योगेश भट्टराईले घरभाडा फिर्ता गर्ने «

योगेश भट्टराईले घरभाडा फिर्ता गर्ने

प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले घरभाडा बापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने भएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले घरभाडा वापत उनको नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको ९० हजार फिर्ता गर्ने वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई अनुरोध गरेको जनाएका छन् ।
भट्टराईसहितका सांसदहरुले काठमाडौंमै घर हुँदाहुँदै पनि घरभाडा वापतको रकम लिइरहेपछि उनीहरु विवादमा परेका थिए । ‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु,’ उनले भनेका छन्, ‘सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।’ भट्टराईको काठमाडौं घट्टेकुलोमा घर छ ।

प्रतिक्रिया दिनुहोस्