Logo

नागार्जुनमा ३०० बेडको आइसोलेसन केन्द्र

काठमाडौंको नागार्जुनमा ३०० बेडको आइसोलेसन केन्द्र निर्माण गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको विशेष पहलमा नागार्जुन नगरपालिका र नेपाल चार्टर एकाउन्टेन एसोसिएशनको सहकार्यमा ३०० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।
नागार्जुन नगरपालिका–१ रानीवनस्थित शहरी विकास मन्त्रालयले सुकुम्बासीको पुनर्वासका लागि बनाएका भवनमा निर्माण गरिएको उक्त आइसोलेशनमा चिकित्सकसहित सेवा उपलब्ध गराइएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।
सो आइसोेलेशनमा ललितपुरको सर्वाङ्ग अस्पतालका चिकित्सकले सेवा प्रदान गर्नेछन् । उक्त आइसोलेशनमा १०० वटा अक्सिजन सिलिण्डरसहित सेवा उपलब्ध गराइएको कांग्रेस केन्द्रीय सदस्य पौडेलले बताए । आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको छ  । नेता पौडेलले कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्न गाह्रो भएका बिरामीले उक्त आइसोलेशन सेन्टरबाट सेवा लिन सक्ने बताए ।
नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहेका नेता पौडेलले देशभर यस्तै प्रयोगविहीन रहेका सरकारी भवनलाई तुरुन्तै आइसोलेशन र अस्पतालका रूपमा दिनसके सङ्क्रमितले उपचार नै नपाएर मर्नुपर्ने अवस्था नआउने बताए ।

प्रतिक्रिया दिनुहोस्