कोरोनाले होटल व्यवसायी मारमा
लकडाउन लम्बिएसंँगै जिल्लाका पर्यटन, रेष्टुरेण्ट, होटल व्यवसायी तथा उद्योगी बढी मारमा परेका छन् । जिल्लाका सात वटै स्थानीय तहमा होटल व्यवसायी संघमा आबद्ध करीब २५० होटल व्यवसायी रहेको संघका अध्यक्ष दानबहादुर भण्डारीले बताए । उनका अनुसार गत वैशाख १९ देखि नै जिल्लाका होटल व्यवसायीले व्यवसाय बन्द गरिसकेका छन् ।
कोरोना भाइरसको त्रासले जिल्लामा भित्रिने व्यक्ति तथा विभिन्न सभा सम्मेलन र पर्यटकको आवागमन ठप्प हुँदा होटल व्यवसाय ओरालो लागेको जिल्लाका होटल व्यवसायी बताउँछन् । फेरि कोरोनाको महामारीका कारण लकडाउन र निषेधाज्ञा जारी भएपछि होटल व्यवसाय प्रभावित हुँदा अर्थतन्त्र धरासयी हुनुका साथै करोडौंको लगानी समेत डुब्न थालेको र सरकारले केही राहतका प्याकेज दिनु आवश्यक रहेको होटेल व्यवसायी प्रकाशबहादुर साउद बताउँछन् ।
होटल सञ्चालनका लागि जिल्लामा धेरै व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाले बैंकको ब्याज मिनाहा भएमा केही थप सहज हुनका साथै सरकारले यो विषयमा गम्भिर हुनपर्ने साउदले बताए ।
जिल्लाका करीब दुई सय होटल भाडाकै घरमा सञ्चालित छन् । अमरगढी नगरपालिका वडा नं ५ मा रहेको जिल्लाकै ठूलो होटल स्याबारी भ्यू टावर कोरोनाका कारण वैशाख १९ देखि बन्द गरिएको छ ।