Logo

स्रोतसाधन नहुँदा संक्रमित बिरामीको उपचार गर्न समस्या

नेपालसहित विश्वका विभिन्न देशहरूमा यतिबेला कोरोना महामारीको प्रभाव बढ्दै गएको छ । छिमेकी मुलुक भारतबाट सुरु भएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले नेपालमा पनि यतिबेला नराम्ररी प्रभावित बनाएको अवस्था छ । नयाँ भेरियन्टसहित प्रवेश गरेको भाइरसले मुलुकका विभिन्न स्थानमा अक्सिजन अभावलगायत स्वास्थ्य सामग्री अभाव भइरहेको अवस्था छ । यसैगरी कञ्चनपुरको माहाकाली नदी पारि अवस्थित दोधरा चाँदनी नगरपालिका पनि महामारीबाट नराम्ररी प्रभावित बनेको छ । छिमेकी मुलुभ भारतसँग खुला सिमानाका रहेको यस नगरपालिकामा दिनप्रति दिन कोरोना संक्रमित बढ्दै गएका छन् । संक्रमित दिनानु दिन बढ्दै गएपछि उपचारमा पनि समस्या भएको छ ।
“दोधरा चाँदनी नगरपालिका भारतसँग सिमानाका जोडिएको नजिकको नगरपालिका हो, अहिले निषेधआज्ञाको समय भए पनि खुला सिमानाकाको फाइदा उठाएर अवैद रूपमा नेपाल प्रवेश गर्ने नेपाली नागरिक भने प्रशस्त मात्रामा भेटिने गर्छन् ।” दोधरा चाँदनी नगरपालिकाका प्रवक्ता दिनबहादुर सिजालीले भने, “हालसम्म नगर क्षेत्रमा रहेका नागरिकमध्ये ८ सय ११ जनामा एन्टिजेन टेस्ट भएको छ, जसमध्ये २ सय ७५ जनामा भने कोरोना पोजेटिभ देखिएको अवस्था छ ।” कोरोना पोजेटिभ आउने क्रम बढ्दै गएपछि नगर क्षेत्रमा संक्रमित बिरामीको उपचार गर्न समस्या भएको प्रवक्ता सिजालीले बताए ।
नगरपालिका भरी एकमात्र ठूलो अस्पताल भनेको दोधरा प्राथमिक स्वास्थ्य केन्द्र हो । जसलाई नगरपालिकाले अहिले नगरको कोभिड अस्पताल पनि बनाएको छ । अस्पतालबाट प्रदान हुने अन्य सेवा सुविधा भने नगरपालिकाले चाँदनी स्वास्थ्य केन्द्रबाट दिने गरेको छ । योसँगै नगर क्षेत्रमा संक्रमित भएर सिगिस्थ हुने बिरामीलाई भने सदरमुकाम स्थित महाकाली अस्पतालमा पठाउने गरिन्छ । तरपनि संक्रमित दिनानु दिन बढ्दै गएपछि भने नगरपालिका क्षेत्रको समुदाय स्थरमा पनि कोरोना फैलिएको अवस्था छ ।
“दोधरा चाँदनी नगरपालिका महाकाली नदी पारि भएकोले विगतदेखि हाल सम्म पिछाडिएको र पिछडिएको नगरपालिका भित्र पर्ने गर्दछ, नगर क्षेत्रमा कोरोना सँग जुध्नको लागि आवश्यक स्रोतसाधनको निकै कमी पनि रहेको छ ।” प्रवक्ता सिजालीले भने, “दिन प्रतिदिन संक्रमित बढ्दै गए पनि नगर क्षेत्रको समुदाय स्थरमा पनि कोरोना फैलिएको छ, यसले गर्दा दैनिक अस्पतालमा उपचार गराउन आउने बिरामीलाई उपचार दिलाउन पनि समस्या भएको छ ।” यो सँगै नगर क्षेत्रको स्वास्थ्य केन्द्रमा अकिसजनको अभाव पनि भएको छ । अस्पतालसँग २७ वटा मात्र सिलिन्डर छन् । यसले गर्दा १ लाख हाराहारीको नगरबासीको उपचारमा समस्या आउने सम्भावना छ ।
यसैगरी प्राथमिक स्वास्थ्य ेकन्द्रमा कार्यरत डाक्टर रजित भारतीका अनुसार अस्पतालमा आइसियु भेन्टिलेटर लगायतका केही उपकरणहरू नभएका कारणले पनि उपचारमा समस्या भएको उनको भनाई छ । “प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पताल बनाएको भएपनि स्वास्थ्य उपकरणको भने निकै कमी भएको अवस्था छ, यसले गर्दा बिरामीलाई तत्काल उपचार गर्न निकै नै समस्या हुन्छ ।” डाक्टर भारतीले भने, “कोरोनासँग जुध्ने आवश्यक उपकरण नहुँदा संक्रमित बिरामीलाई जटिलखालको अवस्थामा उपचार गर्न सक्ने सम्भव पनि हुँदैन ।” योसँगै अस्पतालमा औषधिलगायत अन्य कुराको पनि अभाव रहेको छ । अस्पताल सानो भएको भएपनि संक्रमितको सङ्ख्या बढ्दै गएपछिको अवस्थामा भने अस्पतालले धान्ने अवस्था नहुने उनले बताए ।
फोटो ः दोधरा प्राथमिक स्वास्थ्य केन्द्र ।

प्रतिक्रिया दिनुहोस्