बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ «

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई छोटो अवधिका लागि सेयर कारोबार गर्न रोक लगाएको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एक वर्ष भन्दा कम अवधिका लागि लगानी बन्देज गर्नुुका साथै बिक्रीमा समेत कडाइ गरेको छ ।
विद्यमान व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यसै प्रावधानका आधारमा बैकहरु सेयर कारोबारमा केन्द्रीत हुँदा थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।
निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भएपनि सेयर बजारमा सर्वाधिक रकमको कारोबार हुँदै आएको छ । बजारमा सोमबार हालसम्मकै उच्च एकैदिन १३ अर्व १७ करोड ५३ लाख बराबरको कारोबार भएको थियो । मंगलबार पनि बजारमा ११ अर्व १३ करोड बराबरको सेयर किनबेच भएको छ ।
बैंकहरु सेयर कारोबारमा संलग्न हुँदा बजारमा तीव्र उतारचढाव भएको र कारोबारसमेत उच्च भएपछि केन्द्रीय बैंकले सेयर किनबेचमा कडाइ गरेको हो । बैंकहरुले खरिद गरेको सेयर बिक्रीमा समेत कडाइ गरिएको छ । बैंकहरुले सेयर खरीद गरेको एक वर्ष पुगेपछि पनि कूल लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको मात्र बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । तर, बैंकहरुले सोमबारसम्म गरेको लगानी चालु आर्थिक वर्षको असारसम्म बिक्री गर्दा यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसैगरी राष्ट्र बैंकले बैंकहरुलाई लघुवित्त संस्थाको सेयर खरिद गर्न बन्देज गरेको छ । बैंकहरुले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने र सोमबारसम्म खरिद गरेको सेयर २०७८ पुस मसान्तभित्र बिक्री गर्न निर्देशन दिएको छ ।
बैंकहरु सेयर कारोबारमा केन्द्रीत हुँदा चालु आवको चैतसम्ममा बैंकहरुको व्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी भने उच्च वृद्धि देखिएको थियो ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेयर धितो कर्जामा समेत कडाइ गरिएको छ । राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले १८० दिनको औसत मूल्यका आधारमा मात्र सेयर धितो कर्जा दिन पाउने व्यवस्था गरिएको छ ।
निषेधाज्ञाभर जरिवाना लिन नपाउने
राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जामा कुनै पनि प्रकारको जरीवाना वा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मौद्रिक नीतिको त्रैमासिक समिक्षामा उल्लेखित विषय कार्यान्वयनका लागि निर्देशन जारी गर्दै केन्द्रीय बैंकले निषेधाज्ञाको अवधि र निषेधाज्ञा सकिएको एक सातासम्म कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देशन दिनुका साथै निषेधाज्ञा अवधिमा किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्नसक्ने व्यवस्था गरेको हो ।
ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट दिनका लागि सञ्चालक समितिले निर्णय गरी वेबसाइटमा सार्वजनिक गरी पारदर्शी ढंगले लागू गर्न निर्देशन गरेको छ । यस्तै निषेधाज्ञा सकिएको एक महिनासम्म कर्जा उठाउने र लिलामीको सूचना ननिकाल्न समेत निर्देशन दिएको छ ।
यसैगरी निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण तथा केवासी नविरण तथा निष्कृय खाता सञ्चालन ग्राहकको अनलाइनबाटै गर्न सक्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा आधार दरमा कर्जा उपलब्ध गराउन निर्देशन गर्नुका साथै बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत छुट्याएको कोषको रकम कोरोना नियन्त्रणका विभिन्न गतिविधिमा खर्च गर्न पाउने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्