कोरोनाका कारण यार्सागुम्बा संकलनमा रोक
जडिबुटीको खानी मानिएको मुगु जिल्लामा कोरोनाका कारण यार्सागुम्बा संकलनमा गाउँपालिकाले रोक लगाएपछि करोडौं मूल्यको जडिबुटी वनमै कुहिने भएको छ ।
पछिल्लो समय कोभिड–१९ को दोस्रो लहरले सदरमुकामदेखि गाउँबस्तीसम्म फैलिएकाले मुगुमकार्मारोङ गाउँपालिकाको जेठ २ गते बसेको कार्यपालिका बैठकले यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको छ । वैशाख १८ गते बसेको कार्यपालिकाको बैठकले जेठ १० गतेबाट यार्सागुम्बा संकलन खुल्ला गर्ने निर्णय गरेको थियो । विस्तारै गाउँपालिका पनि कोरोनाबाट अछुतो नरहेकाले पुनः यार्सागुम्बा संकलन बन्द गर्नुपरेको मुगमकामारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।
जडिबुटीको खानी मानिएको यस गाउँपालिकाको वडा नम्बर २ मा रहेका सानाकोकी, ठूलोकाखी, हाङदाङ, टाके, रिमाड, छापाकोलालगायत आधा दर्जनभन्दा बढी पाटनमा पाइने बहुमूल्य जडिबुटी पाइन्छ । यार्सागुम्बा संकलनमा गाउँपालिकाभित्र र बाहिरका मानिसको भीड हुने भएकाले कोरोनाबाट बच्न यस वर्ष यार्सा संकलनमा रोक लगाएको मुगमकामारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।
मुगमकामारोङ गाउँपालिकामा रहेका स्थानीयबासीको मुख्य आयस्रोत भनेको नै यार्सागुम्बा, चिराइतो, जटामासी, कुट्की, धुपी, अतिस, सुगन्धवाललगायत दर्जनांै जडिबुटी संकलन व्यापार गर्नु हो । पछिल्लो २ वर्ष कोरोनाका कारण जडिबुटी संकलनका बन्द गरेपछि मुगमकामारोङ गाउँपालिकामा रहेका स्थानीयलाई जीवन निर्वाहमा समेत असर परेको स्थानीयबासीको गुनासो छ ।
विगतका वर्षमा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि बालबच्चा, युवायुवती, विद्यार्थीसमेत पाटन क्षेत्रमा जाने गरेका थिए ।