स्वास्थ्य शिविर सञ्चालन «

स्वास्थ्य शिविर सञ्चालन

हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्टले खानी क्षेत्रका बासिन्दाका लागि स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । मकवानपुरगढी गाउँपालिका–७ मा रहेको जनता माविमा शनिबार आयोजित स्वास्थ्य शिविरमा ४ सय १३ जनाले स्वास्थ्य जाँच गराएर निःशुल्क औषधिसमेत लिएका छन् ।
स्वास्थ्य शिविरमा कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भरतपुरका चिकित्सकको टोलीले स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरेका थिए । शिविरमा जनरल फिजियन सेवा एकसय १५ जनाले लिएका थिए । सर्जरीका ३३ जना, बालरोग सेवा ८७ जना, महिला तथा प्रसूतिरोगको उपचार सेवा ५३ जनाले लिएका छन् । त्यसैगरी नाककान घाँटी रोगी ७४ जना, न्युरोकोे ४२ जना र १५ जना दन्तरोगीले जाँच गराएको शिवम् सिमेन्ट उद्योगका एसिस्टेन्ट म्यानेजर अच्युत पराजुलीले जानकारी दिए ।स्वास्थ्य शिविरमा १३ जना डाक्टरसहित २१ जनाको टोली खटिएको थियो ।
ल्याब टेष्ट गर्नपर्ने किसिमका केही बिरामीलाई पछि अस्पतालमा बोलाइएको र उनीहरुको पनि निशुल्क जाँच गरिने शिवम्ले जनाएको छ । शिवम् सिमेन्टले आफ्नो सामाजिक दायित्व पूरा गर्ने क्रममा स्वास्थ्य शिविरको आयोजना गरिएको उद्योगका संस्थापक रघुनन्दन मारुले जानकारी दिए । शिविरमा मकवानपुरगढी गाउँपालिका–४,७, ८ र बुढीचौरका स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।मकवानपुरगढी गाउँपालिका–७ नम्बर वडा अध्यक्ष सूर्यबहादुर रुम्बाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा उद्योगका संस्थापक सतिश मोहर, रघुनन्दन मारु, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, शिक्षण अस्पताल भरतपुरका पब्लिक रिलेसन अफिसर दुर्गा न्यौपाने, उद्योगका महाप्रबन्धक नवलकिशोर चौधरी, उपाध्यक्ष रामजीप्रसाद चौरसिया, खानी प्रमुख रामजीप्रसाद चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्