स्वावलम्बन लघुवित्तद्वारा राहत वितरण
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले न्यून आय भएका व्यक्तिहरुका परिवारको दैनिक गुजाराका लागि राहत वितरण गरेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण पेश व्यवसाय सञ्चालन गर्न नपाएर दैनिकी गुजारा गर्न समस्या भएका न्यून आय भएकाहरुलाई संस्थाको शाखा कार्यालयबाट खाद्य समग्री राहत स्वरुप उपलब्ध गराएको हो ।
वित्तीय संस्थाका सबै शाखा÷उपशाखा कार्यालयले न्यून आय भएका र हालको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका सदस्यहरुलाई उनीहरुको घरदैलोमा राहत उपलब्ध गराउने योजना अनुरुप संस्थाका विभिन्न शाखा कार्यालयहरुले दैनिक रुपमा खाद्य सामग्री चामल, दाल, नुन र तेल उपलब्ध गराएको बताइएको छ । यसका अतिरिक्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध ग्राहक सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएका र आइसोलेसनमा बसेका सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउने जनाएको छ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालयमार्फत २ लाख ५१ हजार सदस्यलाई लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।
वित्तीय संस्थाले गत वर्ष समेत कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा एक करोड ५७ लाख २८ हजार १ सय २१ रूपैयाँ सहयोग उपलब्ध गराएको थियो । यसैगरी, सात वटै प्रदेशमा रहेका शाखा÷उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।