६ महिनादेखि रुकुम उवासंघमा तालाबन्दी

रुकुम- जिल्लामा रहेका बिभिन्न व्यपारी व्यवसायीहरुको नेतृत्वदायी संस्था रुकुम उद्योग वाणिज्य संघमा गत असार २२ गतेदेखि लगाइएको ताला अहिलेसम्म खुलेको छैन । जसका कारण संघको साधारण सभा तथा अधिवेशन समेत अन्यौलमा परेको छ भने कार्यालयबाट हुने नियमित कामकाजमा पनि प्रत्यक्ष असर परेको छ ।
संस्था सञ्चालनका क्रममा विभिन्न अवैधानिक काम भएको र वर्तमान कार्यसमितिले आर्थिक पारदर्शिता कायम गर्न नसकेको भन्दै जिल्लाकै केही व्यवसायी र संघकै केही जिम्मेवार व्यक्तिद्वारा रुकुम पश्चिमको सदरमुकाम खलंगामा रहेको संघको कार्यालयमा तालाबन्दी गरिएको हो । संघको १२ औं साधारणसभा तथा अधिवेशन गत असार २२ र २३ गते गर्ने भनी तय भएकामा अधिवेशन उद्घाटन हुनै लाग्दा संघका साधारण सदस्य तथा अन्य व्यवसायिहरुले साधारणसभामा अध्यक्ष, महासचिव र कोषध्यक्षद्वारा पेस गरिने प्रतिवेदन छलफलबाट अनुमोदन गरेर ल्याउनुपर्नेमा त्यसो नगरेकोे र हरेक वर्ष हुनुपर्ने साधारणसभा तीन वर्षसम्म हुन नसकेको आरोप छ ।
त्यस्तै सदस्यता शुल्क, नवीकरण शुल्क र दुई वर्षअघि संघको आयोजनामा गरिएको महोत्सवको आय–व्यय सार्वजनिक नभएको तथा संघ मातहत रहेर सञ्चालन भैरहेका विभिन्न परियोजनाको अवस्था एवं संस्थाको अन्य आम्दानी र खर्चको विषयमा स्पस्ट नपारुन्जेल साधारणसभा हुन नसक्ने त्यस बेला व्यापारीहरुले कुरा उठाएको संघका सदस्य धनबहादुर खड्काले बताए ।
यस्तो छ, अपारदर्शिताको विषय
उद्योग वाण्ज्यि संघ रुकुमका उपाधयक्ष बालकुमारी गरी संघमा देखिएका अपारदर्शिताको विषय धेरै भएको बताउँछिन । जसमा मुख्य कुरा संघको आयोजनामा गतबर्ष आयोजना गरिएको महोत्सवको आयव्यय र संघमार्फत सञ्चालन भइरहेका बिभिन्न परियोजनाहरुको आर्थिक हिसाब–किताबमा चित्त नबुझ्नु नै हो । जिल्लामा पहिलो पटक संघको आयोजनामा गरिएको भव्य रूपमा सञ्चालन भएको महोत्सवमा करिब ७५ लाख रकम संकलन भएको थियो । तर, महोत्सवको आर्थिक विभागमा बसेका र अध्यक्षलगायतको टिमले आम्दानी भन्दा खर्च बढी भयो भन्ने कुरा बैठकमा ल्याएका थिए । जसमा रुकुमका व्यवसायीहरु सहमत हुन सकेनन् । महोत्सवबाट उठेको रकमले जिल्लामा एम्बुलेन्स किन्ने लगायतका बिभिन्न अन्य घोषणाहरु गरिएको थियो तर पछि उल्टै घाटामा गएको रिपोर्ट बाहिर ल्याए पनि व्यवसायीहरुले महोत्सवको रकम हिनामिना भएको भन्दै अधिवेशन हुन दिएनन् ।