सगरमाथामा फेला परेका दुई शव काठमाडौं ल्याइयो «

सगरमाथामा फेला परेका दुई शव काठमाडौं ल्याइयो

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत सगरमाथा हिमालको फोहोर संकलन गर्ने क्रममा चौथो शिविर आसपासमा फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पश्चात सोमबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
सन् २०१९ मा सगरमाथाको आरोहण पश्चात फिर्ता हुने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षिय क्रिस्टोफर कुसिलको शव र पहिचान नखुलेको एक गरी जम्मा दुई वटा शवहरु वैशाखको अन्तिम हप्ता सगरमाथाको चौथो शिविरमा ढुङ्गाको चेपमा फेला परेको थियो ।
सफा हिमाल अभियान २०२१ को डेड बडी रिकभरी टिमले उक्त शवहरु क्रमशः वैशाख ३० गते र जेठ ९ गते दोस्रो शिविरमा ल्याउन सफल भएकोमा दोस्रो शिविरबाट हेलिकप्टरद्वारा सोमबार मध्यान्न आधार शिविरसम्म ल्याई सफा हिमाल अभियानमा खटिएका डाक्टर अधिकृतको प्रारम्भिक मेडिकल प्रतिवेदन र लुक्लास्थित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी मुचुल्का सहित शव व्यवस्थापनको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बुझाइएको छ ।
सफा हिमाल अभियान २०२१ अन्तर्गत संकलित फोहोरहरु आगामी २२ गते विश्व वातावरण दिवसको अवसर पारेर एकमुष्ठ रुपमा गर्ने प्रयोजनको लागि हस्तान्तरण गर्ने योजना रहेकोमा हालको महामारीको कारण चरणबद्ध रुपमा फोहोर हस्तान्तरण गर्न कार्यक्रम मिलाइएको छ । जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले सगरमाथा तथा आमादब्लम हिमालबाट संकलन गरिएको फोहोर एन्टि भेन्टिुरलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्