Logo

कोरोना केन्द्रित उपचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द

गण्डकी प्रदेशको कोरोना विशेष अस्पताल घोषित पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । तस्बिर : दीपक परियार/कान्तिप’र


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा मंगलबारदेखि ओपीडी सेवा बन्द भएको छ ।
कोरोना महामारीमा पनि प्रतिष्ठानमा दैनिक २ सयजना सेवाग्राही सेवा लिन जाने गरेको अवस्थामा मन्त्रालयको निर्देशनपछि मंगलबारबाट ओपीडी सेवा बन्द गराएको प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बताए । उनले भने, “अहिलेको अवस्थामा हामीले जेनतेन ओपीडीसहित कोभिड उपचार केन्द्र सञ्चालन गर्दै आएका थियौं तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार मंगलबारदेखि कोभिड उपचार केन्द्रकै रूपमा लगेका छौं ।” यसअघि कोभिड उपचार केन्द्रसहित मेडिकल वार्डबाट समेत कोरोनाको उपचार गर्दै आएको प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार मंगलबारदेखि ओपीडी सेवा बन्द गरे पनि तत्काल १० बेडको आइसोलेसन बेड थप गर्ने भएको छ ।
ओपीडी सेवा बन्द भएको अवस्थामा गम्भीर प्रकारका कोभिड तथा नन्कोभिडका बिरामी (सेवाग्राही)ले प्रतिष्ठानको इमर्जेन्सी वार्डबाट समेत सेवा लिनसक्ने व्यवस्था मिलाएको प्रा. डा. खत्रीले बताए । हालै प्रतिष्ठानको निर्देशकमा नियुक्त भएका निर्देशक प्रा.डा. खत्रीले सकेसम्म सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन आफूहरू कटिबद्ध भएको बताए । उनको पहलमा मंगलबारदेखि इमर्जेन्सी वार्डमा एन्टिजेन परीक्षणसमेत हुन थालेको छ । हरेक दिन बिहान ९ बजे र दिउँसो २ बजे एन्टिजेन परीक्षण गरिने छ । यसको नतिजा करिब ३० मिनेटमै दिइने हँुदा सेवाग्राहीलाई सहज हुने प्रा. डा. खत्रीको भनाइ छ । कोरोनाका बिरामी बढेमा ओपीडीबाहेकका अन्य सेवासमेत प्रभावित पारी सबै ध्यान कोभिडमा केन्द्रित हुने उनले जनाए ।
केही बिरामीलाई शंका लागेमा वा स्वास्थ्यकर्मीले कुनै शंका लागेमा समेत एन्टिजेनबाट नेगेटिभ आएको व्यक्तिको पुनः पीसीआर परीक्षणसमेत हुने व्यवस्था मिलाएको प्रा.डा. खत्रीले बताए । प्रतिष्ठानमा ओपीडीमा अन्य समयमा दैनिक १ हजार ४ सयसम्म सेवाग्राही आउने गरे पनि पछिल्लो समयमा दैनिक जसो दुई सयजना सेवाग्राही आउने गरेको प्रतिष्ठानले जनाएको छ । संघिय सरकारको निगरानीमा रहेको प्रतिष्ठानलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्णरूपमा कोभिड–१९ का संक्रमितको उपचार व्यवस्था गर्न निर्देशनबमोजिम आफूहरू त्यसतर्फ केन्द्रित भएको प्रा.डा. खत्रीले बताए ।
प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा सञ्चालनमा रहेको ओपीडी सेवा अर्र्काे सूचना जारी नभएसम्मको लागि कोभिड केन्द्रीय उपचार केन्द्र हुने भएको छ । प्रतिष्ठानमा बुधबारदेखि प्रि—आइसोलेसन कक्षमा १० बेड वृद्धि गरी कोडिभ उपचार केन्द्रको रूपमा विकास गरी बच्चा वार्डमा पनि ४० बेड थप्ने योजना रहेको प्रतिष्ठान कोभिड उपचार केन्द्रका संयोजक डा. शरदचन्द्र बरालले बताए । प्रतिष्ठानमा हाल दैनिक जसो ३ सय ६० वटा अक्सिजन ग्यास सिलिन्डर खपत हँुदै आएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्