Logo

परीक्षा सञ्चालन गर्न नसक्दा विद्यार्थीले तीन वर्ष पुग्न लाग्दासमेत एउटै कक्षा पढ्नु पर्ने बाध्यता भएको छ

तीन वर्षसम्म एउटै कक्षा पढ्दै विद्यार्थी


कोरोना महामारीको नयाँ भेरियन्टसहितको महामारीले गर्दा विभिन्न क्षेत्र नराम्ररी प्रभावित भएको छ । विभिन्न क्षेत्र प्रभावित भएको अवस्थामा शिक्षा क्षेत्र पनि महामारीले गर्दा निकै नै प्रभावित बन्न पुगेको छ ।
यसअघिको कोरोनाको सुरुको लहरमा पनि शिक्षा क्षेत्रसँगै विभिन्न क्षेत्र धराशायी भएर लामो समयसम्म बन्द हुनुपरेको अवस्था थियो । तर लामो समयपछि महामारीको समस्या टरेपछि भने केही सहजता भयो । कोरोना महामारीपछिको समयमा केही सहजता भएको भए पनि यता शिक्षासँग जोडिएको त्रिभुवन विश्वविद्यालयले भने तीन वर्षसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन । परीक्षा सञ्चालन गर्न नसक्दा विद्यार्थीले तीन वर्ष पुग्न लाग्दासमेत एउटै कक्षा पढ्नु पर्ने बाध्यता भएको छ ।
“कोरोना महामारी सुरु भएको झण्डै तीन वर्ष भएको छ, यसबीचमा विभिन्न विश्वविद्यालय विभिन्न तवर तरिकाले परीक्षा सञ्चालन गरेर नतिजा पनि प्रकाशन गरेको अवस्था छ ।” सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका विद्यार्थी सीएम भट्टले भने, “त्रिभुवन विश्वविद्यालय मुलुककै ठूलो र पुरानो विश्वविद्यालय हो, तर विश्वविद्यालयले तीन वर्ष पुग्न लाग्दासमेत परीक्षाको बाटो नअपनाउँदा विद्यार्थीलाई भने समस्या भएको छ ।” सामान्य तीन घण्टको कक्षाका लागि परीक्षाका लागि तनि वर्ष कुर्नु परेको उनले बताए । परीक्षा मूल्यांकन गर्ने अन्य विधि पनि भएकाले परीक्षा सञ्चालन नहुँदा विद्यार्थीको भविष्यमाथि नै खेलवाड भएको विद्यार्थीको भनाइ छ ।
कोभिड–१९ को समय भनेको शिक्षा क्षेत्रका लागि समस्या मात्र नभई समाधानको अवसर पनि भएको छ । परम्परागत शिक्षा प्रणालीको परीक्षा प्रणालीलाई आधुनिकतासँग जोड्नका लागि पनि सजिलो भएको भन्दै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको परीक्षा समयमै सम्पन्न गरिदिनु पर्ने विद्यार्थी भट्टको भनाइ छ । यसैगरी सिद्धनाथ विज्ञान क्याम्पसमै पढ्ने अर्का खेमराज फुलाराले समयमै परीक्षा सञ्चालन नहुँदा धेरैजसो विद्यार्थी डिप्रेसनको शिकार हुनसक्ने बाध्यात्मक स्थिति सिर्जना हुन लागेको बताए ।
“महामारीका कारणले लगाइएको लकडाउन गर्दा विश्वविद्यालयमा रोकिएका परिक्षा सञ्चालन गर्न नसकेका कारण गर्दा तीन वर्षसम्म एउटै कक्षामा बस्दा मानसिक तनाव झेल्नु परेको छ ।” विद्यार्थी खेमराज फुलाराले भने, “विश्वविद्यालयले भविष्य अन्योलमा रहेका विद्यार्थीको परीक्षा सञ्चालनका लागि यथाशीघ्र सोच्नुपर्ने बेला आएको छ ।” तीन वर्षदेखि एउटै कक्षामा भएको कारणले आफूहरू अन्योलमा परेको उनको भनाइ छ । देशभर त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पस रहेका छन् । तर त्रिभुवन विश्वविद्यालयभन्दा अन्य विश्वविद्यालयले पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गरिसकेको अवस्था छ ।
सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका प्रमुख थानेश्वर तिवारीले महामारीले विद्यार्थी जीवनसँगै क्याम्पस क्षेत्र समग्रलाई घाटा गरेको बताए । “महामारीको असर शिक्षा क्षेत्रमा नपर्ने भन्ने हुँदैन, एकदमै धेरै असर परेको छ, महामारीकै कारणले चार वर्षको कोर्स छ वर्षमा धकेलिएको छ ।” सिद्धनाथ क्याम्पस महेन्द्रनगरका प्रमुख तिवारीले भने, “परीक्षा सञ्चालन गर्ने विषयमा अहिलेको उपयुक्त माध्यम भनेको अनलाइन परीक्षा नै हो, तर त्रिभुवन विश्वविद्यालय अन्य विश्वविद्यालयभन्दा ठूलो र फरक क्षमताको छ यसले गर्दा सम्भव भने त्यति नभएको अवस्था पनि हो ।” उनका अनुसार अहिलेको अवस्थामा महामारीको अवस्था न्यूनीकरण कहिले हुने भन्ने यकिन नभएको अवस्थामा विभिन्न योजना निर्माण गरेर अनलाइन परीक्षा सञ्चालन गर्नुपर्ने उपयुक्त हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्