Logo

बाढीले गर्दा महाकाली पुलको कालोपत्रे प्लान्टमा ४ करोडको क्षति

फोटो :कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निर्माणाधीन पक्की पुलको कालोपत्रे प्लान्टमा बाढीले गरेको क्षति ।


कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निर्माणाधीन चारलेनको पक्की पुलमा बाढीले ४ करोडको क्षति गरेको छ । बिहीबार राति परेको पानीले महाकाली नदीमाथि बन्न लागेको चारलेनको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । निर्माणाधीन पक्की पुलको कालोपत्रे गर्ने प्लान्ट पूर्णरूपमा बाढीले क्षति गरेको छ । भारतको धार्चुलामा भारतीय पक्षले धौलीगंगा बाँध खोलेसँगै नदीमा पानीको बहाव बढ्दै गएपछि मध्यराति पुलको कालोपत्रे प्लान्टमा बाढीले क्षति गरेको छ ।
“निर्माणाधीन पक्की पुलको क्षेत्रमा भने बाढीले क्षति गरेको छैन, पुलको कालोपत्रे गर्ने प्लान्टमा भने बाढीले पूर्णरूपमा क्षति पु¥याएको छ ।” कुमार सीएसईसी जेभी निर्माण कम्पनीका साइड इन्चार्ज राजेन्द्र श्रेष्ठले भने, “यो सँगै विभिन्न उपकरण तथा मेसिनमा पनि बाढीले क्षति गरेको छ, झण्डै ४ करोड बराबरको क्षति बाढीले गरेको छ ।” हरेक वर्ष असारपछि सुरु हुने वर्षा यो वर्ष जेठमै सुरु भएको अवस्था छ । असारसम्म पुलको बाढीले क्षति गर्ने भागलाई सम्पन्न गर्ने लक्ष बोकेको निर्माण कम्पनीलाई भने दुईतर्फबाट घाटा भएको श्रेष्ठ बताए ।
योसँगै कालोपत्रे प्लान्ट पूर्णरूपमा क्षति भए पनि प्लान्टबाट हुने कार्य सबै बन्द भएको छ । नदीको पानीको बहाव घटे पनि लामो समयसम्म कालोपत्रे गर्ने कार्य बन्द गर्नुपर्ने अवस्था आएको निर्माण कम्पनीले जनाएको छ । प्लान्टमा क्षति भएका कारण निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने पुलको उल्लेखित समयावधीभन्दा ६ महिना पर निर्माण कार्य धकेलिएको छ ।
“तत्काललाई कम्पनी पुल निर्माणमा आफ्नो लक्षअनुसारको प्रगति हासिल गर्ने सम्भावना सकिएको छ, अन्य काम सम्पन्न भएपछि महत्वपूर्ण काम भनेको कालोपत्रेको हो, कालोपत्रे गर्ने प्लान्ट नै पूर्णरूपमा क्षति भएको अवस्था छ, यसले गर्दा समग्र पुलकै निमार्ण कार्यमा कम्तीमा पनि छ महिना पर धकेलिने भएको छ । साइड इन्चार्ज श्रेष्ठले भने, “प्लान्टसँगै तीन वटा जेनेटर, एउटा स्काभेटर, एउटा कालोपत्रे गर्ने मेसिन, रोलर लगायतका मेसिनहरुमा पनि बाढीले पूर्णरूपमा क्षति गरेको छ ।” निर्माण कम्पनीको वर्षादको समयसम्म पुल निर्माणको ८५ प्रतिशत निमार्णको काम सम्पन्न गर्ने लक्ष्य थियो । बाढीले क्षति गरेपछि पनि कम्पनीले ८० प्रतिशत पुल निमार्णको प्रगति हासिल गर्न सक्ने साइड इन्चार्जको भनाइ छ । यसैगरी पुलको हालसम्मको प्रगति भने ७५ प्रतिशत पुगेको छ ।
योसँगै बिहीबार राति परेको पानीले गर्दा नदीको बीच भागमा निर्माण गरिन लागेको टापुमा काम गर्ने कामदारलाई पनि उद्धार गरिएको छ । शुक्रबार दिउँसो नेपाली सेनाले टापुमा काम गर्ने १० जना कामदारसहित कामदारको विभिन्न सरसामानलाई बोटमार्फत सुरक्षित स्थानमा सारिएको छ । धौलीगंगा क्षेत्रबाट बाँध अझ खोलिन सक्नेभन्दै सर्तकताका लागि टापुमा रहेका कामदारलाई नेपाली सेनाले उद्धार गरेको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्