ढुवानीका साधनलाई पनि समय तालिका
वित्तीय संस्था हप्तामा दुईदिन मात्रै खुल्ने
कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङमा बैंक तथा वित्तीय संस्थाहरु पनि आंशिक रुपमा बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिम तीव्र रुपमा फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिँदै जिल्ला जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु हप्तामा दुईदिन मात्रै खोल्ने निर्णय भएको हो ।
जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को मंगलबार बसेको बैठकले आइतबार र बिहीबार मात्रै बैंक तथा वित्तीय संस्था खुल्ला गर्ने निर्णय गरेको हो ।
जिल्लाभित्र कोभिड संक्रमण व्यापक रुपले फैलिँदै गइरहेकोले मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्न बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरु दुवै दिन १० बजेदेखि १२ बजेसम्म मात्रै खुल्ला राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।
योसँगै डीसीसीएमसी बैठकले ढुवानीका साधनहरुलाई पनि समय तालिका निर्धारण गरेको छ । बैठकले जिल्ला भित्र सञ्चालन हुने ढुवानीका सवारी साधनलाई बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्म मात्रै आवतजावत गर्न दिने र जिल्ला बाहिरबाट आउने ढुवानीका सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र आवतजावत गर्न दिने निर्णय भएको प्रजिअ लुइँटेलले बताए ।
यसअघि पनि डीसीसीएमसी बैठकले जिल्लामा हुन सक्ने संक्रमणलाई रोक्न वैशाख २७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । सुरूमा एक साताका लागि जारी गरीएको निषेधाज्ञा दुई चरणसम्म थप गरी २० गतेसम्म थप भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि यसअघि जारी गरिएका आदेशका अतिरिक्त मिति १३ गतेबाट लागू हुनेगरी थप आदेश जारी गरेको हो ।
प्रशासनले जारी गरेको आदेशहरुको अवज्ञा गरे÷गराइएको पाइएमा संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ एवं कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने समेत प्रशासनले जनाएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि मंगलबारदेखि प्रशासनले थप कडाई गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै थप कडाई गरेको हो ।
प्रशासनले निषेधाज्ञाका पालना नगर्नेलाई हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक गाडी चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुई पांग्रे सवारीलाई दुई हजार र अन्य गाडीलाई पाँच हजार जरिवाना तिराउने व्यवस्था भएको प्रनाउ थापाले जानकारी दिए ।
मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एकसय रुपैयाँ र हिँडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुईसय रुपैयाँ जरिवाना लिन थालिएको प्रनाउ थापाले बताए ।
अध्यादेशमा महामारीविरुद्धको काममा अवरोध पु¥याएमा सम्बन्धित व्यक्ति वा संस्थाका प्रमुखलाई एक वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय, आदेश अटेर गरेमा ६ महिनासम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने प्रावधान रहेको छ । महामारी रोकथामका लागि प्रशासन कार्यालयबाट जारी आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक लाख र संस्था भएमा पाँचलाख रुपैयाँसम्म जरिवाना असुल्ने कडा प्रावधान समेटिएको प्रशासनले जनाएको छ ।