लघुवित्तहरू ‘हाइ टच’बाट ‘लो टच’ मोडलमा जाने बेला भएको छ «

लघुवित्तहरू ‘हाइ टच’बाट ‘लो टच’ मोडलमा जाने बेला भएको छ

हरिकृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा

गरिबीको रेखामुनी रहेका व्यक्ति र समुदायमा लगानी गर्दै उनीहरुको आयस्तर बढाउने उद्देश्यले खुलेका लघुवित्त वित्तीय संस्थाहरु अहिले बढी नाफा केन्द्रित र व्यापारिक भएको भन्दै आलोचना भइरहेको छ । नेपालमा झण्डै १०० को हाराहारीमा पुगेका लघुवित्त संस्थाहरु अहिले मर्जर तथा प्राप्ति र नयाँ लाइसेन्स नदिँदा ७४ वटा मा सीमित भएका छन् । अहिले भएका लघुवित्त वित्तीय संस्थाहरु के कसरी काम गरिरहेका छन् ? यसले समाजलाई कसरी सकारात्मक प्रभाव पारिरहेको छ र लघुवित्त वित्तीय संस्थाका समस्या के के छन् भन्ने विषयमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

निषेधाज्ञामा लघुवित्तहरुले कसरी सेवा प्रदान गरिरहेका छन् ?
–कोभिडको संक्रमण बढदै गएपछि लघुवित्त बैंर्कस सघंले सूचना जारी गरेर सबै वित्तीय संस्थाहरुलाई संक्रमण फैलन नदिन सुरक्षाका मापदण्डहरु पालना गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन पूर्णरूपमा पालना गरी सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न अपील गरेको छ । प्राय जसो लघुवित्तहरुले पालना गरेका पनि छन् । यस असहज परिस्थितिमा लघुवित्त वित्तीय संस्थाहरुले सीमित कर्मचारी राखी अत्यावश्यक वित्तीय सेवाहरु मात्रै प्रवाह गरेका छन् र कार्यालय पुरै बन्द गर्न पनि नसकिने अवस्था पनि छ । कतिपय ठाउँमा लघुवित्त वित्तीय संस्थाको मात्रै उपस्थिति भएको हुँदा ग्राहकहरुले यस असहज परिस्थितिमा उनीहरुको बचत निकाल्न आइरहेका छन् ।

तपाइँहरुले स्पर्स लघुवित्तलाई प्राप्ति गरेपश्चात कारोबार र व्यवसायको आकार कस्तो देखिएको छ ? अबका नयाँ योजनाहरु के छन ?

–हामीले यही २०७८ वैशाख ८ गते एकीकृत कारोबार सम्पन्न गरेका हौं । एकीकृत कारोबार पश्चात हाल हाम्रो लगानी ६ अर्ब भन्दा बढी रहेको छ । बचत २ अर्ब पुगेको छ, त्यसैगरी शाखा संख्या १०२ भएको छ भने ग्राहक संख्या एक लाख २३ हजार चार सय १४ जना र कर्मचारी संख्या ४५० जना भएका छौं । जहासम्म नयाँ योजनाको कुरा गर्नु भयो हामीसँग योङ टिम छ । हामी राम्रोमा नराम्रो खोज्दैनौं, नराम्रोमा पनि राम्रोे खोज्ने गर्दछौ । तसर्थ अब यो कोभिडको बेलामा डिजिटलाइज्डका कामहरु अगाडी बढाइरहेका छौं र शहरबाट गाउँ फर्केका मानिसहरुलाई कसरी लघु उद्यमी बनाउने भन्ने बारेमा छलफल गरी केही कर्जाका प्रडक्टहरु लन्च गरेका छौं । जुन कर्जाका प्रडक्टहरुमा १२ प्रतिशतमै कर्जा प्रवाह गरिरहेका छौं ।

कोरोना माहामारीको प्रभाव र निषेधाज्ञाको प्रभावले लघुवित्त क्षेत्रमा कस्ता समस्याहरु आएका छन् ?

–विश्वव्यापी रुपमा फैलिएको कोरानाले समस्या नल्याउने भन्ने त कुरै हुँदैन । राष्ट्र बैंकको अध्ययन अनुसार गत वर्षको लकडाउनका कारण ६१ प्रतिशत उद्योगहरु पूर्णरूपमा बन्द हुँदा २२.५ प्रतिशतको कर्मचारी कटौती भएको देखिन्छ । १८.२ प्रतिशतले तलब भत्तामा कटौती गरेका थिए । मुख्यतया शिक्षा, होटल, रेष्टुरेन्ट, यातायात जस्ता क्षेत्र बढी प्रभावित भएका छन् । अन्य क्षेत्रमा पनि असर रहेको हुँदा लघुवित्त क्षेत्रमा असर नपर्ने भन्ने हुँदैन । तथापी कोभिडको असर कमसँगै विस्तारै लघुवित्त वित्तीय क्षेत्रले पनि लय लिँदै थियो । पुनः दोस्रो चरणको कोभिडले फेरि समस्या हुन थालेको छ । अब यो कति समय रहन्छ भन्ने नै हो । लामो समय रहयो भने यसले कर्जा प्रवाह र असुली दुवैमा नकारात्मक प्रभाव पार्ने देखिन्छ ।

लघुवित्तहरुको व्याजमा क्याप लगाउँदा पनि नाफामा असर परेन त ?

–यो भन्दा पहिला धेरैजसो लघुवित्तहरुको व्याज १८ प्रतिशत थियो अहिले राष्ट्र बैंकले १५ प्रतिशत भन्दा बढी लिन नपाउने भनेर तोकिदिएको छ । तर तेस्रो त्रैमासमा व्याजको असर देखिएन । किनकि वित्तीय संस्थाहरुको सापटीको लागत घट्यो (बेसरेट भन्दा कममा पनि पैसा पाइयो) । अब बेसरेट घटेर दिन नपाइने भन्ने व्यवस्थाले त्यसपछि बल्ल ब्याजको असर देखिन्छ जस्तो लाग्छ । हाम्रै हकमा हेर्नु हुन्छ भने अघिल्लो वर्षको चैतमा कोषको लागत १०.६८ प्रतिशत थियो अहिले आएर ५.३० छ । अनि नाफामा असर पर्नु स्वभाबिकै त हो । अब बैंकहरुलै विस्तारै ब्याज बढेको पत्राचार गर्न थालिसकेका छन् । अब विस्तारै ब्याजमा लगाएको क्यापको असर देखिएला जस्तो लाग्छ ।

लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको स्रोतको बारेमा बेलाबेला बहस हुने गर्छ । खासमा स्रोतको व्यवस्थापन चाँही कसरी भइरहेको छ ?

–हालको स्रोतलाई हेर्दा ग्राहकको बचतबाट लगभग ३७ प्रतिशत कभरेज गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको लगभग ५५ प्रतिशतको कभरेज छ । बाँकी आफ्नै पुँजीले कभरेज गरेको अवस्था छ । जुन ५५ प्रतिशत सापटी छ, त्यसको ब्याजदरको उतराचढाबले ब्यालेन्स सिटमा पनि असर परेको छ । प्रत्येक त्रैमासमा ब्याजदर कता जान्छ भनेर डराइरहनु पर्ने अवस्था छ । यसलाई अन्त्य गर्न नेपाल सरकारले कर आम्दानीको २ प्रतिशत मात्रैको एउटा कोष बनाएर राखीदिने हो भने पनि सधैं डराइहनु पर्ने अवस्थाको अन्त्य हुन्छ । चालु आर्थिक वर्षको कर आम्दानी ८.८९ खर्ब भनेर अनुमान गरी बजेट बनाइएको अवस्था हा । ८.८९ खर्ब भनेको लगभग ९ खर्ब नै हो, यसको २ प्रतिशत मात्रै १८ अर्ब हुन्छ । यसमा राष्ट्र बैक तथा लघुवित्त संस्थाहरुले नाफाको केही प्रतिशत जम्मा गर्दै जाने हो भने केही वर्षमा यसको आकार ठूलो हुन्छ र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेको बेलामा यस्ता कोषलाई प्रयोग गरी ब्याजदरलाई एउटा लेबलमा राख्न सक्यौं भने भोली आकार ठूलो हुँदा ऋणीहरुसँग लिने ब्याजदर पनि घटाउन सकिएला जस्तो लाग्छ । अब यो लघुवित्त क्षेत्र सानो छैन जीडीपीको औषत १० प्रतिशतको हाराहरीमा पुगिसक्यो । यस क्षेत्रमा समस्या आयो भने धेरै कुरामा असर पर्दछ । तसर्थ कोषको व्यवस्थापनका लागि नेपाल सरकार, राष्ट्र बैंक तथा यस क्षेत्रका सरोकारवाला निकायसँग छलफल गर्नु पर्दछ ।

प्रसङ्ग बदलौं, अहिले लघुवित्त क्षेत्रमा मर्जरको निकै चहलपहल छ । मर्जर पश्चात कति संस्था रहलान् र ? नेपालको परिप्रेक्षमा कति वटा लघुवित्त आवश्यक हो ?

–मैले लगानीकर्ताहरुको त कसरी निक्र्यौल गर्न सक्छु र ? तर पनि मेरो व्यक्तिगत विचार भने सेयर गर्न सक्दछु । पहिला के जान्न जरुरी छ भने लघुवित्त क्षेत्रमा ब्रतबन्ध गर्ने उमेरदेखि लिएर विवाह गर्ने उमेर पुगेका संस्थाहरु छन् । ती सबैलाई एकै ठाउँमा राखेर जाँच्दा अन्याय हुन्छ । साना संस्थालाई भने पक्कै गाह्रो छ । राइट सेयरबाट पँजुी पनि वृद्धि गर्न नपाइने र कम पुँजी भएका संस्थाहरु तर एक प्रदेश भन्दा बढी प्रदेशमा पनि कार्यक्षेत्र बिस्तार गरी कार्यक्रम गरिरहेकालाई २०७८ असारसम्ममा राष्ट्रियस्तरको हुनु पर्ने वा प्रदेशस्तरीय रहनु पर्ने प्रावधानले पनि अप्ठ्यारो पारेकोे हुँदा क्षेत्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरुमा मर्जर चासो राखेको देखिएको छ भने राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरु पुँजी कोष पर्याप्त नहुँदा व्यवसाय विस्तारमा अप्ठ्यारो महसुस गरी मर्जरका लागि तयार भएको अवस्था छ । तर मर्जरले पनि पुँजी कोषमा असर नपर्ने जस्तो देखिन्छ । दुवै पुँजी कोष टाइट भएको संस्था मिल्दा पनि रिजल्ट त उही हो । अब तपाइँको प्रश्नमा आउँदा यति नै हुनु पर्दछ, अनि बल्ल ठिक हुन्छ भनेर अध्यन गरिएको विषय छैन । लघुवित्तको कुल चुक्ता पुँजी भनेको २३ अर्ब मात्र हो । घटीमा एउटा लघुवित्तको चुक्ता पुँजी १ अर्ब हुनुपर्दछ भन्ने मान्यता राख्यो भने पनि जम्मा २३ वटा हुन्छ । तसर्थ २०–२५ को हारहारी भए राम्रो हुने देख्छु ।

कर्जाको पहुँच र वित्तीय साक्षरतामा लघुवित्तको कस्तो भूमिका रहेको छ ?
जहाँसम्म कर्जा पहुँचको कुरा छ, २०७७ चैतसम्ममा ग्राहक सदस्य र ऋणीको अनुपात हेर्ने हो भने ५९ प्रतिशत छ । त्यसैगरी ‘क’ वर्गको वाणिज्य बैंकको ४ प्रतिशत, ‘ख’ वर्गको विकास बैंकको ७ प्रतिशत र ‘ग’ वर्गकोमा पनि जुन ७ प्रतिशत मात्रै हो । अब भन्नुस् कर्जाको माग नभएको रहेछ त ? सहजताका साथ उपलब्धतामा भर पर्ने रहेछ । अब कुरा गरौं वित्तीय साक्षरताको । थैली र पटुकाका पैसा झिकेर वित्तीय प्रणालीमा ल्याउने काम त लघुवित्तहरुले नै सुरू गराए । बैंक तथा वित्तीय संस्थाका बारेमा ज्ञान नरहेकालाई यसको महत्व बारे जानकारी गराए । मध्य अप्रिलसम्मको रिपोर्ट हेर्दा हामीले दुर्गम मानेको कर्णाली प्रदेशमा ‘क’, ‘ख’, ‘ग’ भन्दा ‘घ’ वर्गका लघुवित्तका शाखा संख्या बढी छन् । यसैबाट पनि अनुमान लगाउन सकिन्छ कि दूरदराजमा रहेका विपन्न वर्गमा वित्तीय साक्षरताको काम सन्जिवनी बुटीको रूपमा लघुवित्त वित्तीय संस्थाहरुले गरीरहेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले टेक्नोलोजीलाई खासै प्राथमिका किन नदिएका होलान् ? टेक्नोलोजीमा त खासै फड्को मार्न सकेन नी ?
– लघुवित्तहरुले टेक्नोलोजीमा फड्को नमारेकोे होइन । हिजो ढड्डा सिष्टम थियो । विस्तारै परिस्कृत भएर अहिले प्रायजसो अनलाइन बेशमा आइसके । एसएमएस, ई–पासबुक, टयाबलेट बैंकिङ, ई–सेवाबाट किस्ता तिर्ने व्यवस्था सुरू भइसकेका छन् । विस्तारै नयाँ प्रविधिहरूसँग फेमिलियर हुँदै अगाडी बढिरहेको अवस्था छ । अहिले लघुवित्तको प्राथमिकता भनेको उच्च प्राविधिक मोडल हो । फिल्डमा नै गएर सबै उपस्थित भई लामबद्ध गराई बचत संकलन, किस्ता असुली तथा कर्जा माग गराउने जस्ता कार्यहरु हुँदै आएका छन् । यही मोडलले अहिले अप्ठ्यारो बनाएको अवस्था छ । तसर्थ अब विस्तारै प्रविधिको प्रयोग गरी हाइ टच मोडलतर्फ जानुको विकल्प छैन ।

बेला बेलामा लघुवित्त सम्बन्धि नकारात्मक समाचारहरु आइरहेका छन्, त्यसबारेमा तपाइँको धारणा के छ ?
–लघुवित्तमा अहिले ४९ लाख २८ हजारले लघुवित्त वित्तीय संस्थासँग वित्तीय कारोबार गर्दछन् । तीमध्ये २८ लाख ५५ हजारले त कर्जाकै कारोबार गर्दछन् । ४९ लाख २८ हजार भनेको एक महिनामा २५ दिनै कारोबार भयो भने पनि लगभग २ लाख व्यक्तिले एक दिनमा वित्तीय कारोबार गर्दछन् । लघुवित्त क्षेत्र अपवादमा एक दुई जनाको समस्या आयो भने त्यसलाई लिएर पुरै लघुवित्त क्षेत्रलाई नै समेटेर समाचार बन्नु दुखद विषय हो । त्यस्ता घटना घट्नु हुँदैन । कतै घटेका छन् भने पनि आगामी दिनमा सजग भई त्यस्ता घटनालाई निराकरण गर्दै जानु पर्छ ।

प्रतिक्रिया दिनुहोस्