Logo

फलेवासको प्राथमिकता संस्थागत विकाससँगै पूर्वाधार

प्रदेश : गण्डकी
नगरप्रमुख : पदमपाणि शर्मा
उपप्रमुख : मञ्जु अधिकारी
प्रमुख प्रशासकीय अधिकृत : कृष्ण सापकोटा
जिल्ला : पर्वत
नगरपालिका : फलेवास
वडा नं. : ५
गाउँपालिकाको क्षेत्रफल : ८५.७ वर्गकिलोमिटर
घरधुरी : ५ हजार ७ सय २६
जनसंख्या : ३४ हजार ५ सय ७२
पुरुष : १७ हजार ७ सय ६८
महिला : १६ हजार ८ सय ४


सिमाना
पूर्व : स्याङ्जा जिल्ला र महाशिला गाउँपालिका
पश्चिम : बागलुङ जिल्ला
उत्तर : कुश्मा नगरपालिका
दक्षिण : स्याङ्जा जिल्ला, महाशिला गाउँपालिका र विहादी गाउँपालिकाको केही भाग

फलेवास नगरपालिका गण्डकी प्रदेशस्थित पर्वत जिल्लाको मध्यभागमा अवस्थित छ । यो नगरपालिका भौगोलिक विविधताले भरिएको एक रमणीय क्षेत्रका रूपमा चिनिन्छ । समुद्री सतहबाट ६ सय २० मिटर उचाइमा रहेको वडा नं. ११ मा पर्ने पाङराङको कालीगण्डकी किनारको बगरदेखि २ हजार २ सय ६६ मिटर उचाइका पाङराङ र कुर्घाको शिरमा रहेको चिसापानीको लेक र २ हजार २ सय ५९ मिटर उचाइमा रहेको डहरेको लेकसमेतको अग्ला–होचा समथर भू–भाग यस नगरपालिकामा पर्छन् ।
फलेवासको विकास र फलेवासवासीको समृद्धिका लागि विगत चार वर्षमा थुप्रै काम भएका छन् । यही जेठ ५ गते स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि निर्वाचित भएको ठीक चार वर्ष पुगेको छ । यो चार वर्षमा फलेवासले मुख्य गरी सडक, शिक्षा, स्वास्थ्य रोजगारीलगायतका क्षेत्रमा थुप्रै उपलव्धि हासिल गरेको जनाएको छ । समृद्ध फलेवास नगरपालिका बनाउने आफ्नो लक्ष्यअनुसार नगरप्रमुख पदमपाणि शर्मा निरन्तर सक्रिय भएर लागिरहेका छन् । फलेवासलाई देशकै नमुना नगरपालिकाका रूपमा परिचित गराउन सफल भएको यो नगरपालिकाको मात्र बजेट नभई प्रदेश सरकार र संघीय सरकारसँग समेत बजेट माग गरेर विकासका पूर्वाधारहरूलाई साथमा राखेर अगाडि बढेको छ । फलेवास नगरपालिका नेपाल नगरपालिका संघबाट उत्कृष्ट नगरपालिकाका रूपमा पुरस्कृत भएको थियो ।
ग्रामीण क्षेत्रको न्यून पूर्वाधार विकास, यातायातको कठिनाइ, जोखिमपूर्ण काठे पोलमा विद्युतीकरण, कठिन भौगोलिक अवस्था, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व कमी, उपचारका लागि अस्पताल नहुनु, शैक्षिक गुणस्तर र भौतिक संरचनाको अभाव, केन्द्रीय बजेटको पहुँच नहुनु, बेरोजगार अधिक हुनु, अस्तव्यस्त सामाजिक संरचना तथा नैतिक शिक्षाको अभावका बीचमा स्थापना भएर पूर्वाधारबिनाको आकाशमुनिवाट कार्य सञ्चालन सुरु भएको फलेवास नगरपालिकाको पूर्वाधार विकासमा मुख्य जोड दिइएको नगरप्रमुख शर्मा बताउँछन् ।
आफू निर्वाचित भएपछि दीर्घकालीन सोचका साथ सुन्दर फलेवास र समृद्ध फलेवासीको परिकल्पनालाई साकार पार्ने खालको संस्थागत संरचना र विकास अभियानलाई अगाडि बढाएको उनको भनाइ छ ।
फलेवास नगरपालिकामा सुरु वर्षबाट नै मोटरबाटोको मापदण्ड तयार गरी बाहिरी चक्रपथ, भित्री चक्रपथ, केन्द्र चक्रपथ, लिङ्करोड, शाखा, प्रशाखा गरी ३१२.५३ कि.मि. मोटरबाटोले नगरका सबै बस्तीमा सडक सञ्जाल पु-याइएको छ । साना तथा मझौला सिँचाइले २ हजार १ सय ६० रोपनी सिञ्चित भएको छ, एक घर एक धारा खानेपानी ४३ प्रतिशत र सुरक्षित खानेपानीको सुविधा ८७ प्रतिशत घरधुरीमा पुगेको छ ।
विद्यालय भवन, सामुदायिक भवन, काठका पोल विस्थापित गरी फलामे पोलमा रूपान्तरण, सीपमूलक तालिम र उद्यम विकासमार्फत स्वरोजगार, एक वार्ड एक कृषि तथा पशु फार्म, बिरुवा हाम्रो फल तपाईंको, टनेलमा प्लास्टिक हाम्रो उत्पादन तपार्इंको, एक वार्ड एक महिला उद्योग, ३ सय रोपनीमा बृहत् कृषि फार्म, एक वार्ड एक घरेलु औजार उद्योग, १ सय ९ वटा आरानको सुधार, बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन, उत्पादनमा आधारित प्रोत्साहन अनुदानले नगरवासीको आर्थिक विकासमा सहयोग पुगेको नगरप्रमुख शर्माको विश्वास छ ।
पूर्ण साक्षर नगर घोषणा, पूर्ण खोपयुक्त नगर घोषणा, शिक्षाको गुणस्तर सुधारका लागि प्रविधिमैत्री पठनपाठन र विद्यालयको भौतिक सुधार, पुस्तकालय, विज्ञान प्रयोगशाला, बालशिक्षण सिकाइ, सामुदायिक अध्ययन केन्द्र व्यवस्थापन, अभिभावकको चाहनाअनुसार अंगे्रजी माध्यमवाट पठनपाठन, बृहत स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक तथा अपांगता परिचय पत्र वितरण, अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता, वडा तहबाट राजस्व संकलनले नगरवासीलाई सहजता प्रदान गरेको उनले बताए ।
नगरभित्र पर्ने मनमोहन शान्तिवाटिका निर्माण कार्य नगरको महŒवपुर्ण योजना हो । यो योजनाका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट पनि यस वर्ष ५ करोड विनियोजनसमेत भएको छ । त्यस्तै डहरे क्षेत्रमा ओपन जू, खुममा मगर होमस्टे, पदमार्ग निर्माण, मठमन्दिर निर्माण तथा संरक्षण, चौतारी पोखरी निर्माण र संरक्षणका काम निरन्तर भइरहेका छन् । ४७ वटा ऐन–कानुन पारित भई नगरवासीलाई स्थानीय सरकारको प्रत्याभूति दिइएको छ । नगर कार्यपालिकाको कार्यालय खानीगाउँको पिप्लेमा सार्वजनिक भवनमा सञ्चालन गरिएको छ भने वडा नं. ५ खानीगाउँमा प्रमुख प्रशासकीय भवन निर्माणका लागि ६० रोपनी ८ आना नगरपालिकाको नाममा निःशुल्क जग्गा प्राप्त भई भवन निर्माणका लागि टेन्डर आह्वान भएको छ । ८ वटा वडा कार्यालय निर्माणको चरणमा रहेको उनले बताए ।
नगरमा १० शय्याको फलेवास नगर अस्पताल सञ्चालनमा रहेको छ र अस्पताल भवन निर्माण प्रक्रिया अगाडि बढेको शर्माको भनाइ छ । त्यसैगरी ७ वटा स्वास्थ्य चौकी भवन, ६ वटा सहरी स्वास्थ्य क्लिनिक भवन निर्माण भएकाले सहज स्वास्थ्य सेवामा नगरवासीको स्वास्थ्य सेवाको पहुँच वृद्धि हुँदै गएको भए पनि अझै सुविधायुक्त अस्पतालको खाँचो छ ।
नगरपालिकाबाट अन्यत्र रिफर गर्नुपर्ने प्रसूतिलाई निःशुल्क एम्बुलेन्स सेवा, ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री शिक्षण, विद्यार्थी दिवा खाजा कार्यक्रम, विद्यार्थी सुविधाका लागि स्कुल बस, विपन्न रोजगार कार्य अगाडि वढाइएको छ । असंगठित मजदुरको रूपमा रहेका सिकर्मी, डकर्मीलगायतलाई भविष्यको सामाजिक सुरक्षाका लागि नागरिक पेन्सन कार्यक्रम कार्यान्वयन गरी ८ सय विपन्न परिवारको भविष्य सुनिश्चित हुने वातावरण सिर्जना गरिएको उनी बताउँछन्, जसको नागरिक लगानी कोषसँग सम्झौता गरिएको उनले बताए ।
पहिलो र दोस्रो वर्ष पूर्वाधार विकास, तेस्रो वर्ष आयआर्जन, चौथो वर्ष नागरिकलाई सहज पहुँच सेवा पुग्ने गरी नगरको संस्थागत संरचना र रोजगार सिर्जना हुने उद्यम विकास, क्लिन फलेवास ग्रिन फलेवास अभियानअन्तर्गत क्लिन हाउस ग्रिन हाउस, क्लिन टोल ग्रिन टोल, क्लिन स्कुल ग्रिन स्कुल, क्लिन वार्ड ग्रिन वार्ड अभियानमार्फत फलेवासको एकीकृत विकासलाई जोड दिई नगरवासीको सुन्दर फलेवासको अपेक्षा पूरा गर्ने दिशामा अघि बढिएको नगरप्रमुख शर्माको भनाइ छ ।
यसैगरी फलेवास नगरपालिकाको अगुवाइमा कालीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता अध्ययन पूरा गरी विस्तृत अध्ययनका लागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । गत वर्षदेखि बजेट विनियोजन भएर सम्भाव्यता अध्यययन भइरहेको यो योजना अघि बढेमा १ हजार मेगावाट विद्युत् उत्पादन हुनुका साथै पर्वत, बागलुङ, गुुल्मी र स्याङ्जा जिल्ला लाभान्वित हुनेछन्, जसको अगुवाइ आफूले गरेको नगरप्रमुख शर्मा बताउँछन् । पालिका हुँदै जाने कालीगण्डकी राजमार्गको निर्माण कार्य भइरहेको छ ।
शून्य कि.मि. कालोपत्रे रहेको यस नगरपालिकामा मुडीकुवादेखि लमायखोलासम्म, कार्किनेटादेखि चिसापानी र टंकी हुँदै अर्माना खण्डको केही अंश कालोपत्रे भएको छ । मल्याङ्दीखोला–मुडीकुवा–ढिक–चन्दनी सडक, नौडाँडा–कार्किनेटा, देवीस्थान–जैमुनी–गलकोट सडक, लमाय– चिर्दिखोला–कुर्घा–महाशिला सडक कालोपत्रेको कार्य सुरुवात भएको उनको भनाइ छ । यसैगरी चिर्दिखोला, मल्याङ्दी खोला, खाल्टेखोला, मोदीवेणीमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ भने जैमुनीघाट, चिर्दी लमायखोलामा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन् । कुर्घा देवीस्थान, देवीस्थान अर्जेवा, देवीस्थान निरिङ्गे, सिरसुवा कैया, सिरसुवा कुश्मा, चन्दनी लिमिठाना लामा अग्ला झोलुंगे पुलले आवतजावतमा सहजता भएको उनले बताए । अन्य आवश्यकताका स्थानहरूमा अग्ला पुलहरू सर्भे भई निर्माणको चरणमा रहेका छन् ।
फलेवासमा विश्व बैंकको सहयोगमा सहरी विकास कार्यक्रमसमेत लागू भएको छ । यो कार्यक्रमवाट १७ करोड बराबरको भौतिक पूर्वाधारको काम हुँदै छ ।
हिँउदमा मात्र मौसमअनुकूलको अवस्थामा गाडी चल्ने यस नगरपालिकामा सडक सुधार गरी बाह्रै महिना गाडी चल्न सक्ने अवस्था आएको छ । भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत वडा नं. ८ को अर्चलेमा एकीकृत बस्ती निर्माण सम्पन्न भएको छ भने ११ सय ९६ निजी आवास निर्माण गर्नका लागि आफूले सहजीकरण गरेको नगरप्रमुख बताउँछन् ।
सुरक्षित आवासतर्फ १ सय ३४ घर निर्माण हुने चरणमा रहेका छन्, मौसमजन्य प्रकोपबाट क्षति पुगेका ४७ निजी आवास निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार युवालाई १ सय दिनको रोजगारी सिर्जना गरेको छ भने सहरी शासकीय तथा पूर्वाधार आयोजना सुरु भएको उनले बताए ।
फलेवास नगरपालिका विशेष गरी आर्थिक विकासका क्षेत्रहरू प्राथमिकतामा राखेर अगाडि बढेको छ । जिल्लाको सदरमुकाम कुश्माबाट १५ किलोमिटर टाढा रहेको फलेवास नगरपालिकाको केन्द्र खानीगाउँमा रहेको साविक फलेवास सिँचाइ आयोजनाको कार्यालयमा सञ्चालनमा रहेको छ । दुई वर्षसम्म भाडाको घरमा सञ्चालन भएको यो नगरपालिका दुई वर्षदेखि सिँचाइ आयोजनाको कार्यालयमा स्थानान्तरण भएका हो । यद्यपि अहिले पनि यसको पर्याप्त भौतिक पूर्वाधार निर्माण हुन सकिरहेको छैन ।
यसैगरी वडा कार्यालयमा सहज रूपमा राजस्व संकलनको व्यवस्था मिलाइएको र बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने व्यवस्थासमेत गत आर्थिक वर्षवाट सुरु गरिएको छ । त्यसैगरी प्रतिफलमा आधारित अनुदान वितरण गर्न थालिएको छ; जसमा दूध, बाख्रा, स्थानीय जातका कुखुरा पालनमा प्रोत्साहनस्वरूप कृषकलाई अनुदान दिन थालिएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि ४७ वटा ऐन–कानुन निर्माण र कार्यान्वयन गरिएको छ । यसबाहेक फलेवास रंगशाला र बसपार्कका लागि जग्गा व्यवस्थापनसमेत भइरहेको छ ।
जनप्रतिनिधिहरूको कार्यावधि सकिन अब एक वर्षमात्रै बाँकी छ । चार वर्षको अवधिमा महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक भएको नगरप्रमुख शर्मा बताउँछन् । अबको बाँकी समय आफ्नो घोषणा पत्र र सुरुवात भएका कामहरूलाई सम्पन्न गर्ने उनको योजना छ ।
लक्ष्मीप्रसाद सापकोटा

प्रतिक्रिया दिनुहोस्