Logo

चुनावी सरकारले यस्ता कार्यक्रम ल्याउन सक्दैन : पूर्व मुख्यसचिव कोइराला

अध्यादेशबाट पूर्ण बजेट : प्रधानमन्त्री

विपक्षी दलका नेता, अर्थविद् तथा कानुनविद्हरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताइरहँदा सरकार भने जेठ १५ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८÷०७९ को पूर्ण बजेट ल्याउने तयारीमा जुटेको छ ।
आइतबार आफ्नो सरकारी निवास बालुवाटारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुरुप बजेट आउने बताए । उनले आगामी आर्थिक वर्षको बजेट औपचारिक कार्यक्रमका बीच अध्यादेशमार्फत ल्याउने भन्दै आफूले यसअघि भाषणमा भनेका कुरा समेटेर बजेट आउने पनि बताए ।
कानुनविद्, अर्थविद् तथा पूर्वअर्थमन्त्री भने संविधानले परिकल्पना नै नगरेको परिस्थिति आएकाले अध्यादेशमार्फत बजेट ल्याउनु परेको भए तापनि वर्तमान सरकारले संसद्मा विश्वासको मत लिन नसकी कामचलाउ भएका कारण पूर्ण बजेट ल्याउन नसक्ने बताउँछन् । ‘संसद् नभएको बाध्यात्मक कारणले अध्यादेशमार्फत बजेट ल्याउनु परेकोले नियमित खर्च तथा क्रमागत आयोजना नरोकियोस् भनेर असार मसान्तसम्ममा अध्यादेशमार्फत कामचलाउ बजेट ल्याउनुपर्छ,’ पूर्व अर्थमन्त्री डा. रामशरण महत भन्छन् । सरकारले यदि अध्यादेशमार्फत पूर्ण बजेट ल्याउँछ भने त्यो राजनीतिक रुपमा बेइमानी हुने पनि उनी बताउँछन् । प्रधानमन्त्री ओलीले भने आगामी आर्थिक वर्षको पूर्ण बजेट जेठ १५ गते अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन् ।
५ वर्षको कार्यकाल नपुग्दै प्रतिनिधिसभा विघटन भएपछि संविधानमा परिकल्पना नै नगरिएको अवस्था सिर्जना भएको छ । प्रतिनिधिसभा नभएको समयमा असार मसान्तसम्ममा अध्यादेशमार्फत बजेट ल्याउन सकिने पूर्वअर्थमन्त्रीले बताए पनि प्रधानमन्त्री भने जेठ १५ गते नै पूर्ण बजेट ल्याउने बताउँछन् ।
प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताका लागि देशको अर्थतन्त्र र देशको भविष्यप्रति गैरजिम्मेवार भएर बजेट नल्याउने बताए तापनि आफूले यसअघि भाषण गरेका कार्यक्रम समेट्ने बताए । उनले वृद्ध भत्ता ५ हजार पु-याउनेदेखि चुच्चे रेल, पानीजहाज तथा घरघरमा ग्यासको पाइपलाइनको भाषण गरेका थिए । आफूले जिम्मेवार ढंगले बजेट प्रस्तुत गर्ने र यसअघि घोषणा भएका कार्यक्रमहरुलाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने प्रधानमन्त्रीले बताएका छन् । आगामी बजेट कोभिडविरुद्धको लडाइँमा केन्द्रीत हुने भन्दै उनले आगामी वर्ष विकासका साह्रै ठूला आकांक्षा नराख्ने समेत जनाएका छन् । सबैभन्दा प्रमुख कुरा जनताको जिउधनको रक्षा गर्नु नै भएकाले तदअनुसार नै अगाडि बढ्ने उनको भनाइ छ । ‘मैले यसअघि नै घोषणा गरिसकेका कतिपय घोषणाहरु, नीतिहरुलाई कार्यान्वयन गर्ने गरी बजेट आउँछ,’ उनले भने, ‘विकास निर्माणलाई महत्व दिएर आउँछ । तर यस वर्ष हाम्रो फोकस कोभिड विरुद्धको लडाइँ, कोभिड नियन्त्रण रोकथाम र त्यसलाई पराजित गर्ने कुरामा हुनेछ ।’
प्रधानमन्त्री ओलीले यसअघि नै घोषणा गरिसकेका कतिपय कार्यक्रमहरु बजेटमार्फत ल्याउने भन्दै सामाजिक सुरक्षा भत्तातर्फ संकेत गरेको पूर्व मुख्यसचिव तथा अर्थविद् विमल कोइरालाले बताए । ‘प्रधानमन्त्रीले वृद्धभत्ता ३ हजारबाट बढाएर ५ हजार पु-याउने बताउनु भएको थियो,’ उनले भने, ‘उहाँको कुरा सुन्दा यो कार्यान्वयन हुन्छ जस्तो छ ।’ तर, चुनावी सरकारले आफ्नो लोकप्रियताका लागि यस्ता कार्यक्रम ल्याउन नपाउने कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्