चिकित्सक संघको आइसोलेसन सञ्चालनमा
नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा एक सय शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।
नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदि फाउन्डेसनले संयुक्तरूपमा कमलपोखरीस्थित अग्रवाल भवनमा एक सय शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टाइनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । यसको अलावा कोभिड–१९ का विरुद्ध अहोरात्र खट्ने चिकित्सकहरुलाई खानाको व्यवस्था गरिएको, मास्क आवश्यक हुनेका लागि मास्क बैंकको स्थापना गरिएको पनि चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । केही दिनमै कोभिड–१९ का सम्बन्धमा एक हजार जनालाई तालिम दिन लागिएको पनि उनले जानकारी दिए । चिकित्सक संघले कोभिड संक्रमण भई होम आइसोलेसनमा बसेकालाई पनि आवश्यक स्वास्थ्य सल्लाह र उपचार प्रक्रियामा सहजीकरण गर्न कल सेन्टरसमेत सञ्चालन गरेको छ । एनएमए हटलाइन नम्बर ११५६ मा कल गरी स्वास्थ्य परामर्श लिन सकिने जनाइएको छ । कल सेन्टर हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गरिएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिए ।