निर्माणको काम रोकेर फ्लाइट «

निर्माणको काम रोकेर फ्लाइट

जुम्ला- खतरा मुक्त बनाउने जुम्ला विमानस्थलमा झनै खतरा बढ्दै गएको छ । धावनमार्गको स्तरउन्ती भइरहेका बेला काम पूरा नहुँदै, हवाई सेवा सञ्चालन भएको छ । रनवेमा सेतो संकेत गर्ने रेखा पनि हालिएको छैन भने कालोपत्रे गर्ने काम पनि अधुरै छ । तर जुम्ला विमानस्थलले काम रोकेरबीचमै हवाई सेवा सुरु गरेको छ ।
अन्तिम चरणमा पुगेको विमानस्थल निर्माण कार्य रोकेर जोखिम मोल्दै, हवाई सेवा सञ्चालन गर्न नहुनेमा स्थानीयले जोड दिएका छन् । प्रमुख जोखिम अवतरणका बेला हुने विमानस्थलमा अवतरणका लागि संकेत गर्ने रेखानै रनवेमा हालिएको छैन । हतारमा सञ्चालनमा नल्याई पूर्ण काम सकाएर गर्नुपर्ने नागरिक अगुवा राजबहादुर महतको तर्क छ । चिसो समयमा गरिएको कालोपत्रे पनि गुणस्तरी नहुने आशंका गरिएको छ ।
तर यता, जुम्ला विमानस्थलका प्रमुख कैलाश शर्माका अनुसार विमानस्थलको मर्मत कार्य अन्तिम चरणमा छ । आम नागरिकको समस्यालाई मध्यनजर गर्दै काम रोकेर हवाई सेवा सञ्चालन गरिएको शर्माको भनाइ छ । विमानस्थल जीर्ण हुँदै जाँदा निकै खतरा बढेको थियो, मर्मतपछि खतरामुक्त विमानस्थलको दाबी छ ।
थोरै रहेको बाँकी काम छिटै सकाएर नियमित उडानलाई सहज बनाउने योजना रहेको विमानस्थलका प्रमुख कैलाश शर्माले उल्लेख गरे । उनले कारोबारलाई भने, विमानस्थलको स्तरउन्ती प्राविधि स्टमेटमा भएको छ । चिसोमा कालोपत्रे गरिएको छैन । उनले थपे, दिउसो घाम लागेको बेलामा मात्रै कालोपत्रे गरिएको र दिगो नै हुने दाबी छ ।
कात्तिक ८ देखि मंसिर ८ सम्म मर्मतको काम सक्ने गरी नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालयले सूचना सार्वजनिक गरेको थियो । तर, पनि काम समयै भएको छैन । विमानस्थल मर्मत सकिन लागेको र जोखिम घटेको खबरले स्थानीय उत्साहित छन् । हवाई सेवा महिना दिन ठप्प हुँदा धुलाम्मे र हिलाम्मे कर्णाली सडकमा जोखिमपूर्ण यात्रा गर्न जुम्लावासी बाध्य थिए ।
भने जटिल खालका बिरामीलाई निकै समस्या भएको थियो । तर, काम रोकेरै भए पनि हवाई सञ्चालन भएपछि सुविधा भएको छ । २०४० सालदेखि अहिले मर्मत हुन नसकेको जुम्ला विमानस्थल बल्ल भएको छ । घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् । स्तरोन्नति लागि भन्दै गत कात्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्