Logo

जुम्ला अस्पताललाई पूर्वाधार थप्न ५ करोड बजेट


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई अक्सिजन प्लान्ट जडान र एचडियु थप्नका लागि अर्थ मन्त्रालयले ५ करोड रूपैयाँको सहमति दिएको छ । कोरोना रोकथाम तथा उपचारका लागि कर्णाली प्रतिष्ठानलाई अत्याआवश्यक स्वास्थ्य सामग्री खरिदका लागि अर्थमन्त्रालयले ५ करोड १२ लाख ७० बजेटको सहमति दिएको हो ।
कर्णाली प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको नियमित पहल र स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार अर्थ मन्त्रालयले प्रतिष्ठानलाई ५ करोड बढी बजेट स्वीकृति दिएको कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए ।
उनले भने, “कर्णालीका १० जिल्लासँगै सुदूरपश्चिमको समेत भरोसा जुम्ला अस्पताल हो । जुम्लामा बाहिरबाट आउने संक्रमितको चाप बढ्न थालेपछि उपचार सहज बनाउन बजेट माग गरिएको थियौँ । जसमा नयाँ अक्सिजन प्लान्ट जडान गर्न २ करोड र नयाँ एचडियु थप्नका लागि ३ करोड १२ लाख ७० हजार स्वीकृत भएको छ ।”
प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु, २४ बेडको एचडियू, तथा ८४ शैया गरी १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरिएको छ । यसअघि अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले पाइप लाइनमार्फत नियमति रुपमा करिब ३०–३५ बेडमा अक्सिजन सप्लाई भइरहेको छ ।
“हाल अक्सिजन प्लान्टबाट र थप १ सय १० अक्सिजन सिलिण्डरले संक्रमितको उपचार व्यवस्थापन भइरहेको छ” प्रवक्ता डा. भट्टराईले भने, “बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै प्रदेश सरकारसँग समन्वय गरेर थप ३ सय ६० सिलिण्डर खरिद प्रक्रिया सुरू भइसकेको छ ।” केन्द्र सरकारसँगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि प्रतिष्ठान लागि परेको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. राजिव शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्