जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

लमजुङ सदरमुकाम बेसीसहरस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पतालमा उपकरण जडान भएको हो ।
अक्सिजन प्लान्टका लागि गण्डकी सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो । चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ हुँदै आएको थियो । हाल आवश्यक उपकरण ल्याई जडान गरिएको र शनिबार परीक्षण उत्पादन गरिएकोे अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले बताए । प्लान्टले दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने श्रेष्ठको भनाइ छ ।
उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत आईसीयू, आइसोलेसन, इमर्जेन्सी, अन्तरंग (वार्ड) र प्रसूति वार्डमा पठाइने छ । अस्पतालमा आइसोलेसनसहित ८२ शैय्यामा पाइपलाइनमार्फत अक्सिजन जोडिएको अस्पताल प्रमुख श्रेष्ठले बताए । अक्सिजनसहित २५ शैय्याको आइसोलेसन रहेको जिल्ला अस्पतालमा हाल अक्सिजन बैँकमार्फत अक्सिजन उपलब्ध गराइएको अस्पतालले जनाएको छ । हाल कोभिड–१९ का संक्रमित आइसोलेसनमा राखेदेखि दैनिक १५ वटा ठूलो सिलिन्डर खपत हुने गरेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।
कोभिड–१९ का संक्रमित थपिँदै जाने र उनीहरूमा गम्भीर समस्या देखिन थालेमा जिल्लामै उत्पादित अक्सिजनले पनि नपुग्ने अस्पतालको भनाइ छ । जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट केही राहत हुने भए पनि अस्पतालको सम्भावित जोखिमका लागि पर्याप्त नहुने अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।
जिल्ला अस्पताललाई कोभिड संक्रमणका बिरामीको उपचारलाई प्रभावकारी तुल्याउने उद्देश्यले प्रदेश सरकारले यसअघि नै भेन्टिलेटरसहितको आईसीयू कक्षका लागि उपकरण खरिद गरे पनि आवश्यक दक्ष जनशक्ति नहुँदा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालन हुन सकेको छैन । जिल्लामा भेन्टिलेटरसहितको आईसीयू नहुँदा गम्भीर समस्या भएका बिरामी उपचारका लागि जिल्ला बाहिर जान बाध्य छन् ।