यार्सा संकलन क्षेत्रमा फोहरै फोहर
बझाङको यार्सा संकलन हिमाली क्षेत्रमा वर्षेनी फोहर थुप्रँदै गएको छ । यार्सा तथा जडिबुटी संकलक र अस्थायी होटलबाट निस्कने कुहिने तथा नकुहिने फोहर व्यवस्थापन नगरी हिमाली क्षेत्रमै विसर्जन गर्दा फोहर थुपिँ्रदै गएको हो ।
यार्सा संकलनकर्ताहरूले हिमाली वनमा फालेका पुराना लत्ताकपडा, जुत्ता, प्लास्टिकजन्य वस्तु, सिसाका बोतललगायतका कुहिने तथा नकुहिने फोहर व्यवस्थापन नहुँदा जिल्लाको बुंगल नगरपालिका, सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाका हिमाली वन क्षेत्रमा वर्षेनी फोहर थुपिँ्रदै गएको छ । यार्सा तथा जडिबुटी संकलक र उरै भञ्ज्याङको बाटो भएर तिब्बत जाने यात्रीलाई लक्षित गरी खोलिएका अस्थायी होटलहरूले पनि फोहर व्यवस्थापन गरेका छैनन् । होटलहरूले प्लास्टिक, सिसालगायत होटलबाट निस्कने सबैखालका फोहरको व्यवस्थापन नगरी जथाभावी खुला ठाउँमा फाल्ने गरेका कारण प्रत्येक वर्ष फोहर थुप्रिँदै गएको स्थानीय बताउँछन् । यही गतिमा फोहर हुने र फोहर व्यवस्थापन गर्न नसके वातावरणमा प्रतिकूल असर पर्नुका साथै प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तन र जैविक विविधतालाई समेत असर पर्ने देखिन्छ ।
बझाङमा वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडिबुटी खोज्न मानिसहरू लेकाली वन क्षेत्रमा पुग्ने गर्दछन् । केही वर्षयता यार्सा तथा अन्य जडिबुटी संकलन गर्न हिमाली क्षेत्रमा जानेको संख्या बढ्दै गएको छ । बुंगल नगरपालिकाको हिमाली भेगमा पर्ने थानपाटन, धौलाढुंगा, चुपी, ठाडीगाड, भिडेगडा, साइपाल गाउँपालिकाको माझा, फरालखेत, राइढुगी, औंलागाड, स्याङवन दोदले, इंगलदार, सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, जर्सी, गोलढुंगालगायतका वन क्षेत्रमा हरेक वर्ष यार्सा संकलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिस जाने गरेका छन् । हिमाली वन क्षेत्रमा जटामसी, कटुकी, सेतकचिनी, भुतकेसलगायत जडिबुटी संकलनका लागि बझाङका स्थानीयलगायत रुकुम, रोल्पा, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बाजुरालगायतका जिल्लाबाट सयौंको संख्यामा मानिस लेकाली वनमा अस्थायी क्याम्प खडा गरेर बस्ने गरेका छन् ।
बझाङका यार्सा तथा जडिबुटी संकलन क्षेत्रमा फोहर व्यवस्थापन अझै हुन सकेको छैन । दुई वर्षअघि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) अन्तर्राष्ट्रिय संस्था र साहारा नेपालले गरेको सर्भेक्षेणअनुसार बझाङको हिमाली क्षेत्रमा यार्सा तथा जडिबुटी संकलकन गर्न जाँदा एक जनाले ५ देखि ७ किलो फोहर हिमाली क्षेत्रमा विर्सजन गर्ने गरेका छन् । यार्सागुम्बा संकलन क्षेत्रको फोहर व्यवस्थापन र संरक्षणका लागि साईपाल गाउँपालिकासँंग सहकार्य गरिरहेको साहारा नेपालका अध्यक्ष ज्ञानबहादुर बोहोराले संकलकहरूले वर्षेनी हजारांै टन प्लास्टिक, सिसा, पुराना जुता चप्पल, फाटेका कपडालगायतका कुहिने तथा नकुहिने फोहर जताततै फालेको भेटिएको बताए । उनले भने, “जडिबुटी संकलनको समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करिब १५ हजार पाल हाल्छन् । एक पालभित्र कम्तीमा ६ जना बस्छन् । सरदर ६ व्यक्तिका दरले एक पालबाट मात्र एक वर्षमा ३० देखि ४२ किलो फोहर उत्पादन हुन्छ । यही मात्रामा फोहर थुप्रने र संरक्षण, व्यवस्थापन गर्न सकेनौं भने हिमाली क्षेत्रमा फोहरबाहेक अरु केही पनी नपाइने अवस्था आउनसक्ने देखिन्छ ।
बझाङमा हरेक वर्र्ष यार्सागुम्बाको उत्पादनमा कमी आउन थालेपछि यहाँका संकलकहरू यार्सा खोज्न भारतको मुन्सारी जान थालेका छन् । यार्सागुम्बाका लागि मौसम अनुकूल हुनुपर्छ । समयमै हिउंँ पर्नु, निरन्तर पानी परिरहनुले पनि उत्पादन बढेको अनुमान गर्न सकिन्छ । यार्सा संकलन क्षेत्रमा भएको फोहर र जलवायु परिर्वतनका कारण पछिल्लो समयमा यार्सा उत्पादन घटेको हो । आम्दानीको मुख्य स्रोत यार्सा भए पनि यार्सा पाउन छाडेपछि संकलकहरूको संख्या कम भएको यार्सा संकलक तन्जन लामाले बताए । उनले भने, “पहिला यार्सागुम्बा संकलनका लागि हामी साना बालबालिका समेत ल्याएर पाटनमा पुग्ने गरेका थियांै । पहिलेको तुलनामा वर्षेनी यार्सा उत्पादन कम हुँदै आएपछि एक्लै आउने गरेको छु ।” पहिलेको तुलनामा यार्सा पनी कम पाइने गरेको छ । यार्सा पनि घटेको छ । कहिले काँही त दिनभर खोजेर एउटामात्रै पाइन्छ । धेरै जसो मानिस अहिले ढिलो हिमपात भएकाले आएर पनि यार्सा टिप्न नपाइ घर फर्किसकेका छन् । विगतका वर्षमा अधिकांश मानिस यार्सा टिप्नकै लागि घरमा ताला लगाएर वैशाख महिनादेखि नै पाटन पुगेका हुन्थे । तर पछिल्ला केही वर्षयता यो क्रम घटेको उनको भनाइ छ । गतवर्ष दुई सय १० किलो यार्सामात्र बझाङबाट निकासी भएको जिल्ला वन कार्यालयको तथ्यांक छ । अघिल्ला १० वर्षको तथ्यांक हेर्ने हो भने यो दश वर्षयताकै सबैभन्दा कम निकासी भएको हो । बझाङबाट सरदर ३तीन सय २५ किलो यार्सा प्रतिवर्ष निकासी भएको देखिन्छ ।