पर्यटक पर्खंदै बाराका गन्तव्य «

पर्यटक पर्खंदै बाराका गन्तव्य

बारामा पर्यटकीय पूर्वाधार भए पनि सम्बन्धित निकाय मौन बस्दा यहाँका पर्यटकीय गन्तव्य ओझेलमा पर्दै गएका छन् । पछिल्ला केही समययता भने स्थानीय संघसंस्थाहरूको चासो बढ्न थालेको पाइन्छ ।
बाराको गढीमाईमा निर्माण भएको समिति निकुन्जमा होटल व्यवसायी संघ र सिम्रौणगढमा स्थानीयले पर्यटन भित्र्याउन पहल थाल्ने भएपछि सकारात्मक सुरुवात देखिएको छ । त्यस बाहेक पनि पर्यटकीय प्रचुर सम्भावना भने बाराले बोकेको छ ।
करोडबढी दर्शनार्थी आउने गढीमाई
प्रत्येक पाँच वर्र्षमा लाग्ने बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मेलामा मेला अवधिभर करोड बढी दर्शनार्थी आउने गरे पनि अन्य समयमा पनि धार्मिक पर्यटक आउने गरेको पाइन्छ । उचित प्रचार र सम्बन्धित निकाय र मन्दिरको संघसंस्था सुस्त रहँदा पनि धार्मिक पर्यटकहरू आउने गरेको हो । मेलाबाहेक अन्य समय प्रचारको अभावले आन्तरिक र भारतीय धार्मिक पर्यटकहरू समेत आउने गरेको स्थानीय राम आशीष महतो बताउँछन् । “मेलाको अवसरमा धेरै बलि चढ्ने गरिएको कारणमात्र गढीमाई मेला विश्वप्रसिद्ध हुन पुगेको हो । त्यस बाहेक मागेको इच्छा पूरा गरीदिने विश्वासका कारण पहिल्यै भाकल गरेकाहरूले मेलाकै समयमा बली दिई चढाउने गर्दा पशुबलीले प्रसिद्धि पाएको हो,” महतो भन्छन् । करोडौं रकम दान दक्षिणामा चढाइएको पाइए पनि लेखाजोखा हुने गरेको पाइँदैन । दक्षिणाकै रकम सदुपयोग गर्न समेत समिति असफल बनेको छ ।
विश्वमै बली चढाउने शक्तिपिठहरूमध्ये पहिलो रहेको गढीमाई मन्दिरको मेलामा भारतबाट मात्रै ६५ प्रतिशत श्रद्धालु भक्तजनहरू आउने र बली समेत भारतीयले नै बढी ल्याउने गरेको मेलाको पछिल्लो तथ्यांकले देखाएको छ ।
मान प्रतिष्ठा, सुख समृद्धि एवं इच्छित सन्तान प्राप्तिका लागि श्रद्धालु भक्तजनले भाकल गर्ने र मनोकांक्षा पूरा भएपछि आ–आफ्ना भाकल अनुसारका बली चढाउने परम्परा यहा रहँदै आएको छ । मुख्य पूजारी मंगल चौधरी रहँदै आएको यस मन्दिरमा शुभसाइतका दिन तान्त्रिक विद्याबाट आफैं दिप प्रज्वलित गराएपछि पन्चबलीको रुपमा सेतो मुसा, सुंगुर, बोका, राँगा, कुखुरा र हाँस बली चढाइन्छ र बली आरम्भ भएको घोषणा गरिन्छ । मन्दिर जान बिभिन्न बाटोहरू रहेका छन । सबै भन्दा सुगम बाटो कलैया बाट ५ किमी पुर्ब रहेको छ भने मंदीर संगै बाराका अन्य पर्यटकीय स्थल समेत घुम्न सकिन्छ ।

पर्यटकीय आकर्षण सिम्रौणगढ
आफ्नो शासनकालमा राजाहरूले अत्यन्तै सुव्यवस्थित किल्लाको रुपमा निर्माण गरेको बाराको सिम्रौणगढ राजधानी पर्यटकीय आकर्षणको रुपमा रहेको छ । ऐतिहासिक दरबार मात्र नभई सिम्रौणगढ क्षेत्र नै पर्यटकको लागि अध्ययन र त्यस बेलाको प्रत्यक्ष अनुभूती पाइने स्थल रहेको हुँदा पर्यटकको आकर्षण देखिएको हो ।
सिम्रौणगढ नगर नै चक्रको आधारमा बनाइएकोले यो गढ शत्रुको आक्रमणबाट बच्न वरपरका ६ वटा माटाको अग्ला विशाल डिल साथै नगरबाट बाहिर–भित्र गर्नुपर्दा काठ र बाँसले बनाइएका झिक्न र राख्न मिल्ने पुल अनि दरबार वरपर पोखरी रहेको जनश्रुती पाइन्छ ।
कलाकृतिले सम्पन्न दरबार क्षेत्र, भव्य कंकाली मन्दिर, विशाल रानीबास, हरीहरपुर, खजहनी, कोतबाली, गढीमाई, तण्डुल पर्वत, पोखरी, कलाकृतिलगाएतका दर्जनौं ऐतिहासिक र धार्मिक स्थानहरू पर्यटकको मन खिच्ने स्थानहरू रहेका छन् ।
आठ बिगाह क्षेत्रमा रहेको पोखरीबीचको कंकाली मन्दिर, २ सय ५० वर्ष पुरानो मंसाराम बाबाको समाधि, रानीबास मन्दिर, कला झल्कने मुर्तिहरू, प्राचीन माटाका भाँडाहरू, राजापिच्छे निर्माण भएका आकर्षक मन्दिर, कलापूर्ण ढुंगेधारा, दरबार वरपर विशाल अनि लामो पर्खाल किल्ला लगाएतका पुरात्तिवक वस्तु र सांस्कृतिक सम्पदाहरू साथै दरबार क्षेत्र आफैंमा पर्यटकको आकर्षण बन्ने प्रष्ट आधारहरू रहेको स्थानीय रामेश्वर मेहता बताउँछन् । कतिपय सम्पदा अतिक्रमणमा परेर नष्ट भएका छन् । मेहता भन्छन्, “स्थानीय कसैमा चासो नहुँदा सिम्रौण क्षेत्रको विकास हुन नसकेको हो । यहाँको पुरातात्विक वस्तु र स्थान हेर्दा पर्यटकलाई त्यस बेलाको झल्को दिन्छ । राज्यले यसलाई जिवीत राख्न अझै बढी ध्यान दिन जरुरी छ ।”
जनप्रतिनिधीहरूले नीति निर्माण तहमा जोडदार आवाज नउठाउँदा सिम्रौणगढले चर्चा नपाएको हो । चौथो शताब्दीतिरका मूर्तिहरू, दरबारका पुराना कुँदिएका प्रस्तर र इँटालाई निजी घरमा व्यक्तिले प्रयोग गर्न थालेपछि दरबार क्षेत्रकै अस्तित्व संकटमा परेको छ । ३ सय ६५ बिगाह जमिनको संरक्षण गुठी व्यवस्थापन समितिले गरेको छ । गुठीअन्तर्गत केही पुजारी, कुचिकार, माली बगैंचे कार्यररत रहेका छन् । अझै जंगबहादुर राणाको वार्षिक श्राद्ध यहाँ हुने गरेको समितिले जनाएको छ ।
त्यस क्षेत्रमा जाने पर्यटकका निम्ती फरक अनुभूति गराउन ठूलो आकारमा रहेको रानीबास दरबार नै उपयुक्त आश्रय स्थल बन्न सक्ने होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए । “दरबारमा ठूलो ठाउँ र फरक अनुभूति गर्न पाउने खुला पर्यटक बस्न रुचाउँछन् । समिति र गुठीले खुल्ला गर्नुपर्छ,” उनले भने ।
बाराको सदरमुकाम कलैयाबाट २२ किलोमिटर दक्षिण पूर्वमा पर्ने सिम्रौणगढ पुग्न कलैयाबाट १ घण्टा र बिरगन्जबाट ढेड घण्टा समयमा सजिलै पुग्न सकिन्छ । तिरहुत राज्यलाई स्वतन्त्र बनाई राजा नान्यदेवले सिम्रौणगढलाई राजधानी स्थापना गरी उनको ७ औं पुस्ता हरिहरसिंहदेवको पालामा सन् १३२६ मा दिल्लीका बादशाह गयासुद्धिनले सिम्रौणगढ आक्रमण गरी ध्वस्त बनाएको इतिहासमा उल्लेख छ । ध्वस्त बनाएपछिका अवशेष र नेपाल एकीकरणपछिका संरक्षण र राणा प्रधानमन्त्रीहरू निर्मित महत्वपूर्ण संरचनाहरू समेत देख्न पाइन्छ ।

पर्यटक कुर्दैे पर्सा राष्ट्रिय निकुञ्ज
पर्यटकका लागि पर्याप्त पूर्वाधार निर्माण भैसकेपछि बाराको आधाभारस्थित पर्सा राष्ट्रिय निकुञ्ज पर्यटक कुरेर बसेको छ । पशुपंक्षी, वन्यजन्तु सजिलै देख्न सकिने र पर्यटकका लागि सबै पूर्वाधार तयार रहँदा पनि व्यापक प्रचार नहुँदा निकुञ्जले पर्यटक कुर्नुपरेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत हरिभक्त कँडेलका अनुसार केही स्वदेशी र भारतीय पर्यटक प्रचारबिना पनि आउन थालेका छन् ।
रैथाने हात्ती जसका लागि यो आरक्ष नेपालमा प्रसिद्ध छ । निकुञ्जभित्र यस्ता हात्तीदेखि ऐतिहासिक कामिनी दह, कर्मकुमारी धारा, शिकारी बास, दुग्धेश्वर महादेव, भेडानदीजस्ता ऐतिहासिक र धार्मिक महत्व बोकेका रमणीय स्थल रहेका छन् ।
निकुञ्जको व्यापक प्रचारप्रसार नहँुदा आन्तरिक साथै बाह्य पर्यटकसमेत यहाँ आउने नगरे पनि वरपरका आन्तरिक पर्यटक भने केही आउन थालेको स्थानीय बताउँछन् । पूरै निकुञ्ज घुम्न दुई दिन लाग्ने र निकुन्जभित्रै यातायातसमेत सबै स्थानमा सजिलै पुग्न सकिने पूर्वाधार रहेको छ ।
पर्यटकहरूलाई जंगल भ्रमण गराउने उद्देश्यले अमलेखगञ्जमा दश वटा हात्ती राखी हात्तीसार निर्माण गरिएको छ । हात्तीसार नजिकै धमाधम रिसोर्टहरू खुलेका छन् । आरक्ष वरपर बजारका आन्तरिक पर्यटकहरूले हात्तीसार उपयोग गर्न थालेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र बाह्रसिंगे मृग, निलगाई, पाटेबाघ, भालु, विश्वमा लोप हुन लागेका काँडे भ्याकुर, सारस, अजिंगरजस्ता वन्यजन्तु र तीन सय प्रकारका पशुपंक्षी रहेका छन् ।
वन्यजन्तुलाई एकत्रित गर्न निकुञ्जभित्र ११ वटा कृत्रिम पोखरी, वन्यजन्तुको बासस्थान नियमित सुधार, पर्यटक हिँड्ने गोरेटो, वन पथ निर्माण, हात्तीसार व्यवस्थापन र पर्यटकीय सूचना केन्द्र निर्माण, होर्डिङ्ग बोर्डहरू रहेको छन् ।
निकुञ्जलाई लक्षित गरेर सिमराका होटलहरूले जंगल सफारी प्याकेज सुरु गरेका छन् । हाम्रो आन्तरिक प्रयासले मात्र पुग्दैन, राज्य आफैंले चिन्नुपर्छ, चिनाउनुपर्छ । यो काम सरकारले नगरेको होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए ।
आरक्षमै पर्यटक लोभ्याउने कामीनी दहलाई जैविक विविधता कार्यक्रमअन्तर्गत जिर्णोद्धार गरी चुरेको मुहानबाट पानी ल्याई पुरानै अवस्थामा फर्काइएको छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नी प्रेमीकाको मृत्युपश्चात उनकै यादमा पोखरी निर्माण गरेको इतिहास छ । कामिनी दहमा वसन्त ऋतुमा साईबेरिया र श्रीलंकाबाट सारस तथा अन्य चराचुरुङ्गीहरू जलक्रिडा गर्न आउने गरेकोे निकुञ्जले जनाएको छ । निकुन्जसँगै जोडिएका बाराको पथलैया, सिमरा, अमलेखगञ्जमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ४ तारेसम्म होटल निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्