा रहेको खाता सञ्चालनमा स्वीकृति नदिएपछि पर्वत अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ ।
काम गरेको लामो समय हुँदा समेत तलब नपाउँदा अस्पतालको कोषबाट तलब खाने १५ जना कर्मचारी समस्यामा परेका हुन् । कोरोना महामारीको कारण जारी भएको निषेधाज्ञामा पैसाको आवश्यकता झनै बढेको तर आफूहरूले तलब नै नपाउँदा चरम समस्यामा रहेको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।
‘यो महामारीको बेलामा हातमुख जोड्न नै कठिन हुने बेला आएको छ । बिहानदेखि बेलुकासम्म बिरामीको सेवा ध्यान दिनुपर्छ । तर, तलब नआएका कारण तलबको चिन्तन बोकेर बिरामीको उपचारमा खटिनुपरेको छ,’ डा. डीबी क्षेत्रीले कारोबारसँग भने, ‘दैनिक रोजिरोटीकै समस्या भएको छ । तलदेखि माथिसम्मका सबै कर्मचारीलाई समस्या भएको छ । खासमा कुण्ठाका कारण यो समस्या रहेको देखिन्छ ।’
डा. क्षेत्रीले विगत पुस महिनादेखि नै पारिश्रमिक पाएका छैनन् । उनको पारिश्रमिक एउटा संस्थाले बेहोर्ने गरेको छ भने असारसम्मको तलब समेत अस्पतालको खातामा जम्मा भइसकेको छ । तर, खाताको अनुमति नपाउँदा उनी पुसदेखि तलबविहीन अवस्थामा रहेका छन् ।
डक्टरहरू बिरामीको सेवामा फोकस हुनुपर्ने तर तलब नपाउँदा उपचारको फोकस तलबमा पुग्नु बाध्यात्मक परिस्थिति आएको डा. क्षेत्रीको बताउँछन् । करारमा कार्यरत कर्मचारीहरूले समस्याबारे जानकारी गराउँदै अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिमा निवेदन दिइएको भए पनि कोलेनिकाबाट खाता सञ्चालनको अनुमति नआएका कारण माग सुनावाइ नभएको बताउँछन् ।
अस्पतालका कर्मचारी राजेश गिरीले केही डक्टरहरूले माघदेखि र कर्मचारीहरूले फागुनदेखिको तलब नबुझेको बताए । तलबकै आधारमा बजारमा बसेर पेट पाल्नेहरूलाई समस्या भएको उनको भनाइ छ । ‘फागुनदेखि तलब पाइएको छैन । महामारीको बेलामा हरेक कुरा महँगो भएको छ। पैसाबिना केही पनि हुँदैन,’ उनले भने, ‘यही संकटको बेलामा तलब नपाउँदा कति कठिन भएको होला? तपाईं नै अनुमान गर्नुहोस् ।’
अस्पताल व्यवस्थापन समितिको खाताबाट तलब पाउने ती १५ जना कर्मचारीमा मासिक १३ हजार रुपैयाँदेखि २ लाख २७ हजार रुपैयाँसम्म पाउनेहरू छन् । मासिक करिब सात लाख रुपैयाँ तलबमा खर्च हुन्छ । तर, उक्त रकम चलाउने अनुमति नपाउँदा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई समस्या भएको छ ।
कोरोना संक्रमण अवस्था भयावह भइरहेको बेलामा विभिन्न सामग्रीहरू खरिद गर्नुपर्ने तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पनि पैसा दिनुपर्ने बेलामा एकाएक अस्पतालको खाता सञ्चालन रोकिँदा अस्पताल नै समस्यामा परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउँछन् । खाता सञ्चालनमा हालसम्म अस्पतालको आफ्नै पद्धति र समितिको निर्णयअनुसार सञ्चालन हुँदै आइरहेकोमा कोलेनिकाले आर्थिक वर्षको मध्य अवधिमा टिएसए पद्धतिमा लैजानुपर्ने भन्दै पत्राचार गर्दा खाता सञ्चालन नै अन्योलमा परेको उनको भनाइ छ ।
‘यति बेला अस्पताल संक्रमितको उपचार र व्यवस्थापनमा खटिरहेको र यसका लागि आवश्यक खर्च गर्नका लागि तथा समिति मातहत रहेका कर्मचारीहरूको तलब भुक्तानी हुन नसक्दा अस्पतालका कामहरू प्रभावित भएका छन्,’ अध्यक्ष पहाडीले भने, ‘आर्थिक प्रणाली परिवर्तन गर्दा समितिलाई जानकारी गराई त्यसबारे छलफल र परामर्श गर्दा स्वामित्व समितिले लिने पद्धतिबारे समेत अभिमुखीकरण हुने थियो । त्यसमा पहलकदमी नगरी एकोहोरो तरिकाले लेखा पद्धति परिवर्तन गर्न खोजिनु समितिको नियुक्ति गर्ने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग परामर्श गर्न नपाउँदै खाता परिवर्तन गर्ने कुरामा सहमत हुन सकिएन ।’
कोलेनिका कार्यालयका प्रमुख मोहन शरण भण्डारीले राष्ट्र बैंकले तयार पारेको नीतिलाई मान्दै नेपाल सरकारले २०७६ सालबाट प्रदेश, संघ वा स्थानीय तहका खातालाई चल्तीबाट विविधमा स्थानान्तरण गरेर कारोबार गर्नुपर्नेमा त्यो काम नगरिएको र अहिलेसम्म पनि चल्तीबाटै कारोबार भइरहेका कारण खाता सञ्चालनको स्वीकृति दिन नसकिएको कारोबारलाई बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीले भने नयाँ तरीकाले खाता सञ्चालन गर्ने सबै जिल्लाहरूमा नगरिएको पाइएकाले पनि यसबारे थप छलफल गरेर मात्र कोलेनिकाले निर्णय लिएको भए राम्रो हुने धारणा राख्छन् । नयाँ पद्धतिमा लैजानै खोजे पनि नजिकिएको नयाँ आर्थिक वर्षलाई आधार मान्दै काम गरेर अहिले देशले भोगिरहेको कोरोना कहरमा झनै अप्ठ्यारो पार्ने काम नगरिएको भएमा आफूहरूलाई सजिलो हुने उनको भनाइ छ ।
अस्पतालका तर्फबाट कार्यालयलाई अहिलेको अप्ठ्यारो अवस्थालाई ख्याल गरेर पुरानै परिपाटीअनुसार खाता सञ्चालनको अनुमति दिनका लागि अनुरोध गरिएको भए पनि कार्यालयले त्यो नमानेको पहाडी बताउँछन् ।
कोलेनिका कार्यालयका प्रमुख भण्डारीले भने सरकारी कारोबार निर्देशिका २०७६ आइसकेपछि चल्ती खातामा कारोबार गर्न नपाइने नियम अनुसार आफूले काम गरेको बताए । अस्पतालको खाता सञ्चालन गर्ने वा रोक्का गर्ने अधिकार कोलेनिका पर्वतमा नरहेको त्यो अधिकार प्रदेश कार्यालयलाई रहेको बताउँदै उनले प्रदेशबाट खाता सञ्चालनको स्वीकृति नदिनु भनेर पत्र आएको दाबी गरे । यसबारे आपूmले प्रदेश कार्यालयमा सोध्दा उसले टिएसएभन्दा बाहिर रहेका कारण यसरी गर्न मिल्दैन भनेर जवाफ दिएपछि प्रदेशलाई अटेर गरेर यता खातालाई स्वीकृति दिन नमिल्ने उनको तर्क छ। कोलेनिकाको प्रदेश कार्यालयबाट खाता सञ्चालनको स्वीकृति नदिनु भनेर लेखेरै पत्र आइसकेको अवस्थामा आफू त्यो बाहिर नजाने भण्डारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्