सुनसरी–मोरङ औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द «

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द

विराटनगर-कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण र रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण वितरण प्रणाली ठप्प हुँदा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द भएका छन् ।
चामल, दाल, तेल, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक केही वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन भए पनि रड, सिमेन्ट, चाउचाउ, बिस्कुट, जुस, जुट, धागो, फलामे डन्डी, जस्तापातालगायतका उद्योगहरू बन्द भएका छन् । वितरण प्रणाली ठप्प हुँदा उद्योगहरू बन्द भएको उद्योगी सञ्चालक बताउँछन् । उत्पादित वस्तु बजारसम्म पुग्न नपाउँदा गोदाममै थन्किएर बसेको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश–१ का उपाध्यक्षसमेत रहेका उद्योगी नवलकिशोर काबराले यस क्षेत्रका ८० प्रतिशत उद्योग बन्द भइसकेको उल्लेख जानकारी दिए । कोरोनाको कहर अझै लम्बिँदै गए अन्य उद्योग पनि बन्द हुने उनको भनाइ छ । काबरा भन्छन्, “उपभोक्ताको आम्दानीका स्रोतहरू ठप्प भएको अवस्था छ । यस्तो अवस्थामा अति आवश्यक वस्तुबाहेक अन्य क्षेत्रमा खर्च गर्ने अवस्था छैन । निर्माणका कामहरू ठप्प छ । जसका कारण उत्पादित वस्तुको खपत नभएपछि उद्योग सञ्चालन गर्नुको अर्थ छैन ।”
क्वालिटी बिस्कुटका सञ्चालकसमेत रहेका काबराले सुनसरीको दुहबीस्थित उद्योगको क्षमता ७० प्रतिशत कटौती गरिएको बताए । सञ्चालक काबराले दैनिक ५० टन उत्पादन गरिरहेको उद्योग १५ टन उत्पादनमा साँघुरिएको जानकारी दिए । उनको चाउचाउ उद्योग क्वालिटी नुडल्स पनि ३० प्रतिशत क्षमतामा चलिरहेको छ । “बैंक बन्द छ, ढुवानी ठप्प छ, कामदारको आवागमन सहज छैन,” उनले भने, “यति धेरै समस्या छन् भनेर साध्य छैन । बैंक नै बन्द गरिएपछि कामदारलाई साप्ताहिक भुक्तानी गर्न पनि समस्या भएको छ ।”
काबराले अति आवश्यक वस्तुको निर्यातमा प्रशासनले सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । यस क्षेत्रका उत्पादन पूर्वका साथै काठमाडौं, पोखरा, वीरगन्ज, बुटवल, जनकपुर, नेपालगन्जलगायत मुलुकका प्रमुख सहरमा जाने गरेको थियो । तर, अहिले स्थानीय बजारसम्म पनि पु-याउने अवस्था नभएको उनले गुनासो पोखे ।
गत वर्षको लकडाउनमा शतप्रतिशत क्षमतामा उत्पादन र कारोबार गरेका खाद्यवस्तुका उद्योगलाई नेपाल र भारतको कडा लकडाउनले यस पटक बन्दको अवस्थामा पु-याएको हो । गुडलाइफ ब्रान्डका बिस्कुटका उत्पादक सुनसरीमा सञ्चालित एसियन बिस्कुट इन्डस्ट्रिज गत शुक्रबारदेखि बन्द भएको छ । उद्योगका सञ्चालक महेश जाजूले दैनिक ४० टन उत्पादन क्षमताको एसियन बिस्कुट अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जानकारी दिए ।
“लकडाउन सुरु भएपछि हामीले उद्योगको क्षमता क्रमशः घटाउँदै लग्यौं,” सञ्चालक जाजूले भने, “उत्पादनले सबै गोदाम भरिइसकेका छन् । पूर्व–पश्चिम, उत्तर–दक्षिण कतैबाट पनि मालको अर्डर आउँदैन । अर्डर आए पनि पु¥याउन समस्या छ । यस्ता अवस्थामा उत्पादन गर्ने अवस्था रहेन र उद्योग बन्द गर्ने निर्णयमा पुग्यौं ।”
उनले गत वर्षको लकडाउनमा मानिस नडराई बजारसम्म निस्किए पनि यस पटक डराएको उल्लेख गर्दै यस वर्ष बजार पनि सुनसान हुँदा मालवस्तुको बिक्री बन्द भएको बताए । उनले बिस्कुट उद्योगमा ५ सयभन्दा बढी कामदार भएको जानकारी दिए । त्यस्तै रमपम चाउचाउको उत्पादक सुनसरीको एसियन थाई फुड्सको उत्पादन पनि आधामा सीमित भएको छ ।
“यस्तै हो भने केही दिनभित्र चाउचाउको उत्पादन पनि बन्द हुनेछ,” जाजूले भने, “खपत नभएपछि उत्पादन गरेर थुपारेर मात्रै के गर्नु ?”
उनले गत वर्षको लकडाउनका बेला दाल, चामल, बिस्कुट, चाउचाउलगायतका वस्तुको प्याकिङ बनाएर विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाले देशभरि नै राहत सामग्री वितरण गरेकाले खाद्यवस्तुका उद्योगको सञ्चालन सहज हुन सकेको स्मरण गरे ।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले स्वास्थ्य मापदण्ड अपनाएर वितरण प्रणालीलाई सहज बनाउन माग गरे । स्थानीयसहित अन्य जिल्लामा उत्पादित वस्तु पु¥याउने वातावरण मिलाउन आग्रह गरे ।
“कोभिडको असर कहिलेसम्म हो भनेर टुंगो छैन अनि अब सबै उद्योग बन्द गरेर बस्ने अवस्था छैन,” उनले थपे, “उत्पादन कटौती हुँदा मजदुरको रोजगारी गुमेको छ । प्रत्यक्ष रूपमा उद्योगीलाई घाटा परेको देखिए पनि समग्रमा यसले मुलुककै अर्थतन्त्रमा प्रभाव पार्नेछ ।”
मास्क र सेनिटाइजरको खपत पनि विगतको जस्तो नभएको उनले सुनाए । मानिस घरभित्रै बसेकाले मास्क र सेनिटाइजरको खपत घटेको रिजालको बुझाइ छ । पछिल्लो समय यस क्षेत्रका उद्योगहरूले मास्क र सेनिटाइजर उद्योगमा लगानी बढाएका छन् ।
उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले पनि उद्योगहरू बन्द हुँदा उद्योगीहरू कसरी बैंकको ब्याज तिर्ने, कर्मचारी र मजदुरको तलब कसरी दिनेलगायतको चिन्ताले ग्रसित भएको बताउँछन् ।
यतिबेला उद्योगीहरू तनावमा रहेको उनले सुनाए । स्वास्थ्य मापदण्ड अपनाएर उत्पादनलाई निरन्तरता दिने अवस्था पनि नरहेको राठीले बताए ।
“जबसम्म मालवस्तु बजारसम्म पु¥याउने अवस्था सिर्जना हुँदैन तबसम्म उत्पादन गर्नुको अर्थ छैन,” उनले भने, “गोदाम भरिएका छन् मालवस्तुले ।”
लकडाउनभन्दा अगाडि बजारमा गएको मालवस्तुको रकम पनि उठ्ने अवस्था नरहेको उनको भनाइ छ । उनले भने, “कतिपय व्यापारी व्यापार नै छाडेर गाउँ फर्किएको अवस्था छ । अब उनीहरूलाई खोज्दै कहाँ जानु ? यति समस्या छन् कि भनेर साध्य छैन ।”
नेपाल जुट उद्योग संघका अध्यक्षसमेत रहेका उद्योगी राजकुमार गोल्छाले जुट उद्योग पनि बन्द भएको बताए । यो क्षेत्रमा ६ सयभन्दा बढी उद्योग छन् । ती उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा १ लाख २५ हजारभन्दा बढीले रोजगारी पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्