सुनचाँदी क्षेत्र वैदेशिक रोजगारको विकल्प हुन सक्छ «

सुनचाँदी क्षेत्र वैदेशिक रोजगारको विकल्प हुन सक्छ

काठमाडौं- राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्यवसाय वैदेशिक रोजगारको विकल्प हुन सक्ने बताएका छन् ।
पुस अन्तिम साता हुन लागेको मञ्चको दोस्रो साधारणसभाको जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष लकान्द्रीले सुनचाँदी व्यवसायभित्रका तमाम समस्याहरूको बारेमा उल्लेख गरेका थिए । पत्रकारहरूसँगको कुराकानीमा लकान्द्रीले भने, “सुनचाँदी व्यवसायमा हजारौं व्यवसायी र लाखौं कालिगढहरूको प्रत्यक्ष संलग्नता छ, यो व्यवसायलाई अझैं व्यवस्थित बनाउन सक्ने हो भने यो वैदेशिक रोजगारको गतिलो बिकल्प हुनसक्छ ।” सुनचाँदी व्यवसाय क्षेत्रले राज्यलाई हरेक वर्ष उल्लेख्य मात्रामा राजस्व पनि प्रदान गर्दै आएको छ । तर, यो व्यवसायमा लागि परेका व्यवसायीहरूले सरकारबाट प्राप्त गर्नुपर्ने न्यूनतम सेवा सुविधाहरू पनि पाउन सकेको छैन भन्दै अध्यक्ष लकान्द्रीले सरकारले सुनचाँदी व्यवसायिक क्षेत्रलाई विशेष क्षेत्र घोषणा गर्दै शान्ति, सुरक्षालगायतका सेवा उपलब्ध गराउनु पर्ने बताएका थिए ।
मञ्चको केन्द्रीय कार्यालय डिल्लीबजारमा आयोजित पत्रकार सम्मेलनमा सुनचाँदी व्यावसायिक क्षेत्रको प्रमुख कच्चा पदार्थ सुन रहेको हुँदा हजारौं व्यवसायीहरूले सहज रूपमा कच्चा पदार्थ पाउने व्यवस्था भएको छैन । जसले गर्दा यो व्यवसाय नै धराशयी बन्ने खतरा बढेको संकेत गर्दै अध्यक्ष लकान्द्रीले भने, “सरकारले बजारको मागअनुसार व्यवसायीहरूलाई सहज रूपमा सुन उपलब्ध गराउनुपर्छ ।” त्यस्तै सुनको कोठामा भएको एकद्धार प्रणालीबारे पनि आफ्नो असन्तुष्टि व्यक्त गर्दै लकान्द्रीले एकद्वार प्रणाली खारेज गरेर बजारको मागअनुसार, व्यवसायीलाई पान नम्बरका आधारमा सुन उपलब्ध गराउनु पर्ने जिकिर गरे ।
सुनचाँदी क्षेत्रको पछिल्लो जानकारीसहित अध्यक्ष लकान्द्रीले मञ्चको दोस्रो साधारणसभा आगामी पुस २९ मा सम्पन्न हुने सो अवसरमा बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्