कोरोना संक्रमण जोखिमका कारण घाटु प्रभावित
विश्वव्यापी कोरोना भाइरस संक्रमणको उच्च जोखिमसँगै गुरुङ संस्कृतिमा आधारित घाटु नाच यसवर्ष पनि प्रभावित भएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अघिल्लो वर्ष जस्तै यसवर्ष पनि घाटु नाच प्रभावित भएको हो ।
लमजुङका अधिकांश गाउँहरूमा वैशाख पूर्णिमाको अवसरमा घाटु नाच हुन्छ । गुरुड संस्कार र संस्कृतिमा निकै महत्वपूर्ण पर्वका रूपमा मनाइने घाटु नाच धारावाहिक रुपमा तीन दिनसम्म नाच्ने गरिन्छ ।
अघिल्लो वर्ष पनि कोभिड–१९ को प्रभावसँगै प्रशासनले जारी गरेको लकडाउनका कारण घाटु नाच प्रभावित भएको थियो । अघिल्लो वर्ष जिल्लाका केही गुरुङ समुदायले विधि पूरा गर्नका लागि मात्रै घाटु नृत्य गरेका थिए । जिल्लाका केही समुदायले भने संक्रमणकालीन अवस्थालाई मध्यनजर राख्दै बाहिरी व्यक्तिहरूलाई प्रवेश निषेध गरी विधिवत घाटु नाच नचाएका थिए । तर, यसवर्ष जिल्लाको ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलिएका कारण अधिकांश ग्रामीण क्षेत्रहरूमा घाटु नृत्य प्रभावित भएको छ ।
स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै धार्मिक मेला महोत्सव तथा भीडभाड हुने कुनैपनि क्रियाकलाप नगर्न आग्रह गरेको छ । प्रशासनले विवाह व्रतबन्ध जस्ता महत्वपूर्ण क्रियाकलापहरूमा पनि १० जना भन्दा बढी सहभागी नहुन आग्रह गरेको छ ।
परम्परागत संस्कृतिको संरक्षण तथा गुरुङहरूको पहिचानलाई जोगाउन वैशाख पूर्णिमाको अवसरमा विशेष महत्वका साथ घाटु नाच नाच्ने गरीन्छ । गुरुङ सस्कृतिअनुसार माघ महिनाको बसन्त पञ्चमीबाट सुुरु भएको घाटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । गुरुङ समुदायको पुख्र्यौली जीवनशैली समेटिएको घाटु नाच एक विधिवत पौराणिक संस्कृति भएको गुरुङ समुदायका अग्रजहरू बताउँछन् ।
सती र बाह्रमासे गरी घा“टु नाँच दुई प्रकारको हुन्छ । बाह्रमासे घा“टु जुन बेला पनि नाच्न सकिन्छ तर सतिघा“टु श्रीपञ्चमीमा सुुरु भई वैशाख पूर्णिमामा अन्त्य हुन्छ । परम्परागत घाटु नृत्य यसपटक पनि प्रभावित भएको छ ।
घा“टु नृत्य ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरू बताउँछन् । पछिल्लो समय घाटु नृत्यलाई पर्यटनसँग पनि जोडिएको छ । घाटु नाच हेर्नकै लागि जिल्लाका गुरुङबस्तीहरूमा यतिवेला आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्थे ।