अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण «

अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण

अनेक समस्या र सुधारको आवश्यकताका बाबजुद उपलब्ध अनलाइन प्रणाली अपनाउनु हितकर छ, जसले स्वनियन्त्रणमा सहजै कारोबार र राफसाफ गर्दै अभिलेखको सुविधा निःशुल्क दिन्छ ।

निषेधाज्ञा र महामारीसँगै भौतिक उपस्थिति, आउजाउमा असहजताले मात्र होइन, धितोपत्र किनबेचमा सहजता र स्वनियन्त्रणका कारण अनलाइनबाट धितोपत्र कारोबार निकै बढेको छ । करिब ३५ लाख डिम्याट खाता खोलिँदा ७ लाखले कारोबार खाता खोल्दा ६ लाख लगानीकर्ताले ‘अनलाइन कारोबार’ गर्दै आएका छन् ।
धितोपत्र कारोबारलाई सहज, स्वचालित र पेपरलेस बनाउने प्रयासस्वरूप बजार सञ्चालक नेप्सेबाट विकास र २०७५ पुस १७ बाट व्यावहारिक सञ्चालनमा ल्याइएको ‘नेप्से अनलाइन ट्रेडिङ सिस्टम’ (नट्स )’ अनलाइन कारोबार प्रणालीको मुख्य हिस्सा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस)मा पहुँच सबैलाई अनिवार्यजस्तै छ । खोजेजस्तै पूर्ण नभए पनि सेमिअटोमेटेड प्रकृतिको विद्यमान ‘टीएमएस’ प्रणालीबाट धितोपत्र दलाल (ब्रोकर) को प्रत्यक्ष सहभागिताबिनै बासस्थान वा कार्यालयबाटै इन्टरनेट सुविधा भएको कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत क) कोलाटर जम्मा गर्न; ख) खरिद–बिक्री आदेश प्रविष्टि, परिमार्जन र कारोबारको जानकारी लिन; ग) कारोबारको विस्तृत विवरण र अभिलेख हेर्न र रुजु गर्न; घ) भुक्तानी र राफसाफ गर्न सकिन्छ ।

आवश्यक
धितोपत्र (दोस्रो वा सेयर) बजारमा कारोबार गर्न प्राथमिक बजारमा चाहिने ‘डिम्याट’, ‘बैंक खाता’, ‘मेरो सेयर’सँगै स्वीकृति प्राप्त धितोपत्र दलाल (ब्रोकर) कहाँ ‘कारोबार खाता’ खोल्नैपर्छ । अनलाइन कारोबारका लागि केवाईसी अद्यावधिक गर्दै ‘टीएमएस’को ‘युजरनेम र पासवर्ड’ लिनुपर्छ, जुन सम्बन्धित दलाल कार्यालय गएर, वेबसाइट मार्फत वा ‘टीएमएस’बाटै पनि रजिस्ट्रर गर्दै निःशुल्क पाइन्छ ।

१. कोलाटरल
‘युजरनेम र पासवर्ड’ सँगै धितोपत्र किनबेचका लागि सम्बन्धित ब्रोकरबाट कारोबार रकमको सीमा (लिमिट) प्राप्त गर्नुपर्छ, जुन धरौटी रकम (कोलाटरल) र सम्झौताको आधारमा ब्रोकरले उपलब्ध गराउँछ । धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार खरिद आदेश प्राप्त गर्दा नै कम्तीमा २५ प्रतिशत अग्रिम भुक्तानी लिनुपर्ने व्यवस्थाबमोजिम ब्रोकरले ‘कोलाटरल’ माग्छन् । ब्रोकरसँगको सहमतिमा नगद वा चेक डिपोजिट गर्न वा आवश्यकताअनुसार बैंक÷कनेक्ट आईपीएसबाट अनलाइन नै लोड÷जम्मा गर्न सकिन्छ । अनलाइन प्रणालीमा कोलाटरलले नै कारोबार ‘लिमिट’ निर्धारण गर्ने हुँदा कति ‘कोलाटरल’ र कति ‘लिमिट’ ब्रोकर र ग्राहकमा निर्भर हुन्छ । ‘लिमिट’ बिना किनबेच आदेश नै प्रविष्टि गर्न सकिन्न । ‘कोलाटरल’ र ‘लिमिट’ टीएमएसको ‘माइ इन्फरमेसन’ वा ‘ड्यास बोर्ड’मा पनि हेर्न सकिन्छ ।

२. खरिद–बिक्री आदेश
‘टीएमएस’मा प्रवेश गरी उपलब्ध ‘लिमिट’ अनुसार खरिद–बिक्री आदेश राख्न सकिन्छ । ‘अर्डर म्यानेजमेन्ट’को ‘बाइ÷सेल’मा क्लिक गर्दै अथवा ‘मार्केट डाटा’ को ‘मार्केट डेप्थ’ मा सम्बन्धित धितोपत्र छनौट गरी ‘बाइ’ वा ‘सेल’ मा क्लिक गरी खरिद–बिक्री आदेश दिन सकिन्छ । किनबेचका लागि नियमित समय ११ देखि ३ बजेसम्म ‘कन्टिन्युअस’, बिहान १०ः३० देखि १०ः४५ बजेसम्म ‘प्रिओपन’, सूचीकृतको पहिलो कारोबारका लागि ‘स्पेसल प्रिओपन’ र अडलट (१० कित्ता÷१ सय एकाइभन्दा कम) का लागि ‘अडलट’ छान्नुुपर्छ । यसपछि तोकिएको ‘लिमिट’ भित्र मूल्य र कित्ता उल्लेख गर्दै किन्न ‘एलएमटी–लिमिट’ र बजारमा उपलब्ध मूल्यमा तोकिएका कित्ता किन्न ‘एमकेटी–मार्केट’ छान्नुपर्छ ।
यसपछि किनबेच गर्न खोजेको धितोपत्रका आधारमा ‘इन्स्टा’मा साधारण सेयरलाई ‘ईक्यू’, अग्राधिकार सेयरलाई ‘पीएस’, अपरिवर्तनीय डिबेन्चरलाई ‘एनसीडी’ वा म्युचुअल फन्डलाई ‘एमएफ’ छानेर सिम्बोलको कोठामा सम्बन्धित धितोपत्रको नाम लेख्ने वा पहिलो अक्षर थिचेसँगै उपलब्ध हुने सूचीबाट छान्ने । धितोपत्र छानेर कित्ता वा एकाइ ‘क्यूटीवाई’ कोठामा उल्लेख गरी तिर्न चाहेको प्रतिकित्ता-एकाइ मूल्य ‘प्राइस’मा जनाउने । यसपछि ‘भ्यालिडिटी’ मा समय वा विधिको आधारमा एक दिनलाई ‘डे’, किनबेच नहुँदासम्म भए ‘जीटीसी’ (गुड टिल कन्टिन्यु), तोकिएको मितिसम्म भए ‘जीटीडी’ (गुड टिल डेट) सहित मिति उल्लेख गर्ने । यस्तै ‘भ्यालिडिटी’ मा नै खरिद–बिक्री आदेशअनुसार सम्पूर्ण कित्ता÷एकाइ कारोबार हुने अन्यथा नहुने गर्न ‘एओएन’ (अल अर नन), आदेश राख्नेबित्तिकै किनबेच भए गर्ने नभए नगर्ने ‘आईओसी’ (इमिडिएट अर क्यान्सिल), अथवा तत्काल किनबेच नभए रद्द हुने आदेशका लागि ‘एफओके’ (फिल अर किल) विकल्प रोज्ने ।
यसरी प्रणालीमा प्रविष्ट खरिद–बिक्री आदेशहरू ‘मूल्य र समय’का आधारमा म्याचिङ हुँदै कार्यान्वयन हुन्छन् । ‘अर्डर म्यानेजमेन्ट’को ‘डेली अर्डर बुक’मा गएर आफूले राखेको आदेशको अवस्था थाहा पाउन सकिन्छ । कार्यान्वयन भएका आदेश ‘कम्प्लिटेड’ मा र बाँक ‘ओपन’ मा देखिन्छ । ‘एक्सन’ मा क्लिक गर्दै उक्त धितोपत्रको बजार माग र आपूर्तिको अवस्था (मार्केट डेप्थ) पनि हेर्न वा किनबेच नभइसकेको अवस्थामा मूल्य वा कित्ता-एकाइ परिमार्जन गर्न सकिन्छ । ‘कम्प्लिटेड’मा पनि प्लस चिह्नमा थिचेर आदेश कार्यान्वयन र ‘ट्रेड डिटेल’मा आदेशअनुसार किनबेच भएको कित्ता, मूल्य, कमिसन, सेबोन शुल्क, डिपी शुल्क तथा बिक्रीको हकमा लाभकरको जानकारी लिन सकिन्छ ।
खरिद–बिक्री आदेशको विकल्पका आधारमा नियमित कारोबार समयपश्चात् ‘कम्प्लिटेड’ मा जान्छन् र ती ‘कम्प्लिटेड’, ‘पार्सियल्ली कम्प्लिटेड’ वा ‘क्यान्सिल’ हुन्छन् ।

३. सेयर र रकम भुक्तानी
प्रचलित नियमानुसार किनेको धितोपत्रको रकम र बेचेको धितोपत्र कारोबारको भोलिपल्ट (अर्को कार्यदिन, टी प्लस वन) ब्रोकरलाई हस्तान्तरण गर्ने जिम्मेवारी किन्ने–बेच्नेको हुन्छ । बेचेको धितोपत्र सीडीएस्सीको ‘मेरो सेयर’ मा उपलब्ध ‘सेयर ट्रान्सफर’को विकल्प प्रयोग गरी विद्युतीय माध्यमबाट ‘ईडीआईएस’ द्वारा हस्तान्तरण गर्नुपर्छ । ‘ईडीआईएस’ सम्भव नभए मात्र डीपीबाट उपलब्ध ‘डीआईएस–डेबिट इन्स्ट्रक्सन स्लिप’ भरेर ब्रोकरलाई दिनुपर्छ । तोकिएको अवधिमा कुनै पनि कारण धितोपत्र हस्तान्तरण गर्न असफल भए ‘क्लोजआउट’ मा परिन्छ र बिक्री मूल्यको २० प्रतिशत जरिवाना बेहोर्नुपर्नेछ । रकमको सम्बन्धमा कुनै जरिवानाको कानुनी व्यवस्था नभए पनि किनेको भुक्तानी दिनु नैतिक दायित्व हो ।
किनेको धितोपत्रको रकम क) टीएमएस, ख) चेक, ग) कनेक्ट आईपीएस, घ) अनलाइन बैंकिङबाट भुक्तानी गर्न सकिन्छ । टीएमएसबाट भुक्तानी गर्न ‘फन्ड सेटलमेन्ट’को ‘पेमेन्ट सेटलमेन्ट’ अन्तर्गत ‘बाई इन्फरमेसन’ मा गएर तिर्न बाँकी बिलहरू हेर्दै तिर्ने बिलको ‘एक्सन’ मा क्लिक गर्दै ‘ईओडी’ छनोट गरी ‘एमाउन्ट’मा बिलअनुसार (प्रणालीले देखाएको रकम) को भुक्तानी रकम उल्लेख गर्ने अनि ‘बैंक’मा ग्लोबल आईएमई वा कनेक्ट आईपीएस छनोट गरेर ‘रिमाक्र्स’ मा बिल मिति वा कारोबार नम्बर केही लेखेर ‘मेक पेमेन्ट÷प्रोसिड’ क्लिक गर्नुपर्छ । यसपछि बैंकको अनलाइन वा कनेक्ट आईपीएस प्रणालीमा जान्छ र उल्लिखित प्रक्रिया पूरा गरी भुक्तानी हुन्छ । सामान्यतः कोलाटर क्यास र ननक्याससमेत हुने र नियमित कारोबारमा आवश्यक परिरहने हुँदा भुक्तानीका लागि ‘कोलाटर’को विकल्प नअपनाउँदा राम्रो । ‘कोलाटरल’बाट भुक्तानीमा प्रणालीले स्वतः भुक्तानी नजनाउने हुँदा ब्रोकरबाट भुक्तानी मिलान गराउनुपर्छ, जसले भुक्तानी अन्योलता र समयमा धितोपत्र नआउने जोखिम रहन्छ । हाल ग्लोबल आईएमई बैंकले मात्र ‘टीएमएस’बाटै भुक्तानी सुविधा दिने र प्रायः ब्रोकरको कारोबार बैंक पनि हुँदा यस बैंकमार्फत भुक्तानी लिँदादिँदा सहज र केही आईपीएस शुल्क बच्छ । सम्बन्धित ब्रोकरको बैंक, खाताको नाम र नम्बर लिएर टीएमएसबाहिरबाट पनि भुक्तानी गर्न सकिन्छ ।

४. विगत कारोबार र हिसाब
टीएमएसमा कारोबारसँगै विगतको कारोबार र हिसाब हेर्न सकिन्छ । ‘फन्ड सेटलमेन्ट’को ‘क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्री’ मा गएर बैंक र एनसीएचएलबाट गरिएको र प्राप्त भुक्तानीको अभिलेख पाइन्छ । यस्तै ‘फन्ड सेटलमेन्ट’ कै ‘बाई इन्फरमेसन’ मा भुक्तानी बाँकी ‘पेमेन्ट ड्यु’, भुक्तानी गरिएका ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’ को जानकारी पाइन्छ । ‘सेल इन्फरमेसन’ मा प्राप्त हुन बाँकी भुक्तानी ‘पेमेन्ट ड्यु’, स्वीकृत भुक्तानी ‘एप्रुभ्ड’, ब्रोकरबाट भएको भुक्तानी ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’मा हुन्छ । ‘सक्सेस’मा देखिने सूचीको ‘प्लस’ थिच्दा कारोबारको विस्तृत हिसाब पाइन्छ ।
यस्तै ‘मार्केट डाटा’ मा बजारको अवस्था, मार्केट डेप्थ, सक्रिय धितोपत्र, बढेका र घटेका १० धितोपत्र, मार्केट लाइभ हेर्न सकिन्छ । ‘ब्रोकर ब्याक अफिस’को ‘डीपी होल्डिङ’ले डिम्याटमा रहेको धितोपत्र देखाउँछ । अनेक समस्या र सुधारको आवश्यकताका बाबजुद उपलब्ध अनलाइन प्रणाली अपनाउनु हितकर छ, जसले स्वनियन्त्रणमा सहजै कारोबार र राफसाफ गर्दै अभिलेखको सुविधा निःशुल्क दिन्छ ।

प्रतिक्रिया दिनुहोस्