खाद्यान्न र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने
एक साता थप्दै निषेधाज्ञामा कडाइ
काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा थप एक साता थपिएको छ । कोरोना भाइरसको सक्रमण बढ्दै गएपछि नियन्त्रण गर्नका लागि थप एक साता निषेधाज्ञा थपिएको हो ।
खाद्यान्नका पसल, डिपार्टमेन्टल स्टोरसमेत खोल्न नपाइने भएको छ । त्यस्तै अन्य तरकारी, फलफूल, मासु र ग्यासको पसल भने बिहान ९ बजेसम्म मात्र खुल्न पाउने जिल्ला प्रशासन कार्यलय काठमाडौले जानकारी दिएको छ । खाद्यान्नका पसल बन्द हुँदा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि थप समस्या हुने भएको छ । यस्तै तरकारी र फलफूलको थोक बजारमा फुटकर बिक्री गर्न नपाइने भएको छ । तोकिएको तरकारी बजारबाहेक सार्वजनिकस्थल बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न पाइने छैन । यसअघि खाद्यान्न तथा डिपार्टमेन्टल स्टोर बिहान १० बजेसम्म खुला गर्न पाइने व्यवस्था थियो । तरकारी पसलमा मानिसको भीडभाड भएकाले त्यहाँबाट संक्रमण फैलिएको हुनसक्ने आशंकामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने भएको छ । त्यस्तै खाद्यान्नका पसल भने एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।
अत्यावश्यक पसल बिहान ९ बजेसम्म मात्र खुल्दा उपभोक्ताको भीडभाड लाग्ने हुँदा कोरोनाको संक्रमण फैलिने डर हुने उपभोक्ता अधिकारकर्मीको भनाइ छ । औषधि तथा मेडिकल पसल भने जुनसुकै बेलासम्म खोल्न पाइने छ ।
त्यस्तै अनुगमन र कारबाहीलाई पनि कडाइ गर्ने तयारी गरिएको छ । विवाहमा पनि १० जनाबाट घटाइएर ७ जनामात्र सहभागी हुन पाउने छन् । जसमा एउटा गाडी मात्र प्रयोग गर्न पाइने छ । काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच सोमबार बसेको बैठकले एक साता थप निषेधाज्ञा गर्ने निर्णय गरेको हो । पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र थपिएको निषेधाज्ञा बुधबारबाट सकिँदैछ । काठमाडौं उपत्यकाभित्र निषेधाज्ञामा पनि मानिसको आवतजावत कम नभएको भन्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।
यसपटको निषेधाज्ञामा मानिसहरू मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गरिने सूचनामा उल्लेख छ । काठमाडौं उपत्यकाभित्र गत १६ वैशाखदेखि निषेधाज्ञा गरिएको थियो ।