मौसम सुध्रेपछि धमाधम सगरमाथा आरोहण «

मौसम सुध्रेपछि धमाधम सगरमाथा आरोहण


चालू सिजनमा ३२० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । आइतबारमात्रै १७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् भने यसअघि करिब १५० आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
करिब १ हप्ता मौसमी खराबीका कारण रोकिएको आरोहण शनिबारबाट मौसम सुधार आएसँगै आरोही चुचुरोतर्फ लाग्ने क्रम बढेको अधिकारीहरुले जनाएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले आगामी हप्ता अझ बढी आरोहण हुन सक्ने बताइन् ।
जल तथा मौसम विभाग पूर्वानुमन विभागले जेठ २ गते सूचना जारी गर्दै मौसम प्रतिकूल रहेकाले आरोहण रोक लगाएको थियो । भारतबाट विकसित भएको टाउटे आँधीका कारण कारण नेपालमा मौसम सुधार भएको थिएन ।
जारी सिजनमा सगरमाथासहित अन्य १६ हिमाल आरोहणको लागि ७ सय ४२ जनाले आरोहण अनुमति प्राप्त गरेको पर्यटन विभागले जनाएको छ । जसमा सगरमाथा आरोहणको लागि ४३ आरोहण दलमा ९२ महिला, ३१५ पुरुष सहित ४ सय ८ जनालाई अनुमति प्रदान गरिएको विभागको भनाइ छ । आरोहण टोलीबाट सरकारलाई जारी सिजनमा कुल ५७ करोड ३८ लाख रुपैयाँ रोयल्टी सरकारलाई संकलन भएको छ भने ४९ करोड ४९ लाख सगरमाथाबाट प्राप्त भएको छ । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्ने छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनासम्म समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्