एकैदिन सवा १३ अर्बको सेयर कारोबार «

एकैदिन सवा १३ अर्बको सेयर कारोबार


सेयर बजारमा सोमबार एकैदिन सवा १३ अर्ब रुपैयाँको कारोबार भएको छ । निषेधाज्ञाले आर्थिक कारोबार ठप्पप्रायः भएपनि अनलाइनमार्फत सेयर किनबेच गर्न सकिने सुविधाका कारण बजारमा उच्च कारोबार भएको लगानीकर्ताहरुको भनाइ छ ।
सोमबार सेयर बजार सूचक (नेप्से) विन्दु र कारोबार रकम दुवैमा उच्च रेकर्ड कायम गरेको छ । साताको दोस्रो दिन नेप्से ३.०७ अंकले बढेर २८२३.०६ अंकमा पुग्दा १३ अर्व १७ करोड ५३ लाख बराबरको कारोबार भएको हो ।
यसअघि गत साता आइतबार बजारमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस सातको आइतबार पनि नेप्सेले २८२० अंकमा रेकर्ड कायम गर्दा ११ अर्ब ६९ करोड बराबरको कारोबार भएको थियो ।
स–साना राजनीतिक घटनाले पनि उतारचढाव देखिने सेयर बजारमा संसद् विघटन र निर्वाचनको घोषणाको असर सकारात्मक देखिएको छ । यसबेला भने राजनीतिक कारण भन्दा पनि निषेधाज्ञाका कारण लगानीका अन्य क्षेत्र संकुचन हुँदा सर्वसाधारण लगानीकर्तादेखि बैंकहरु समेत संस्थागत रुपमा सेयर कारोबारमा आकर्षित भएसँगै बजारमा उच्च कारोबार भइरहेको छ । यसैगरी बैंकहरुको व्याजदर घटेको र अन्य क्षेत्रमा लगानी नहुँदा सेयर धितो कर्जालाई प्राथमिकता दिँदा बजारमा सकारात्मक असर परेको छ ।
सोमबार नेप्से सामान्य वृद्धि भए पनि अधिकांश समूहगत परिसूचक भने घटेका छन् । यसदिन बजारमा सबैभन्दा बढी हिस्सा भएको बैंकिङ समूह ४.०८ अंकले बढेको छ । यसैयरी जलविद्युत ५.२, निर्जीवन बिमा १९६.६४, म्युचुअल फण्ड ०.०९ र लगानी समूह १.४१ अंकले बढेका छन् । यसैगरी व्यापार समूह ५७.६, होटल तथा पर्यटन १७, विकास बैंक ३२.९, फाइनानन्स ३६.४२, उत्पादन ४७.८२, अन्य ९.३१, लघुवित्त ५.३७ र जीवन बिमा समूह ५५.६१ अंकले घटेका छन् ।
सोमबार कुल २१६ कम्पनीको सेयर कारोबार भएकोमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । ६८ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर छ । यसदिन सबैभन्दा बढी जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । बरुण, युनाइटेड मार्दी, माउन्टेन हाइड्रोको सेयर बढेको छ । यस्तै एक्सल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्