कुश्मा र पातीचौर खण्ड कालोपत्रे सुरु «

कुश्मा र पातीचौर खण्ड कालोपत्रे सुरु

मध्यपहाडी लोकमार्ग

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको सदरमुकाम कुश्माबजार र मोदी गाउँपलिकाको पातीचौरमा चार लेनमा सडक विस्तार भइरहेको छ । २४ किलोमिटर खण्डमध्ये कुश्माबजार र पातीचौरमा चार लेन सडक बन्ने भएको हो । कुश्माबजारको खरेहादेखि डम्डारेखोलासम्म र पातीचौरको डिमुवादेखि भ्याप्लेसम्मको खण्डमा चार लेन विस्तार भइरहेको छ । सडकमा अहिले नाली, डिभाइडर निर्माण सकेर कालोपत्रे गर्ने कार्य भइरहेको छ ।
लोकमार्गको पर्वत खण्डमा एक महिनामा सबै काम सक्ने लक्ष्य राखिएको छ । लोकमार्ग आयोजना कार्यालयका अनुसार कुश्माबजारभित्रको चार लेन विस्तारमा सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।
पर्वतको सबै खण्ड असारसम्ममा सक्ने लक्ष्य रहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाले निर्माण कार्य रोकिएको छैन । जिल्लाभर अत्यावश्यक सेवा बाहेकका सेवा र राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्ने जिल्ला प्रसासन कार्यालयको निर्णय छ । निषेज्ञाधाका कारण सडकमा सवारीसाधान नगुड्दा काम गर्न सहज भएकाले तीव्र रूपमा निर्माणको काम भइरहेको मरासिनीले जानकारी दिए । कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भए पनि अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो । मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ । बजार क्षेत्रभन्दा बाहिरको मालढुंगा–छमर्के खण्डमा ५ किलोमिटर कालोपत्र गरिसकिएको छ । चुवाको भीर, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भीरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । वि.सं २०७५ वैशाखदेखि सुरु भएको पर्वत खण्ड विस्तारको काम गएको भदौमा सकिनुपर्ने हो ।
कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको छ । मध्य पहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोलासम्मको खण्डको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिएमा कास्की खण्डको काम पूरा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्