गैरआवासीय नेपाली संघद्धारसहयोग प्रदान

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसीले २० जुन २०१६ का दिन अफगानिस्तानको काबुलस्थित क्यानाडा दूतावासनजिकै तालिवानको आक्रमणमा परी मृत्यु भएका नेपालीका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । आक्रमणमा १३ जना नेपाली सुरक्षा गार्डले ज्यान गुमाएकामा११ जना मृतकका परिवारलाई जनही १ लाखको चेक गैरआवासीय नेपाली संघको सचिवालयमा सोमबार हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा संघका महासचिव डा. बद्री केसीले मृतकका परिवारसमक्ष समवेदना प्रकट गर्दै विदेशमा रहेका नेपालीहरूले संकलन गरेर सहयोग स्वरुप पठाएको रकम सद्भावस्वरूप हस्तान्तरण गरिएको बताए । बाँकी २ जनाको सहयोग रकम सचिवालयमा रहेको र आवश्यक कागजात लिई सचिवालय आएमा सो रकम हस्तान्तरण गरिने पनि उनले जानकारी दिए ।
कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले त्यस विभत्स घटनामा दिवगंत भएका गैरआवासीय नेपालीहरूका परिवारसमक्ष हार्दिक समवेदना प्रकट गर्दै सहयोग रकम लिन आएकोमा आभार प्रकट गरे । उनले एनआरएनए वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुखदुःखमा जहिले पनि सँगसँगै रहेको र भविष्यमा पनि उनीहरूको हकहितमा कार्यरत रहने पनि बताए । यसका साथै उनले नेपालको समृद्धिमा हातेमालो गर्न पनि आह्वान गरे ।
कार्यक्रममा रसियाबाट प्रतिनिधित्व गर्ने आईसीसी सदस्य डा. एकनारायण चापागाईं, एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकाल र सचिवालयको सहभागिता रहेको पनि संघले जनाएको छ ।