Logo

प्रदेश ३ का सरकारी अस्पतालमा अध्यक्ष चयन

हेटौंडा –३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफू मातहतमा रहेका ९ वटा जिल्ला अस्पतालमा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको छ । गत कात्तिक ३० गतेको मन्त्रिपरिषद्ले पारित गरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम मन्त्रालयले अध्यक्ष नियुक्त गरेको हो ।
पारित निर्देशिकामा सामाजिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालको अध्यक्षमा खिमलाल भण्डारी, भक्तपुर अस्पतालको अध्यक्षमा मिलन सुवाल, हेटौंडा अस्पतालको अध्यक्षमा डेगराज पौडेल (प्रकाश), धादिङ जिल्ला अस्पतालमा महेन्द्र धमला क्षेत्रीलाई नियुक्त गरिएको छ । त्यस्तै सिन्धुली जिल्ला अस्पतालमा प्रल्हादकुमार पोखरेल, रसुवा जिल्ला अस्पतालमा रामशरण कुँइकेल, रामेछाप जिल्ला अस्पतालमा रोशन पाख्रिन, सिन्धुपाल्चोक जिल्ला अस्पतालमा इश्वरीप्रसाद श्रेष्ठ र त्रिशुली अस्पताल नुवाकोटको अध्यक्षमा अर्जुनप्रसाद न्यौपानेलाई मन्त्रालयले नियक्त गरेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिए ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकामा उल्लेख भएबमोजिम अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति ७ सदस्यीय हुनेछ । उनीहरूको नियुक्ति अध्यक्षले गर्नेछन् । निर्देशिकाअनुसार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको सदस्यहरूमा अस्पताल रहेको स्थानीय तहको प्रमुख या प्रमुखले तोकेको कार्यपालिका सदस्य अस्पतालको सदस्य हुने व्यवस्था छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि पनि सदस्य हुने व्यवस्था गरिएको छ । त्यस्तै अस्पतालका बरिष्ठ चिकित्सक एक जना, सम्बन्धित अस्पतालका नर्सिङ प्रमुख पनि सदस्यको रुपमा नियुक्त हुनेछन् । सम्बन्धित अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भने सदस्य सचिव रहने निर्देशिकामा व्यवस्था गरिएको छ । समितिको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्