खोपको व्यवस्थापन गर्न पर्यटन व्यवसायीको माग
पोखराका पर्यटन व्यवसायीहरुले सरकारले खोपको व्यवस्था गरेर नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।
कोरोना महामारीको यो संकटको अवस्थामा राज्यको पहिलो दायित्व नागरिकको जीऊ ज्यानको रक्षा गर्ने भएकाले सरकारको ध्यान जनताको जीवन रक्षामा केन्द्रित हुनु पर्ने पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरुले माग गरेका हुन् ।
नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि नागरिकको स्वास्थ्यप्रति गम्भिर नहुनु, स्वास्थ्य सामग्री र औषधि ल्याउने जिम्मा पाएकाहरुले आर्थिक लाभ मात्र सोच्नु, खोप खरीद गर्ने प्रक्रियामा अग्रसरता नदेखाउने जस्ता कतिपय क्रियाकलापले आमनागरिकमा उदासिनता छाएको पोखरा पर्यटन परिषदले हजनाएको छ ।
परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारको मौनताप्रति प्रश्न गरिएको छ । सरकारलाई खोप उत्पादक कम्पनी र मुलुकसँग कुटनीतिक पहल गरेर यथा सक्य छिटो खोप उपलब्ध गराउन तर्फ सरकारको ध्यानकार्षण गराइएको परिषदका अध्यक्ष भट्टराईले जनाए ।
महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष र दीर्घकालिन असर गर्ने निश्चित भएकोले पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यस क्षेत्रका पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप अनिवार्य लगाउन आवश्यक भएको परिषदले जनाएको छ । पर्यटन क्षेत्र सुरक्षित नभएसम्म देशको अर्थतन्त्र कमजोर हुँदै जाने भट्टराईको भनाइ छ ।