प्रशासनद्वारा २४ घण्टाभित्र मूल्यसूची उपलब्ध गराउन निर्देशन
ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष दिनेश अधिकारीले सोमबार दिउँसो दैनिक उपभोग्य सामग्रीको मूल्यसूची फेसबुकमा सार्वजनिक गरे । प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म पसल खुल्ने सूचनासहित १८ वटा प्रकारका खाद्यान्न सामग्रीको मूल्यसूची समावेश थियो । मूल्य सूचीप्रति अधिकाँश प्रतिक्रिया अर्थात् कमेन्टमा जिज्ञासा थियो, यतिका मूल्य कसरी पुग्यो ? भान्सा कति महँगियो भन्ने झल्को दिनेगरी मूल्यसूचीले आभास गराएको छ । सूर्यमूखी तेल प्रतिलिटर २ सय ८० अर्थात् प्रतिकार्टुन २ हजार ८ सय रुपैयाँ पर्छ । १ कार्टुनमा १० लिटर हुन्छ । जबकि वैशाख २० गतेसम्म प्रतिकार्टुन २ हजार ३ सय रुपैयाँ थियो । प्रतिकार्टुन ५ सयले मूल्य बढेको हो । आयोडिन नुन प्रतिकेजी २५ रुपैयाँमा पाइन्थ्यो । प्रतिकेजी २ रुपैयाँ बढेर २७ रुपैयाँ पुगेको छ । जबकि यो मूल्य सदरमुकामको मात्र हो ।
व्यवसायी अमृत खुदाङका अनुसार प्रतिकिलो ढुवानी (बिर्तामोड–ताप्लेजुङ) ३ रुपैयाँले बढेको छ । निषेधाज्ञा लागू हुनुपूर्व (वैशाख २० गते) प्रतिकेजी ढुवानी ३ रुपैयाँ थियो, अहिले ६ रुपैयाँ पुगेको हो । उनले भने, “पहिले एकतर्फी भाडा दिनुपथ्र्यो । अहिले फर्कंदाको पनि दिनुपर्ने हुन्छ ।” व्यवसायी विकास गौतमका अनुसार मूल्य होइन, ढुवानी खर्च बढेको हो । सवारी साधनले दैनिक उपभोग्य सामग्री मात्र ढुवानी गर्न पाउने प्रावधान छ । त्यही भएर फर्कंदा रित्तो हुने भएकाले गाडीलाई मार पर्ने समस्याले ढुवानी मूल्य बढेको हो । जुनेली चामल ३० केजी प्याकको १ हजार छ सय थियो । नयाँ दर रेटअनुसार २ हजार ५० रुपैयाँ पर्छ । एक महिनाको अवधिमा ३० केजी प्याकको यो चामलमा ४ सय ४० रुपैयाँले बढेको हो । झापामै प्रतिकेजी ८२ रुपैयाँको चिनी अहिले एक सय पर्छ । जबकि यहाँ पनि प्रतिकेजी १ सय रुपैयाँ पर्छ । चिनीमा पनि प्रतिकेजी १० रुपैयाँले वढेको छ । जेठ पहिलो सातासम्म चिनी प्रतिकेजी ९० रुपैयाँ थियो । व्यवसायी गौतमले भने, “हामी बिक्रेता मात्र होइनौ । उपभोक्ता पनि त हौ नि !”
झापास्थित व्यवसायीसँग सम्पर्क गर्दा धान स्टकमा नहुँदा चामलको मूल्य बढेको हो । राजु मिश्र र उदय भट्टराईले मूल्य बढ्नुमा कम्पनी वा व्यवसायीबारे छानबिन गर्नुपर्ने प्रतिक्रिया दिए । भोला पौडेलेले जिल्ला प्रशासनलाई मूल्यसूची ट्याग गरेर लेखेका छन्, “यो अति भयो । अनुगमन गर्ने निकाय छैन ? जनता सधै मार परेर चुपचाप बस्नुपर्ने ?” धेरैले सामाजिक सञ्जालमार्फत मूल्यसूचीप्रति प्रश्न गरेका छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मंगलबार पठाएको पत्रमा २४ घण्टाभित्र मूल्यसूची उपलब्ध गराउन निर्देशन दिएका छन् । उद्योग वाणिज्य संघलाई पठाएको पत्रमा दुई चरणको मूल्यसूची माग गरेको छ । वैशाख २० गते अगाडिसम्मको सामानको मौज्दात र मूल्यसूची तथा वैशाख २० गतेदेखि जेठ १० गतेसम्मको मूल्यसूची उपलब्ध गराउन भनेको छ । कोभिड–१९ बैठकमा पनि मूल्यसूचीप्रति ध्यानाकार्षण गराएका थिए । यो बेला निश्चित समयबाहिर पसल बन्द हुने र अनुगमन गर्ने क्रममा हुने भीडले झनै कोरोनाका जोखिम बढ्ने भएकाले अनुगमन सम्भव नभएको प्रजिअ पाण्डेले जानकारी दिए । यद्यपि अनुगमन सूचना दिएर गर्ने विषय नभएकाले जुनसुकै बेला प्रशासनको नेतृत्वमा अनुगमन हुनसक्छ ।