लगानी जुटाउँदै सेती हाइड्रोपावर

वीरगन्ज-कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गर्न लागिएको २५ वाट क्षमताको सेती हाइड्रोपावर लिमिटेड लगानी जुटाउन लागि परेको छ । निर्माण तथा सञ्चालनको जिम्मा लिएको भिजन लुम्बिनी लिमिटेडले वीरगन्जमा परियोजनाको बारेमा जानकारी गराएको छ ।
माछापुछ्रे गाउँपालिका–२ को सार्दी खोलामा निर्माण हुन लागेको जलविद्युत् परियोजनाको सरकारसँग पीपीए भइसकेकाले अब निर्माणका लागि लगानी जुटाइरहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । जलविद्युत् निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै ६ महिनापछि निर्माण सुरु गरी तीन वर्षमा सम्पन्न गर्ने र त्यसको तीन वर्षपछि विद्युत् उत्पादन गरी बिक्री वितरणबाट लाभांशसमेत वितरण गरिने योजना रहेको अध्यक्ष पोखरेलले बताए । कम्पनीका सञ्चालक लेखनाथ पाण्डेले सेयर बजारमा आएको गिरावटका कारण पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूमा पनि लगानीको सम्बन्धमा नकारात्मक सन्देश गएको बताउँदै सेती हाइड्रोपावर सहकारीको पद्धतिमा सञ्चालन गरिने भएकाले यसमा लगानी डुब्ने जोखिम नरहेको बताए । जलविद्युत् परियोजना असफल हुनुमा सामाजिक, आर्थिक र प्राविधिक समस्या नै मुख्य भएकाले यी सबै पक्ष सेती हाइड्रोसँग बलियो रहेकोले पनि यसमा लगानी डुब्ने आशंका कहीं कतै नरहेको बताए ।
सुरुमा एक हजार विभिन्न क्षेत्रका विज्ञलाई सेयर दिने योजना रहेकोले ती विज्ञबाट पनि कम्पनीलाई सहयोग गर्न प्रेरित गर्न सहयोग गर्ने पनि उनले बताए । विद्युत् उत्पादन पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पनि छोटो दूरीमै रहेकोले पनि सेती हाइड्रोको लगानीमा शतप्रतिशत फाइदा हुने कम्पनीको दाबी छ । लुम्बिनी भिजन लिमिटेडले स्वास्थ्य, शिक्षालगायतका विभिन्न क्षेत्रमा पनि लगानी गरिरहेको र निकट भविष्यमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने योजनासमेत रहेको अध्यक्ष पोखरेलले बताए । कम्पनीले सबै क्षेत्रका व्यक्तिलाई समेट्ने उद्देश्यले वीरगन्जबाट वीरगन्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्रा. डाक्टर दिपक शाक्यलाई सञ्चालक समितिको सदस्यमा चयन गरिएको कम्पनीले जनाएको छ । वीरगन्ज आर्थिक तथा औद्योगिक नगरी भए पनि यहाँका सीमित व्यक्तिको मात्रै लगानीमा पहुँच रहेकाले लगानीको पहुँच पु¥याउने सेती हाइड्रोपावर अवसर भएको प्रा. डा. शाक्यले बताए ।