लुम्बिनी गुरुयोजनाका लागि अझै ७ अर्ब आवश्यक «

लुम्बिनी गुरुयोजनाका लागि अझै ७ अर्ब आवश्यक

Mayadevi Temple view


सन् १९७८ मा जापानिज वास्तुकलाविद् प्रो. केन्जो टांगेले तयार पारेको बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर तयार पारिएको लुम्बिनी गुरुयोजना अझै पनि सम्पन्न हुन सकेको छैन । हालसम्म आउँदा गुरुयोजनाका कामहरु सम्पन्न भइसक्नु पर्ने थियो ।
तर अझै पनि सम्पन्न हुन नसक्नुमा मुख्य दोषी भने सरकार नै हो । बारम्बार हुने राजनीतिक हस्तक्षेप, पदाधिकारी नियुक्तमा राजनीतिक भागबण्डा र सक्षम तथा योग्य नेतृत्व नहुनु नै लुम्बिनी गुरुयोजनाको काम सम्पन्न समयमै सम्पन्न हुन नसक्नु मुख्य कारण हो । सुरुवाति समयमा कम बजेट बिनियोजन पनि समस्या हो ।
“विगतमा के कस्तो भयो त्यता नफर्कौं अहिले काम राम्रो भइरहेको थियो तर, कोरोनाले प्रभावित बनाएको छ, गत वर्षदेखि नै काम प्रभवित भएको छ ।” लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई भन्छन् । अहिले कोरोनाले प्रभावित भएपनि केही कामहरु स्वास्थ्य मापदण्ड अपनाएर भइरहेका छन् । टेण्डरहरु आव्हान भइरहेकाले असारसम्ममा बाँकी सबै टेण्डर पूरा गर्ने कोषले जनाएको छ ।
कोषका आयोजना प्रमुख ईन्जिनियर सरोजकुमार भट्टराईका अनुसार अब अढाई वर्षमा लुम्बिनी गुरुयोजनाका सबै काम सकिनेछन् । त्य।का लागि अब ७ अर्ब रुपैयाँ रकम खर्च हुन्छ । ७ अर्बमध्ये ४ अर्ब रुपैयाँ बराबरको ग्लोबल टेण्डर सार्वजनिक भइसकेको छ ।
बोलपत्र स्वीकृत भएको २ वर्षभित्र काम सक्नु पर्छ । सडक, ढल, पुल, कल्बर्ट, बिहार जोडने सबै सडक, सौन्दर्यिकरण, विद्युतीकरण सबै यसमा पर्छन् । त्यसैगरी बाँकी ३ अर्ब बराबरको टेण्डर असारभित्र सार्वजनिक गर्ने कोषले जनाएको छ । यसमा ६ वटा भवनहरु, वेष्ट म्यानेजमेन्ट सिष्टम लगायत समेटिने कोषले जनाएको छ ।
त्यसैगरी ५ हजार क्षमताको गोलाकार सभाहलको प्रथम चरणको काम सम्पन्न भए दोश्रो चरणमा ल्याण्ड स्केप, सौन्दर्यिकरण, पार्किङलगायतका क्षेत्रका काम पनि चाँडै पूरा हुने आयोजनाले जनाएको छ । काम सम्पन्न गर्न कोषले निरन्तर काम जारी राखेपनि देशमा भएको निषेधाज्ञा लगायतले असर गरेको छ ।
४० वर्ष अघि सुरू भएको योजनाको काम अब ग्लोबल टेन्डर आव्हान भएपछि चाँडै पूरा हुने कोषले जनाएको छ । अहिलेसम्म लुम्बिनी गुरुयोजनाको भौतिक प्रगति ८० प्रतिशत भन्दा माथि रहेको कोषका पदाधिकारीहरु बताउँछन् ।
“अहिले बिगतमा जस्तो आर्थिक समस्या समेत छैन, बजेटले गुरुयोजनाको काम प्रभावित भएका छैन” कोषको सदस्य सचिव सानुराज शाक्यले भने, “अब अढाई वर्षमा काम सक्ने लक्ष्य लिएर अघि बढेका छौं ।”

बुद्ध जयन्तीमा पूजापाठ मात्र हुने
कोरोना भाइरस संक्रमण र जोखिमका कारण यो वर्ष पनि बुद्धजयन्ती सामान्य रूपमा मनाइने भएको छ । बिहान ७ बजे मायादेवी मन्दिर परिसरमा लुम्बिनी उपस्थित बौद्ध भिक्षुहरुबाट अशोक स्तम्भ अघि सामान्य पूजा पाठ, ११ बजे वृक्षरोपण र बेलुका २५६५ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
बुद्ध जयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बाचन गर्ने र पुजापाठ गर्ने, परित्राण पाठ गर्ने संक्षिप्त कार्यक्रम रहेको शाक्यको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्